उदयपुर जिविसको बजेट दुई करोड

उदयपुर : जिल्ला विकास समिति उदयपुरले आर्थिक वर्ष ०६९/७० का लागि एक अर्व ९५ करोड ३१ लाख ९७ हजार बढी बजेट विनियोजन गरेको छ । जिविस उदयपुरको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक छैटौँ जिल्ला परिषद्बाट उक्त बजेट विनियोजन गरेको हो । विनियोजन बजेटअन्तर्गत आन्तरिक श्रोततर्फ ४८ करोड ७० लाख ३१ हजार र सरकारी तथा संस्थानहरूको अनुदानतर्फ एक अर्व १४ करोड ५० लाख ५२ हजार रुपियाँ बजेट उदयपुरका एलडिओ गोपालकुमार अधिकारीले प्रस्तुत गरे । त्यस्तैगरी, आर्थिक विकासतर्फ १३ करोड ५६ लाख, वन तथा वातावरण विकासतर्फ तीन करोड ५२ लाख, भौतिक पूर्वाधार विकासतर्फ ५६ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

परिषद्ले सामाजिक विकासतर्फ ९८ करोड ८७ लाख र संस्थागत स्रोत तथा क्षमता विकासतर्फ २२ करोड ६९ लाख बजेट विनियोजन गरिएको छ । बजेट प्रस्तुत गर्दै अधिकारीले उदयपुरमा पूर्वाधार विकास, कृषि, खानेपानी तथा सरसफाइलाई विशेष प्राथमिकता दिएको छ । आर्थिक सामाजिक र समावेशी विकासद्वारा सामाजिक रूपान्तरण गरी जीवनस्तर सुधार गर्ने खालका कार्यहरू सञ्चालन गर्ने एलडिओ अधिकारीले बताए ।
कुल बजेटको आधा रकम समावेशी कार्यक्रमअन्तर्गत दलित, महिला बालबालिका, क्षमता विकास, आदिवासी जनजाति अल्पसंख्यकका लागि छुट्याइएको जिविसले जनाएको छ । त्यसैगरी, जिल्ला विकास समिति उदयपुरको आर्थिक वर्ष ०६७/६८ मा देखिएको १० करोड, २७ लाख ६० हजार चार सय ७९ रुपियाँ आव ०६८/६९ मा लेखा परीक्षण भई पाँच करोड पाँच लाख ८४ हजार तीन सय ४५ रुपियाँ मात्र फछ्र्योट भएकाले हाल पाँच करोड २१ लाख ७६ हजार एक सय ३४ रुपियाँ बेरुजु देखिएको हो । गत वर्षको बेरुजु रकमको तुलनामा करिब ५० प्रतिशत फछ्र्योट भएकाले महालेखा परीक्षकको कार्यालयबाट अन्तिम प्रतिवेदन प्राप्त नभइसकेकाले अझै बेरुजु रकम यकिन नभएको एलडिओ अधिकारीले बताए ।

प्रतिक्रिया