रानीसंग तास खेल्थे

Bhimbahadur-Tamangराजपरिवारसँग निकै निकटता रह्यो मेरो । राजा त्रिभुवनको पालामा सैनिक सेवामा प्रवेश गरेको थिएँ । राजा महेन्द्रसँग पनि राम्रो सम्बन्ध थियो । उहाँको नजिक रहेर लामो समय काम गर्ने अवसर पाएँ । महेन्द्रसँगको सम्बन्धकै कारण रानीहरूसँग पनि नजिक भइयो । म रमाइलो गर्न मन पराउने मान्छे उति बेलैदेखि । उखानटुक्का भनेर छेउछाउका मानिसहरूलाई हँसाइरहन्थेँ । यसैमा आनन्द लाग्थ्यो । त्यसमाथि राजपरिवारका मान्छेलाई मनोरञ्जन गराउन पाउँदा त संसारै जितेजस्तो पो लाग्थ्यो । उनीहरू मेरा कुरा सुनेर दंग पर्थे । दरबारभित्र चल्ने जुनसुकै मनोरञ्जनात्मक माहोलमा मेरो डिमान्ड हुन्थ्यो । यही खुबीले दरबारसँग नजिकिन पाएको थिएँ ।

स्वभावैले राजपरिवार आममान्छेसँग उति घुलमिल गर्दैनथे । तर, मसँग सहजै गफिन्थे, हाँसो–ठट्टा गरेर बोल्थे । मलाई औधी खुसी लाग्थ्यो । सोच्थेँ– ‘भाग्य त बलियै लिएर आएको हुँ मैले । यहाँ कैयौं प्रयास गरेर पनि मान्छे राजपरिवारलाई देख्नसम्म पाउँदैनन्, मेरो त कामै उनीहरूको नजिक हुनु छ ।’
रानी ऐश्वर्यका बुबा केन्द्र शम्शेर जर्नेल हुनुहुन्थ्यो । सोही कारण उहाँको ढोकामा सेनाका आठपहरिया खट्थे । सेनाकै जागिरे भएकाले म पनि हजुरिया भएर उहाँको घरमा बस्थेँ । पछि केन्द्र शम्शेरका जेठा छोरा सुरज शम्शेर पनि आर्मीमा आए । उनका साथ १ नम्बर वाहिनीमा काम गर्ने अवसर पाएँ । उनीसँगको सम्बन्धले केन्द्रनिवास जाने क्रम झन् बढ्यो । मेरो ग्रह गतिलो भनौं कि के, ममा यस्तो आकर्षणक्षमता थियो नि मान्छे वरिपरि झुम्मिन थालिहाल्थे । जहाँ गयो त्यहीँ टाँसिन्थे । साना–ठूला, उच्चपदस्थ सबैलाई प्रभावित गर्न सक्ने क्षमता मसँग थियो । रानी ऐश्वर्यहरूको बिहे नहुँदैदेखि म केन्द्रनिवास जान्थेँ, उहाँहरूसँग पनि चिनजान थियो । मेरो हँसाउने कलासँग झ्याम्मिनुहुन्थ्यो ।
पृष्ठ ७ बाट क्रमश:

