महासंघमा सदस्यता लिनेको चाप बढ्यो

fncci-adकाठमाडौं, २२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता लिने क्रमले तीव्रता पाएको छ । महासंघप्रतिको बढ्दो विश्वास तथा भरोसाका कारण सदस्यता लिनेको संख्या बढ्न थालेको उसले दावी गरेको छ ।

६ फागुनभित्र विभिन्न संघसंस्था, उद्योग प्रतिष्ठान गरी ए क सयले महासंघको सदस्यता प्राप्त गरेका छन् । महासंघको कार्यकारिणी समितिको ११औँ बैठकबाट ती संघ/संस्थालाई नयाँ सदस्यता दिने निर्णय भएको हो । नयाँ नेतृत्व चयनपछि अहिलेसम्म करिब दुई सय नयाँ सदस्य थपिएका छन् । ०५८ साउनदेखि ०६२ असारसम्म ६४, ०६२ असारदेखि ०६४ चैतसम्म ४८ वटा, ०६४ चैतदेखि ०६७ चैतसम्म १ सय ३८ वटा सदस्य संख्या थपिएको थियो ।
११औँ बैठकबाट जिल्ला नगर उवासंघ, ४ वस्तुगत संघ, एक द्विराष्ट्रिय उवासंघ, ८९ वटा उद्योग प्रतिष्ठानलाई एसोसिएट सदस्यता र नगरोन्मुख क्षेत्रका तीनवटा उद्योग वाणिज्य संघ र २ वटा द्विराष्ट्रिय उवासंघलाई पर्यवेक्षकका रूपमा महासंघको सञ्जालभित्र समावेश गरिएको छ । ०२२ सालमा स्थापित महासंघको ०२३ सालमा जिल्ला नगर उद्योग वाणिज्य संघ सदस्य २१, वस्तुगत सदस्य २ र एसोसिएट सदस्य २१ गरी ४४ थियो । अहिले यो संख्या बढेर आठ सय नाघेको छ । अहिले जिल्ला नगर उद्योग वाणिज्य संघ ९३, वस्तुगत ८९, द्विराष्ट्रिय १२ र एसोसिएट सदस्य ६ सय ७ पुगेको छ । यसका अतिरिक्त स्थानीयस्तरमा गठन भएका ३ वटा उद्योग वाणिज्य संघ, ८ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघलाई पर्यवेक्षकका रूपमा महासंघको काम–कारबाहीमा समावेश गराइएको छ । अप्रत्यक्ष रूपमा मुलुकभरका करिब ५ लाख उद्योगी–व्यवसायी महासंघको छाताभित्र रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा रहेकाले यसभित्र आउन चाहनेलाई गोलबद्ध गर्न महासंघले सदस्य विस्तार अभियानलाई तीव्रता दिएको छ ।
महासंघको सदस्यताका लागि आवेदन दिएका संघसंस्था, उद्योग प्रतिष्ठानहरूको निवेदनउपर महासंघको विधानत: पूर्वअध्यक्षको सभापतित्वमा गठन हुने सदस्यता समितिले छानबिन गरी महासंघको नयाँ सदस्यताउपर निर्णय गर्न कार्यकारिणी समितिसमक्ष सिफारिस गर्ने र कार्यकारिणी समितिबाट त्यसलाई अनुमोदन गर्ने वैधानिक व्यवस्था छ । महासंघको सदस्यताका लागि निवेदन दर्ता गरिरहेका कतिपय संस्थालाई महासंघको विद्यमान विधानअनुसार सदस्यता दिन नमिल्ने अवस्था रहे पनि तीमध्ये उद्योग व्यापारमा ठूलो प्रभाव पार्ने र पार्नसक्ने संघसंस्थालाई महासंघमा आबद्ध गराउनुपर्ने आवश्यकता मनन गरी विद्यमान विधान संशोधन नभएसम्मका लागि कार्यकारिणी समितिले वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी पर्यवेक्षकका रूपमा महासंघको गतिविधिमा सहभागी गराउने प्रक्रियालाई अगाडि बढाएको महासंघले जनाएको छ ।
यस क्रममा महासंघले केही स्थानीय ठूला बजारमा अवस्थित उद्योग वाणिज्य संघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघलाई पर्यवेक्षकका रूपमा महासंघभित्र समेटिसकेको छ । महासंघको कार्यकारिणी समितिको १०औँ बैठकबाट पर्यवेक्षकका रूपमा समेट्ने निर्णय भएको हो । कार्यकारिणी समितिको १०औँ बैठकबाट नेपाल–टर्की उद्योग वाणिज्य संघ, नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघ, नेपाल–इजरायल उद्योग वाणिज्य संघ, नेपाल–कुवेत उद्योग वाणिज्य संघ, नेपाल–भियतनाम उद्योग वाणिज्य संघ र नेपाल–श्रीलंका उद्योग वाणिज्य संघ समेटिएको हो । कार्यकारिणी समितिको ११औँ बैठकबाट उद्योग संघ हेटौंडा, कपिलवस्तु व्यापार व्यवसायी संघ, चन्द्रौटा उद्योग वाणिज्य, नेपाल–बुल्गेरिया उवासंघ, नेपाल–म्यानमार उवासंघलाई पर्यवेक्षकका रूपमा महासंघको काम–कारबाहीमा सहभागी गराउने निर्णय भएको थियो ।
त्यसैगरी, महासंघले गैरआवासीय नेपालीहरूको पहलमा विभिन्न देशमा स्थापित द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूलाई पनि महासंघको सदस्यता दिने निर्णय साँगामा भएको कार्यकारिणी समिति काभ्रेको बैठकले गरेको छ ।

प्रतिक्रिया