राजीनामा स्वीकृत नगर्न दबाब

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान् कोइरालाको राजीनामा स्वीकृत नगर्न दबाब दिँदै अस्पतालका कर्मचारी आन्दोलनमा उत्रने भएका छन् । अस्पतालकै केही वरिष्ठ चिकित्सकहरूको असहयोग र राजनीतिक दबाबका कारण शुक्रबार राजीनामा दिएका डा. कोइरालाको राजीनामा फिर्ता गराउन माग गर्दै कर्मचारीले सोमबार पहिलो चरणको आन्दोलन गरे ।
कर्मचारीहरूले पहिलो चरणको कार्यक्रम भन्दै चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. प्रकाश सायमी, त्रिवि उपकुलपतिलगायत पदाधिकारीलाई डा. कोइरालालाई यथावत् रूपमै काममा राख्ने वातावरण बनाउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले कोइरालाले छोटो अवधिमै अस्पतालको मुहार फेरेको जगजाहेर रहेको भन्दै उनको राजीनामाको खबरले सम्पूर्ण कर्मचारी स्तब्ध भएको जनाएका छन् ।
दुर्भाग्यपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. कोइरालाको राजीनामा दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । ‘डा. भगवान्ले राजीनामा दिनु दुर्भाग्यपूर्ण हो,’ सोमबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री भट्टराईले भने, ‘मैले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई समस्या समाधान गर्न र राजीनामा फिर्ताका लागि आवश्यक पहल गर्न निर्देशन दिएको छु ।’
प्रधानमन्त्री भट्टराईले सरकारले केही साताअघि मात्र समस्या समाधानका लागि ५ करोड दिएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया