बन्दले देशभर जनजीवन अस्तव्यस्त

bandaकाठमाडौं, २४ फागुन । बहालवाला प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनको तयारी असंवैधानिक भएको भन्दै नेकपा–माओवादीसहितको संयुक्त मोर्चाले गरेको नेपाल बन्दका कारण मुलुकभरको जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ । बन्दकर्ताले वर्तमान सरकारको विघटन गरी राष्ट्रिय संयुक्त सरकार गठनको माग राखेका छन् ।

मोर्चाले चुनावी सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउन चार दल एमाओवादी, कांग्रेस, एमाले तथा मधेसी मोर्चा सक्रिय भएर लागेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनीतिक दलहरूकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको माग राखेको थियो । मोर्चाका अनुसार यिनै माग पूरा गर्न सडकबाट दबाब दिने उद्देश्यले बुधबार बन्द आह्वान गरिएको हो ।
बन्द सफल पार्न मोर्चामा आबद्ध दलका कार्यकर्ता बिहानैदेखि आफ्नो पार्टी झन्डा बोकेर सडकका चोकचोकमा जम्मा भएका थिए । उनीहरूले सरकारविरोधी नारा लगाउँदै विदेशी हस्तक्षेपको विरोध गरिरहेका थिए । बन्दका कारण कुनै पनि सार्वजनिक सवारीसाधन चलेका थिएनन् भने फाट्टफुट्ट रूपमा चलेका केही सवारीसाधनले आफ्नो नम्बर प्लेट छोपेर गल्लीको बाटो प्रयोग गरी गन्तव्यमा पुग्ने कोसिस गरिरहेका थिए । कार्यालय समयमा सडकमा पैदल यात्रुको बाक्लो चहलपहल थियो । दिउँसोको समयमा भने स्कुले केटाकेटीले खेलमैदान बनाएका थिए ।
चोकचोकमा जम्मा भएका बन्दकर्ताले एम्बुलेन्स, अस्पताल, प्रेस, सुरक्षा निकाय र पर्यटक बोकेका सवारीसाधनलाई भने रोकेनन् । बन्दका कारण हुनसक्ने सम्भावित झडपलाई ध्यान दिँदै सरकारले सुरक्षाकर्मीको बाक्लो प्रयोग गरेको थियो । तर, बन्द शान्तिपूर्ण भएकाले सुरक्षाकर्मी आफ्नै सुरमा मस्त रहेका देखिन्थे ।
उद्योग, कलकारखाना, शिक्षण संस्था, यातायात, बजार र पसल दिनभर बन्द भए । गल्लीका पसलहरूमा पनि आधा मात्र सटर खोलेका थिए । नेकपा–माओवादी, नेकपा एकीकृत, मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद्) लगायत दल आबद्ध रहेको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले बिहान ६ बजेदेखि गरेको बन्द साँझ ५ बजेपछि खुला गरेका थिए ।

प्रतिक्रिया