०३९ सालमा सैनिक सेवाबाट अवकाश पाएँ । ज्यानमा अझै तागत थियो, त्यत्तिकै बस्नै मन लागेन । यतिबेला ऐश्वर्य रानी भइसक्नुभएको थियो । मौका पारेर बिन्ती बिसाएँ– ‘सरकार, म अझ पनि सेनामा भर्ती हुन पाए जवानसँगै तालिम लिन सक्छु, हट्टाकट्टा छु । अहिल्यैदेखि घरमा थन्किएर के गर्नु † त्यसैले केही काम गर्न पाए हुन्थ्यो । यो उमेरमै किन त्यत्तिकै बसूँ ।’ उहाँले एक छिन केही सोचेजस्तो गर्नुभयो । अनि भन्नुभयो– ‘त्यसो भए सोल्टी होटलको सुरक्षामा काम गर्न जाऊ ।’
काम पाएकोमा खुसी हँुदै सोल्टी होटल गएँ । जान त गएँ तर परिहाल्यो फसाद । त्यहाँ काम गर्ने सबैले अंग्रेजी बोल्नुपर्ने रहेछ, आफूचाहिँ परियो जिरो । बर्कतले नै नथेगेपछि कसरी गर्नु काम ? फर्केर फेरि बिन्ती चढाएँ— ‘सरकार, मैले धेरै पढेको छैन । अंग्रेजी जान्दिनँ । थोरै पढेका, अंग्रेजी नजानेकालाई सोल्टी होटलमा काम गर्न कठिन रहेछ । नेपाली बोलेर नहुने रहेछ सरकार, के गरूँ †’ रानीबाट मर्जी भयो– ‘के गर्छौ त, पढेलेखेको भए राम्रै ठाउँमा राखिदिन्थेँ ।’ उतिबेला गतिलो पढाइ भएको भए राम्रो ठाउँमा अवसर पाउने रहेछु । दरबारको हुकुममा नहुने केही थिएन ।
उता केन्द्र निवासमा ऐश्वर्यकी आमा एक्लै बस्नुहुन्थ्यो । दुवै भाइ छोरा अलग–अलग बस्थे । बुढियाको चाकडीका लागि सुसारे त धेरै थिए तर उहाँलाई नजिकबाट हेरविचार गर्ने कोही थिएनन् । रानीबाट मर्जी भयो– ‘तिम्ले आर्मीमा हुँदा खाइपाइ आएसरहको सुविधा दिन्छु, मुमाको हेरविचार गर । मुमाबाट पनि सहयोग हुन्छ ।’ ऐश्वर्यकी आमालाई पनि रौसरमाइलो गर्नुपर्ने, नजिक बसेर कसैले गफ गरिदिइरहनुपर्ने । उखानटुक्का भनेर हँसाएको मन पराउनुहुन्थ्यो । मेरो स्वभाव र उहाँको चाहना ठ्याक्कै मिल्यो । मलाई के ‘खोज्छस् कानो आखो’ भनेझैँ भइहाल्यो । ०४० सालदेखि केन्द्र निवासमा हाँस्ने/हँसाउने हजुरियामा भर्ती भएँ ।
बिहान घरबाट खाना खाएर सधैँ केन्द्रनिवास जान्थेँ । दिनभरि ‘मुमा’ लाई हँसाउँथेँ, उखान भन्थेँ, गाउँपाखाको कुरा सुनाउँथे । मेरो काम उहाँलाई एक्लो महसुस हुन नदिनु थियो । त्यो क्रम बुढिया बाँचुन्जेल कायम रह्यो । रानीका दिदीबहिनी सधैँजसो दिउँसो मुमालाई भेट्न आउनुहुन्थ्यो । ऐश्वर्य एक–दुई घन्टा बसेर जानुहुन्थ्यो । कोमल र प्रेक्षा दिनभर बस्नुहुन्यो । बूढीलाई तास खेल्नुपर्ने, छोरीहरू पनि त्यस्तै । तीन दिदीबहिनी जम्मा हुनेबित्तिकै तासको खाल जमिहाल्ने । मैले पनि नखेलिनहुने । कहिलेकाहीँ कान्छो छोरा उदय शम्शेरकी श्रीमती रोशनी पनि आइपुग्नुहुन्थ्यो । अरूले खेले पनि नखेले पनि मैलेचाहिँ खेल्नैपर्ने । धेरै जना भए अरूलाई उठाएर भए पनि मलाई खालमा बसाउँथे । पैसा राखेर खेलिन्थ्यो । मुलुककी रानीले आग्रह गर्दा नखेल्ने कुरा पनि त भएन नि † कहिलेकाहीँ भावुक भएर सोच्थेँ– ‘खोटाङको विकट गाउँमा जन्मेँ । विश्वयुद्ध लडेँ, आज आफ्नै देशका रानीसँग बसेर तास खेल्न र खान पाएको छु । जे होस् कर्मचाहिँ बलियै लिएर आएको हुँ ।’
तास खेल्दा गज्जबको नियम थियो । मेरो खल्तीमा पैसा हुनुपर्दैनथ्यो । राजपरिवारका सदस्यले जिते मैले पैसा दिनुनपर्ने, मैले जितेचाहिँ लिन पाउने । हाँसोठट्टा गर्दै दिनभरि तास खेल्यो, साँझ सोल्टी र अन्नपूर्ण होटलको पकवान खायो, जागिर पाकिहाल्थ्यो ।
दरबारमा हरेक दिनजसो रानीवनका पन्ध्र–बीसवटा कालिज आउँथे । तीमध्ये एक–दुई कालिज केन्द्रनिवासमा पनि पठाइन्थे । कालिजको मासु टोक्दै तास खेल्दै गर्न पाउँदा कम्ती आनन्द लाग्थ्यो र † कहिलेकाहीँ त यसो पनि भन्थे– ‘लौ भीम, एउटा कालिज घर लैजाऊ, परिवारलाई पनि खुवाऊ ।’

