सासूसँग ठाकठुक हुँदा दराज फुटाएँ

niru-khadka-(6)बाल्यकाल होस् वा किशोरावस्था, मेरो कसैसँग प्रेम बसेन । यौवनावस्थामा आएपछि एक जनासँग मन गाँसियो, उहाँसँगै विवाह पनि भयो । मेरो पुख्र्यौली घर संखुवासभा भए पनि बसाइसराइका क्रममा काठमाडौं आएकाले यतै बित्यो बाल्यकाल । गोकर्णको सहयोगी उच्च माध्यमिक विद्यालयबाट एसएलसी पूरा गरेकी । म १४ वर्षकी हुँदै आमा बितिसक्नुभएको थियो । बुबा र सरहरूको प्रेरणा र सहयोगले एसएलसी पास गर्न सकेँ । त्यही बेलादेखि गोविन्द राई सरको डान्स स्कुलमा काम गर्न थालेँ । थप अध्ययनलाई पनि अगाडि बढाइरहेँ । पहिल्यैदेखि मेरा साथी कम थए । केटासाथी त झन् छँदै थिएनन् ।

कलाकारितामा छिरेपछि पनि मनले खाने कोही देखिनँ । बरु निर्णय गरेकी थिएँ– कलाक्षेत्रकै मानिससँगचाहिँ मरिकाटे बिहे गर्दिनँ । म मास कम्युनिकेसनकी विद्यार्थी । पत्रकार बनुँ कि कलाकार भन्नेमा ‘कन्फ्युज्ड’ थिएँ । केही समय कलाकारिताको संघर्ष छोडेर पत्रकारितातिर मोडिएँ । नेपाल टेलिभिजनको ‘हाम्रो काठमाडौं’ नामक कार्यक्रममा रिपोर्टरका रूपमा काम गर्न थालेँ । तर, पत्रकारिता पनि सोचेजस्तो लागेन । लागेँ कलाकारितातिरै । अहिले डिसिजन लिइसकेकी छु– कलाकारिता नै गरेर खान्छु ।
मेरो पहिलो लभ नै म्याचुअर्ड र लङ लाइफ बन्यो । नरोत्तम गौतम मेरो बूढाको नाम । ‘हाम्रो काठमाडौं’ कार्यक्रममा सिनियर रिपोर्टर हुनुहुन्थ्यो उहाँ । ०६५ सालमा पहिलोचोटि हाम्रो भेट भएको । म इन्टर्नमा रहेकाले रिपोर्टिङका लागि उहाँसँगै खटायो अफिसले । सोही क्रममा हाम्रो चिनजान झाँगियो । उहाँले मलाई एउटा काम लगाउनुभएको थियो । तर, त्यो रिपोर्टिङ उक्त कार्यक्रमका लागि नभएको थाहा पाएपछि रिसले डस्टबिनमा फालिदिएकी थिएँ । केही समयपछि उहाँ अफिसका विभिन्न कारणले जागिर छाडेर जानुभयो । अब सबै काम मेरो काँधमा थुपारिए । मलाई कार्यक्रमबारे खासै जानकारी नभएकाले उहाँलाई नै फोन गरेर सोध्थेँ । फोनमा हामीबीच बढीभन्दा बढी कुराकानी सेयर हुन थाल्यो । दिनदिनै क्लोज हुन थालेका थियौँ ।
बेलाबेला कफी खाने बहानामा भेटघाट पनि गथ्र्यौं । सोच्न थालेकी थिएँ– यत्तिको केटासँग बिहे गरे घरजम पक्कै राम्रो हुन्छ । एक वर्षसम्म साथी बनेपछि हामीले छलफल गर्‍यौँ– सम्बन्धलाई थप अघि बढाउने कि नबढाउने भनेर । केही समय एकअर्कासँग छुट्टिएर बस्ने निधो गर्‍यौँ । एक वर्षसम्म कन्ट्याक्ट नै गरेनौँ । तर, एकअर्कालाई बिर्सनै सकेनौँ । भित्रभित्रै छुट्टिनै नसकिने जोडी बनिसकेका रहेछौँ । अब हामी दुवै जना एकअर्कालाई जीवनसाथीका रूपमा स्वीकार्ने निर्णयमा पुगिसकेका थियौँ ।
