अस्पतालका खरिदारसँग हतियार बरामद

वीरगन्ज, २० फागुन । रौतहट जिल्ला अस्पतालका एक जना कर्मचारीलाई प्रहरीले हतियारसहित वीरगन्जमा पक्राउ गरेको छ ।
पर्सा प्रहरीले जिल्ला अस्पताल गौरका खरिदार रामरमन सहनीलाई शनिबार राती हतियारसहित पक्राउ गरेको हो । सहनीको साथबाट पाँच राउण्ड गोली पनि बरामद भएको छ ।
छपकैयास्थित नारायणी उपक्षेत्रीय अस्पताल नजिकै शबिनार राती प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा सहनी हतियार सहित पक्राउ परेका हुन् ।
शनिबार राती नै पर्साबाट गएको प्रहरीको टोलीले रौतहट प्रहरीको सहयोगमा गौर नगरपालिका वडा नम्बर ७ टिकुलीयास्थित सहनीको घरमा खानतलाशी गर्दा एक थान नलकटुवा पेस्तोल पनि बरामद गरेको पर्साका एसपी पिताम्बर अधिकारीले जानकारी दिए ।
हतियारसहित पक्राउ परेका सहनीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

प्रतिक्रिया