ऐश्वर्य र प्रेक्षा रसिक स्वभावका हुनुहुन्थ्यो । रमाइलो, नाचगान गर्न मन पराउने । हाँस्दा पनि खुलेरै हाँस्ने । तीन दिदीबहिनीमध्ये कोमलको चाहिँ कम बोल्ने, अनि मुुसुक्क मात्र हाँस्ने स्वभाव छ । विदेश जानुपर्दा तिनै दिदीबहिनी सोध्नुहुन्थ्यो– ‘भीम, तिमीलाई के ल्याइदिउँm ।’ एकपटक ऐश्वर्यबाट त्यस्तै मर्जी भो । घरमा टिभी थिएन । मैले पनि मौका छोपेर भनिहालेँ– ‘सरकार, घरमा टिभी छैन, साह्रै हेर्न मन लाग्छ ।’ त्यति ठूलो सामान विदेशबाट ल्याउन नसक्ने र यहीँ किनिदिने वचन पाएँ । नभन्दै केही दिनमा मेरो घरमा टिभी आइहाल्यो ।
घरमा फोन थिएन । कति बेला केन्द्रनिवास पुग्नुपर्छ, पत्तै नहुने । बोलाउनेबित्तिकै हाजिर भइहाल्नुपर्ने । रानी ऐश्वर्यसँग एक दिन बिन्ती गरे– ‘सरकार, हजुरकी मुमालाई बिसन्चो भइरहन्छ, खबर बुझिरहनुपर्ने हुन्छ । घरमा टेलिफोन भए सजिलो हुन्थ्यो ।’ नभन्दै घर आउँदा त कान्छी श्रीमतीको नाममा फोन जोडिइसकेको रहेछ । उनीहरूको हुकुम भए नहुने के नै थियो र † नत्र मैले त आफ्नै प्रयासमा धेरै अगाडिदेखि घरमा फोन राख्न खोजेको थिएँ । ४५ हजार खर्च गर्न खोज्दा पनि पाएको थिइनँ । रानीको एकै हुकुममा तुरुन्तै भइहाल्यो । आउजाउ गर्न सजिलो होस् भनेर मलाई मोटरसाइकल पनि किनिदिनुभएको थियो । पानी पर्दा घरसम्म पुर्‍याउन गाडीको सुविधा थियो । मैले गरेको चाकडीअनुसार माया पनि पाएको थिएँ । तिनै दिदीबहिनी माया गर्नुहुन्थ्यो । कोमल सरकारबाट अहिले पनि चाडबाडमा पैसा बक्सिन्छ । मुमाले दिने गरेको परम्परालाई उहाँले पनि छोड्नुभएको छैन ।
विदेशबाट फर्कंदा तीनै दिदीबहिनी हाम्रा लागि सुइटर, सट, कोटजस्ता केही न केही ल्याएरै आउनुहुन्थ्यो । आमाको सेवा गर्ने सबैलाई उपहार हुन्थ्यो । मलाई अरूलाई भन्दा अलि राम्रो हुन्थ्यो । मेरो घरमा भएको फोन ऐश्वर्यले, टिभी कोमलले र फ्रिज प्रेक्षाले दिनुभएको हो । अहिले पनि तिनै प्रयोग गर्छु । केन्द्र निवासमा बस्दा उहाँहरूको धेरै सेवा गर्ने अवसर पाएँ । साथै सहयोग पनि पाएँ । दशैँमा तलबको अलावा बक्सिस पनि हुन्थ्यो, जुन आज पनि निरन्तर छ । मेरा दुवै श्रीमतीलाई साडीचोलो आइपुग्थ्यो ।
केन्द्रनिवासमा हुने पार्टी–भेलाका सबै काम मै हेर्थें । कसको गाडी कहाँ राख्ने, कसलाई बस्ने व्यवस्था कहाँ मिलाउने जस्ता सबै जिम्मा मैलाई सुम्पिइएका हुन्थे । म पनि चाकडीमा कुनै कमी राख्दैनथेँ । सक्दो खुसी पार्ने कोसिस गर्थें । उतिबेला पनि म फिलिम खेल्थेँ । सुटिंग हुँदा बिदा माग्थेँ । खुसीसाथ जाऊ भन्नुहुन्थ्यो । मलाई कहिल्यै केही रोकावट भएन । जति समय काम गरेँ, सबैलाई खुसी पारेँ, आफू पनि खुसी भएँ ।
प्रस्तुति : चमिना भट्टराई

 

प्रतिक्रिया