उहाँको माया साँच्चिकै अमर छ, देखावटी माया गर्नुहुन्न । आजसम्म मुखले ‘आइ लव यु निरु’ भन्नुभएको छैन । तर, व्यवहारले प्रस्ट्याउँछ, उहाँभित्र मप्रति असीम माया छ । यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु । त्यति बेला म कलाकारितामा चिनिन थालिसकेकी थिएँ । ‘मेरिबास्सै’ बाट राम्रो परिचय बनाएकी थिएँ । तर, उहाँले मेरो सिरियल हेरेर कहिल्यै कुनै कमेन्ट गर्नुभएन । म कलाकार भए पनि उहासँगचाहिँ टाइम नहुने । एकचोटि समय मिलाएर हामी पोखरा गयौँ, साथमा उहाँका छिमेकी तीन दाजुभाउजू पनि हुनुहुन्थ्यो । निकै रमाइलो भएको थियो त्यो यात्रा, उहाँले माला उपहार दिनुभएको थियो । अहिले पनि सुरक्षित राखेकी छु । बाहिर जसले जे भनेर कुरा काटे पनि उहाँ मलाई एकदमै कुल भएर सोध्नुहुन्छ । यो उहाँको सबैभन्दा राम्रो बानी हो । म पनि उहाँलाई एक इन्च नढाँटी सबै कुरा स्पष्ट भन्छु ।
विवाह हुनुभन्दा पहिले जातका कारण सम्बन्धमा समस्या उब्जिएको थियो । म खड्का, उहाँ गौतम । ब्राह्मण र क्षत्री । बिहे गर्ने कि नगर्ने भन्नेमा उहाँको परिवारमा विवाद उब्जिएछ । त्यसबाहेक उहाँ एउटा जेन्टल पाराको मान्छे, म बिन्दास पाराकी कलाकार । यी समस्याले अप्ठ्यारो पारेपछि हामीले छुट्टिने निर्णय गर्‍यौँ । त्यस बेला निकै रोएँ । आफैंलाई टोकसेँ– कुन दिन उहाँसँग भेट भएछ भनेर । म फ्रेस हुनका लागि एउटा कार्यक्रमका सिलसिलामा दुबई जान रेडी भएर बसेकी थिएँ । तर, अघिल्लो रात उहाँको फोन आयो । भन्नुभयो– ‘बुबाले भेट्ने कुरा गर्नुभएको छ ।’ उहाँ बुबालाई लिएर आउनुभयो । मेरो काका र भाइ सँगै हुनुहुन्थ्यो । उहाँहरूबीच कुराकानी भएपछि विवाह फिक्स भयो । चाबहिल गणेशस्थानमा पुगेर इन्गेजमेन्टको विधि पूरा गरेपछि १०–१५ दिनमै ०६७ फागुन २३ गते हाम्रो बिहे भयो ।
विवाहको दुई वर्ष वेटिङ पिरियड रहेछ । त्यो अवधिमा जस्तोसुकै परिस्थिति आए पनि बूढाबूढी दुबैले सहनु राम्रो रे † सासूले बुहारीलाई राम्ररी चिनिसकेका हुँदैनन्, बुहारीलाई पनि त्यस्तै हो । सुरुको ६–७ महिना हाम्रा लागि पनि कालो समय बनेर आयो । झन्डै हामीले डिभोर्स गरेका । विवाहपछि संस्कार र संस्कृतिको विभेदले विभिन्न अप्ठ्यारा ल्याइदियो । मेरो पतिले त्यस्तो बेलामा सासूआमा र मेरो सम्बन्धलाई ब्यालेन्समा राख्न सक्नुभएन । पतिको कामको विश्लेषण मर्द र नामर्द भनेर गर्ने चलन छ । त्यसो समयमा चाहिँ उहाँ नामर्द हुनुभयो । उहाँ त श्रीमती र परिवारबीचको पुल पो बन्न सक्नुपथ्र्यो त । म त अर्काकी छोरी, राम्रो ढंगले ती कुरा बुझाउन सक्नुभएन । त्यसैकारण सासूआमासँग मेरो एकदमै झगडा हुन्थ्यो । कार्यक्षेत्रको व्यस्तताले गर्दा बुहारीले बिहानै उठेर निभाउनुपर्ने कर्तव्यहरू मैले पनि पूरा गर्न सकिनँ होला । कतिपय कामचाहिँ गर्दागर्दै पनि नगरेको देखियो । दिनदिनैको रडाकोले दिक्क भएपछि आफ्नो पुर्पुरो धिक्कार्थें– जीवनमा मैले किन बिहे गरेछु नि † तर मेरो ससुरा बुबा समझदार स्वभावको हुनुहुन्छ । त्यसैले सासूसँग त्यस्तो झगडा पर्दा पनि माइत गएरचाहिँ बसिनँ ।
हामी पूर्वका मानिस र काठमाडौंतिरको संस्कारमा थुप्रै अन्तर रहेछ । दुईतिरको वैवाहिक संस्कारबीच तालमेल नमिल्दा छोरीलाई बिहेपछि निकै गाह्र्रो पर्दो रहेछ । त्यसमाथि छरछिमेकले पनि कलाक्षेत्रलाई नबुझेर होला, आमालाई अनेकौँ ताल लगाइदिँदा रहेछन्– ‘छोरा त्यति सोझो छ, बुहारीचाहिँ फिलिम खेल्ने परी होस् गर्नु है †’ कलाक्षेत्रमा एक–दुई जनाले गरेको बदमासीका कारण अरूले पनि बदनाम हुनुपर्दो रहेछ । मैले सम्मान दिन नसकेको धारणा आमाको हुन्थ्यो । राम्रो सोचेर ‘त्यो काम नगर्नू न आमा’ भन्दा ठूलो स्वर गरेजस्तो सोच्नुहुन्थ्यो । बुहारीले आफूलाई अह्राएजस्तो लाग्दो रहेछ । सबै कुरामा मेरो मात्रै दोष देखाइदिँदा ठाकठुक पर्न थालिहाल्थ्यो । रिस उठेपछि म सामान फुटाउन थाल्थेँ, एक दिन त दराजको सिसै झर्‍यामझुरुम भो ।
यिनै थुप्रै असहजताबीच एक समय म पतिसँग डिभोर्स गर्न तम्सिएकी थिएँ । त्यस बेला उहाँले मलाई ‘तँ’ सम्बोधन गर्दै ‘संस्कारविहीन केटी’ भएको आरोप लगाउनुभयो । त्यस्तो सुन्नुपर्दा आफूलाई मरेकै जुनीजस्तो लाग्थ्यो । तर, क्रमश: हाम्रो सम्बन्ध सुधार हुँदै गयो, आज त निकै सुमधुर भइसकेको छ । उहाँले आफ्नो बानीमा सुधार ल्याउनुभएपछि मलाई पनि सहज हुन थाल्यो । उहाँ अहिले न मेरो कुरा सुन्नुहुन्छ न त आमाको । लोग्नेस्वास्नीबीच अलिअलि ठाकठुक त सामान्य नै भइहाल्यो । मेरो गल्ती छ भने ५–६ घन्टाभित्रमा सरी भनेकै हुन्छु । उहाँको मुखबाटचाहिँ ‘सरी’ भन्ने शब्द अलि कमै निस्किन्छ, त्यसैले म आफैं पानी हुन्छु ।
बिहेको १० महिनापछि छोरी जन्मिइन् । छोरी भएपछि पारिवारिक मायाममता बढ्न थाल्यो । अहिले त लाग्छ– एकदमै बुझकी परिवार पाएकी छु मैले । मेरी आमा छिट्टै बिते पनि सासूआमाले त्यो अभाव महसुस हुन दिनुभएको छैन । चामत्कारिक परिवर्तन भएजस्तो लाग्छ, पुराना दिन सम्झँदा । वास्तवमा परिवारलाई सुखद बनाउन धैर्य राख्न सक्नुपर्ने रहेछ । त्यसको प्रतिफल मीठो हुँदो रहेछ । मेरा श्रीमान् मलाई फकाउनचाहिँ अलि जान्नुहुन्न । उहाँमा त्यो एउटा मात्रै गुण आयो भने त झन् कति राम्रो पो हुन्थ्यो होला †
प्रस्तुति : विशाल राई

 

प्रतिक्रिया