जनजाति महासंघको महाधिवेशन बैशाखमा

काठमाडौं, २१ फागुन । नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन आगामी बैशाखको अन्तिम साता चितवनमा हुने भएको छ ।
महासंघका अध्यक्ष राजकुमार लेखीले आज विज्ञप्ति जारी गरेर २०७० सालको बैशाख २८, २९ र ३० गते चितवनमा गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् ।
महासंघ दुई दशक अघि स्थापना भएको हो । आफ्ना सबै सातवटै महाधिवेशन महासंघले राजधानीमै गरेको थियो । पहिलो पटक महाधिवेशन काठमाडौं उपत्यका बाहिर गर्न लागिएको लेखीले बताए ।
उद्घाटन सत्र भरतपुरमा र बन्द सत्र सौराहामा गर्ने विज्ञप्तिमा उल्लेख छ । उद्घाटन सत्रमा एकलाख समर्थक उतार्ने महासंघको योजना छ ।
महाधिवेशनमा ७१ वटा जिल्लाका समन्वय परिषद्, सूचीकृत ५९ आदिवासी जनजाति समुदायका प्रतिनिधि, स्वदेश र विदेशका १४ वटा शाखा, सम्बन्धन प्राप्त ७ वटा संगठनका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
यसैगरी चैत २७ र २८ गते परिषदको वैठक काठमाडौंमा बस्ने भएको छ ।

प्रतिक्रिया