विश्व अर्बपतिको सूचीमा चौधरी

Binod-Chaudhariकाठमाडौं, २२ फागुन । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका अर्बपतिहरूको सूचीमा पहिलोपटक नेपाली व्यापारी परेका छन् । फोब्र्सले सोमबार सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी परेका हुन् ।

फोब्र्सले सार्वजनिक गरेको सूचीमा उनी ३१ सय ४२औँ नम्बरमा छन् । चौधरीको सम्पत्ति १ अर्ब डलर भएको फोब्र्सको वेबसाइटमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि
तोकेको सटही दरअनुसार उनको सम्पत्ति ८८ अर्ब रुपियाँभन्दा बढी छ । विनोद चौधरी एन्ड फेमलीले २०१३ मार्चसम्ममा विभिन्न स्रोतबाट यो परिमाणको सम्पत्ति आर्जन गरेको फोब्र्सले उल्लेख गरेको छ । ५७ वर्षीय चौधरी ३ सन्तानका पिता रहेको पनि वेबसाइटमा उल्लेख छ । वेबसाइटमा चौधरीको तस्बिर भने राखिएको छैन ।
फोब्र्सले प्रकाशन गरेको चौधरीको प्रोफाइलअनुसार उनी नेपालका पहिलो अर्बपति हुन् । विनोद सम्मिलित चौधरी ग्रुपले प्रसिद्ध वाईवाई चाउचाउ उत्पादन गर्नुका साथै बैंकिङ क्षेत्रमा पनि लगानी गरेको छ । विनोदले १८ वर्षको उमेरमा पढाइ छाडेर व्यापारमा लागेको फोब्र्सले उल्लेख गरेको छ । भारतको राजस्थानबाट नेपाल आएका चौधरीका हजुरबुबाले सुरु गरेको कपडा व्यापारलाई विनोदले निरन्तरता दिँदै अन्य क्षेत्रमा पनि विस्तार गरेका हुन् । चौधरीका बुबाले नेपालमै पहिलो डिपार्टमेन्ट स्टोर खोलेका थिए । उनी अध्यक्ष रहेको चौधरी ग्रुप नेपालकै ठूलो व्यापारिक समूह हो । उसको नेपालबाहिर भारत र सिंगापुरसहित ३० देशमा व्यवसाय विस्तारित छ । ग्रुपको विभिन्न ४५ वटा कम्पनी र ६० ब्रान्ड छन् । उनी विघटित संविधानसभामा एमालेको तर्फबाट मनोनीत सदस्यसमेत भएका थिए । त्यस्तै, चौधरी नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन् । आफू विश्वका अर्बपतिहरूको सूचीमा परेपछि चौधरीले फेसबुक र ट्वीटरमा खुसी व्यक्त गर्दै भनेका छन्, ‘यो नेपालकै सम्मान हो । नेपाल अब विश्वको कर्पोरेट जगत्मा पनि परिचित भएको छ ।’
दूरसञ्चार क्षेत्रमा प्रवेश
यसैबीच, चौधरी ग्रुप दूरसञ्चार सेवामा प्रवेश गरेको छ । ग्रुपले अमेरिकी लगानीमा स्थापित टेलिकम कम्पनी एसटिएम टेलिकम सञ्चार खरिद गरेको हो । अमेरिकी कम्पनी एसटिएमको ८० प्रतिशत संयुक्त लगानीमा ०६० मा एसटिएम स्थापना भएको थियो । एसटिएमले ‘ग्रामीण टेलिकम’ को ब्रान्डमा देशभर पिसिओ सेवा सुरु गरेको थियो । पछि यो कम्पनीलाई दूरसञ्चार प्राधिकरणले सीमित मोबिलिटी सेवाको अनुमति दिएको थियो ।
चौधरी ग्रुपका निर्वाण चौधरीले फेसबुकमार्फत एसटिएम टेलिकमको नाम सिजी टेल राखिने जानकारी दिए । समूहले कम्पनीको नाम परिवर्तनसँगै यसको लोगोमा पनि परिवर्तन गर्ने भएको छ । चौधरी समूह लामो समयदेखि नेपालको दूरसञ्चार बजारमा प्रवेशका लागि प्रयास गरिरहेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआइएस प्रतिवेदनअनुसार एसटिएमका देशभर पाँच हजार २०२ फिक्स फोन सेवा छन् भने कम्पनीका १ सय ५५ जना सीमित मोबिलिटी सेवाका ग्राहक छन् । कम्पनीले देशका ५० भन्दा बढी जिल्लामा २ हजार ३२ वटा पिसिओ सेवा सञ्चालन गरिरहेको छ ।
चौधरी ग्रुपले एसटिएमको सेयर लिएपछि दूरसञ्चार प्राधिकरणमा एकीकृत लाइसेन्सका लागि समेत आवेदन गरेको छ । यो लाइसेन्स पाएपछि कम्पनीले ल्यान्डलाइन, मोबाइल र अन्तर्राष्ट्रिय लामो दूरीको कल गर्ने सेवा प्राप्त गर्छ ।

प्रतिक्रिया