मृतक कामदारका हकवालालाई साढे २२ करोड बाँडियो

Labour_Ministryकाठमाडौं, २० फागुन । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका हकवालालाई सरकारले करिब साढे २२ करोड रुपियाँ आर्थिक सहयोग बाँडेको छ । पाँच वर्ष अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले २२ करोड ३३ लाख ६४ हजार रुपियाँ राहत वितरण गरेको हो ।

बोर्डले कामदार कल्याणकारी कोषबाट सो रकम वितरण गरेको जनाएको छ । बोर्डअन्तर्गतको सो कोषमा रोजगारीमा जाने कामदारबाट प्रतिव्यक्ति एक हजार रुपियाँ लिने व्यवस्था गरिएको छ ।
बोर्डका अनुसार यो अवधिमा रोजगारीका लागि गएका दुई हजार ८१ जना कामदारको रोजगारीकै क्रममा विदेशमा मृत्यु भएको छ । रोजगारीका क्रममा मृत्यु हुनेमा २० हजार ३० जना पुरुष र ५१ महिला कामदार रहेको बोर्डले जनाएको छ । उनीहरूका हकवालालाई रकम वितरण गरिएको बोर्डकी निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले बताइन् ।
विगतमा मृतक कामदारका परिवारलाई १० हजारदेखि एक लाख सम्म सहयोग दिने व्यवस्था भए पनि चालु आर्थिक वर्षदेखि एक लाख ५० हजारसम्म दिने व्यवस्था रहेको जनाइएको छ । बोर्डका अनुसार रोजगारीका क्रममा बिदेसिनेको संख्यासँगै मर्ने र क्षतिपूर्ति लिनेको संख्या पनि बढ्दै गएको छ ।
आव ०६५/६६ मा रोजगारीकै क्रममा विदेशमा मृत्यु हुनेमध्ये ९० जनाका हकवालालाई बोर्डले राहत दिएको थियो भने आव ०६६/६७ मा ४ सय १८ जनालाई राहत दिइएको बोर्डले जनाएको छ । यस्तै, आव ०६७/६८ मा यो संख्या ५ सय ४९ जना र गत आव ०६८/६९ मा ६ सय ४६ जना मृतकका हकवालालाई आर्थिक सहयोग दिइएको छ । यस्तै, चालु आवको माघ मसान्तसम्ममा ३ सय ७८ जना मृतकका हकवालालाई राहत तथा क्षतिपूर्ति दिइएको बोर्डले जनाएको छ । रोजगारीकै क्रममा विदेशमा कतिको मृत्यु हुन्छ भन्ने यकिन नभए पनि बोर्डको तथ्यांकअनुसार सबैभन्दा बढी मलेसियामा कार्यरत कामदारको मृत्यु हुने गरेको जनाइएको छ ।
बोर्ड स्थापनादेखि चालु आवको माघसम्ममा मलेसियामा मात्र ७ सय ३ जनाको मृत्यु भएको छ । यो मुलुकमा सो अवधिसम्ममा करिब ८ लाख मानिस रोजगारीमा गएका छन् ।
यस्तै, रोजगारीका क्रममा बढी कामदार मर्ने दोस्रो मुलुक साउदी अरब रहेको छ । साउदीमा ५ सय ७०, कतारमा ४ सय ८०, युएईमा एक सय ७०, कुबेतमा ४२, बहराइनमा ३३, ओमनमा १९ दक्षिण कोरियामा २२, लेबनानमा १८, इजरायलमा ६, जापानमा २, श्रीलंकामा एक र अन्य मुलुकमा ३ जनाको मृत्यु भएको जनाइएको छ ।
सरकारले रोजगारीमा जानुपूर्व कामदारलाई अभिमुखीकरण तालिम अनिवार्य गरे पनि ट्राफिक नियम नजान्दा दुर्घटनामा पर्ने, दिनभरि उच्च तापक्रममा काम गरी मादक पदार्थ सेवन गरी एसियुक्त कोठामा सुत्दा हृदयाघात भएर मर्नेको संख्या बढ्दै गएको छ ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्का कतिपय अवस्थामा कामदारको लापरबाहीले नै मृत्यु हुने गरेको तथा त्यहाँको ट्राफिक नियम र कार्यस्थलबारे जानकारी नहँुदा पनि कामदार मृत्युको सिकार हुने गरेको बताउँछन् । यद्यपि, अभिमुखीकरण तालिमको प्रभावकारिता कम भएको गुनासो आएकाले त्यस्ता संस्थाको अनुगमन गर्ने र प्रभावकारी बनाउन खोजिएको उनको भनाइ छ ।

प्रतिक्रिया