रिलिज रोकिएपछि चलचित्रकर्मी विरोधमा

Badhsalaकाठमाडौं ,२३ फागुन । शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘बधशाला’ उक्त समयमा प्रदर्शनमा नआउने भएको छ । नेपाली सेनाले रिलिज रोक्न दोस्रो पटक पत्राचार गरेपछि चलचित्र आगामी शुक्रबार रिलिज हुने सम्भावना न्यून भएको हो । चलचित्र युनिटले मंगलबार अनामनगरस्थित युनियन हाउसमा एक विशेष पत्रकार सम्मेलन आयोजना गरी ‘बधशाला’ आगामी शुक्रबार अर्थात् फागुन २५ गते रिलिज गर्न सक्ने अवस्थामा आफूहरू नरहेको जानकारी गराएको हो ।

‘शान्ति प्रक्रिया भाँडिन्छ’ भन्दै बधशालाको प्रदर्शनमा रोक लगाउन जंगीअड्डाले सञ्चार मन्त्रालयमा पछिल्लो पत्र पठाएकाले नयाँ परिस्थिति नबनेसम्म आफूहरू ‘बधशाला’ सार्वजनिक प्रदर्शन गर्न सक्ने पक्षमा नरहेको निर्देशक मनोज पण्डितले बताए । उनले भने, ‘चलचित्र प्रदर्शनमा ल्याउने अन्तिम तयारीस्वरूप सेन्सर प्रक्रियामा रहेका हामीलाई शान्ति प्रक्रिया भाँड्न खोजेको भनेर आरोप लगाउँदै सम्पूर्ण सरकारी निर्णयहरू प्रभावित पारेपछि हामी समस्यामा परेका हौँ ।’ निर्देशक पण्डितले मंगलबार साँझ प्रधानमन्त्रीले चलचित्र हेर्ने कार्यक्रम राखेको बताउँदै प्रधानमन्त्रीको निर्णय बुधबार सार्वजनिक हुने बताए । बुधबार प्रधानमन्त्रीको निर्णय बाहिर नआए उनले चलचित्र प्रदर्शन हुने झिनो आश मात्र आफूमा रहेको उल्लेख गरे ।
कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राईले ‘बधशाला’ चलचित्रको प्रदर्शनलाई रोक्न खोज्नु भनेको स्वतन्त्र चलचित्र निर्माणलाई अंकुश लगाउन खोजिएको रूपमा आफूले हेरेको बताए । उनले भने, ‘चलचित्र क्षेत्र परिवर्तनको संघारमा रहेकाले यथार्थपरक चलचित्र बन्न थालेको समयमा यस्ता चलचित्रलाई रोक लगाउनु हुँदैनथ्यो ।’ उनले चलचित्र ‘बधशाला’मा निर्माताको लाखौँ रुपियाँ लगानी भएकाले लगानी सुरक्षाका लागि निर्माता संघ जहिले पनि जुनसुकै लडाइँ लड्न तयार रहेको पनि बताए । ‘बधशाला जस्तो यथार्थपरक विषयमा बनेको चलचित्र रोक्नु भनेको यस्ता विषयमा चलचित्र नबनाउनु भन्नु हो,’ राईले थपे ।
त्यस्तै, निर्देशक समाजका अध्यक्ष विमल पौडेलले चलचित्र ‘बधशाला’लाई प्रदर्शन गर्न नदिएर निर्देशकको स्वतन्त्र चलचित्र निर्माण गर्ने अधिकार हनन गरिएको बताए । उनले भने, ‘राज्यको एक निकायले चलचित्रको स्क्रिप्ट अध्ययनसहित चलचित्र निर्माण गर्न दिएको अनुमति अर्काे निकायले हस्तक्षेप गर्न खोज्नु गैरसंवैधानिक हो ।’ उनले सधैँ वास्तविक र यथार्थपरक चलचित्र निर्माणमा जोड दिँदै आएको राज्यले यो चलचित्रमा रोक लगाउनु भनेको राज्य वास्तविक र यथार्थपरक चलचित्र चाहँदैन भन्ने स्पष्ट भएको उल्लेख गरे । ‘बधशालालाई राज्यले लगाएको प्रतिबन्ध कला–सिर्जनामाथिकै प्रतिबन्ध भएकाले सबै कलाकर्मीले यसविरुद्ध लड्न आह्वान गर्दछु,’ उनले भने ।
पछिल्ला २७ वर्षदेखि चलचित्रको स्वतन्त्रताका विषयमा कलम चलाउँदै आएका डा.प्रदीप भट्टराईले प्रधानन्यायाधीशलाई असंवैधानिक तवरले प्रधानमन्त्रीको कार्यभार सुम्पन लागेको देशमा चलचित्रमाथि असंवैधानिक प्रतिबन्ध हुनु सामान्य भएको व्यंग्य गरे । उनले चलचित्र पनि सञ्चारमाध्यम भएकाले आमसञ्चारमाध्यम स्वतन्त्र भएको अवस्थामा यसलाई पनि स्वतन्त्र बनाउनुपर्ने बताए । उनले यो प्रतिबन्धलाई आफ्नो स्वतन्त्रताको लडाइँ लड्ने अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै सबै चलचित्रकर्मीले यो लडाइँ सामूहिक रूपमा लड्न सके अवश्य जित हातपर्ने धारणा राखे ।
कार्यक्रममा लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीले चलचित्रको निर्माणपूर्व नै स्क्रिप्टको अध्ययन गरेकाले त्यही स्क्रिप्टमा बनेको चलचित्रले शान्ति प्रक्रियामा कुनै खलल नपुर्‍याउने विचार व्यक्त गरे । उनले भने, ‘द्वन्द्वको घाउ निको पार्नु भनेको द्वन्द्वका बेलाका वास्तविक घटना जनतासामु ल्याउनु हो तर राज्य सो घाउको उपचार नहोस् भन्ने चाहन्छ । हामी स्वतन्त्र भएका छौँ भन्ने लागेको थियो तर यो चलचित्रमाथिको हस्तक्षेपले हामीमा संकटकाल अझै रहेछ भन्ने महसुस गरायो ।’
त्यस्तै, निर्देशक तथा अधिवक्ता राजेन्द्र शलभले चलचित्र युनिटलाई अदालत जान हौस्याए । उनले चलचित्र युनिटसँग आफ्नो अधिकारका लागि अब अदालत जानेबाहेक अर्काे विकल्प नभएको धारणा राखे । उनले चलचित्र युनिटले चलचित्र निर्माणमा प्रजातान्त्रिक प्रक्रिया पूरा गरेकाले अदालतमा चलचित्र युनिटकै जित हुने ठोकुवासमेत गरे ।
निर्देशक लक्ष्मीनाथ शर्माले यो लडाइँ चलचित्र ‘बधशाला’को मात्र नभएर सम्पूर्ण चलचित्रकर्मीकै भएकाले एक भएर लड्न सके जित हातपर्ने बताए । कार्यक्रममा अन्य वक्ताले सेनाले ‘बधशाला’ लाई प्रतिबन्ध लगाउन खोजेर विश्वसामु आफ्नो धमिलिएको छविलाई नै बढावा दिन खोजेको तर्क राखे । स्म्यासिङ एप्पल प्रिजेन्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘बधशाला’मा सौगात मल्ल, अर्पण थापा, अनुप बराल, दयाहाङ राई, खगेन्द्र लामिछाने, सरिता गिरी, समुना के.सीलगायतको अभिनय छ ।

प्रतिक्रिया