रोधी धाउँदाधाउँदै गायक

Budhi-Pariyarकाठमाडौं : कुनै क्षेत्रमा अगाडि बढ्न पारिवारिक वातावरण र सानैदेखिको सोख चाहिँदैन, केवल लामो समय त्यस क्षेत्रमा घुलमिल हुने वातावरण भए पुग्छ भन्ने उदाहरण गोरखा केराबारी–८का बुद्धि परियारले पुष्टि गरेका छन् । उनी साथीभाइसँगको रोधी धाउने लतकै कारण अहिले गायक बनेका छन् ।
‘गाउँघरमा रोधी धाउँदाधाउँदै गायक भइयो’ उनले भने, ‘म जन्मेको गाउँ नै संगीतमय छ ।’ २०६४ सालदेखि लोकदोहोरी गायनमा सक्रिय रहँदै आएका गायक परियार गुरुङ र मगरको बाक्लो बस्तीमा हुकर्ने वातावरणले पनि आफूलाई गायक बन्न मद्दत गरेको बताउँछन् । अहिलेसम्म चारवटा एल्बम स्रोतामाझ ल्याइसकेका गायक परियार मूलत: लोकगायकका रूपमा चिनिएका छन् । चार एल्बम बाहिर ल्याएर पनि चर्चामा आउन नसकेको गुनासो उनमा छ । ‘मिडियामा आउनुपर्छ र चर्चा कमाए गायनमा सजिलो हुन्छ भन्ने बुद्धि नै पुगेन त्यसैले पछाडि परियो ।’ उनले गुनासो सुनाए । ‘तिम्रै यादले मुटु जलेको’, ‘सुन सानु जसले जे भने पनि मायाले यो संसार चलेको’ बोलका उनका गीत आज पनि त्यतिकै लोकप्रिय छन् । जुन गीत उनले आफ्नै शब्द र लयमा गायका हुन् । यसअघि ‘धोका दियौ कसम खाएर’, ‘मायाको रीत’, ‘मरे भने तस्बिर छुनु है’, ‘भन कसको भयौ’जस्ता चार एल्बम ल्याएका परियार अहिले पाँचौँ एल्बमको तयारीमा छन् । यस क्षेत्रमा लाग्न पाएकोमा आफूलाई भाग्यमानी ठान्ने यी गायक भन्छन् ‘साथीभाइ र परिवारकै सहयोगले यस क्षेत्रमा यहाँसम्म आउँन सफल भएको छु, यस अवधिमा जतिसुकै दु:ख गर्नु परे पनि अहिले सन्तुष्ट छु ।’ (सौस)

प्रतिक्रिया