होसमा आए पारस

paras-shahaकाठमाडौं, १९ फागुन । बैंककमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा ‘चामत्कारीक’ सुधार आएको छ । ११ दिनदेखि अचेत अवस्थामा रहेका पारसको शनिबार होस खुलेको छ भने उनले मान्छे चिन्नसमेत थालेको अस्पतालले जनाएको छ ।

बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पारसको शनिबार ११ दिनपछि होस खुलेको हो ।
‘पूर्वयुवराज पारसको होस खुलेको छ र मान्छे चिन्न सक्ने अवस्थामा रहेका छन्’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिअनुसार पारसका शरीरका सम्पूर्ण अंगहरू सामान्यरूपमा चलिरहेका छन् । अस्पतालका काडिर्योलोजिस्ट डा. माना

चान्डाभिमोलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उनलाई अभैँm भेन्टिलेरटमै राखेर उपचार भइरहेको उल्लेख छ ।
पारसको होस आए पनि परिवारका सदस्यहरूलाई भेट्न दिइएको छैन । उनीहरूले सिसियू बाहिरको सिसाबाट मात्र पारसलाई हेरेका छन् । ‘इन्फेक्सन’ हुने डरले अझै एक दुई दिन कसैलाई भेट्न दिइने छैन । होस खुलेको खबरलगत्तै परिवारका सबै सदस्यहरू र अस्पतालमा आएका नेपालीहरूले खुसी व्यक्त गरेको एनआरएनका महासचिव सुनील खड्काले बताए ।
पारसको होस खुलेपछि पूर्वराजा ज्ञानेन्द्र, पारसपत्नी हिमानीसहित परिवारका सदस्यहरू हँसिलो मुद्रामा देखिएका थिए । अस्पतालको विज्ञप्तिलगत्तै पारसलाई सघाउँदै आएका एनआरएनका महासचिव खड्काले खुसी व्यक्त गर्दै पारस छिट्टै निको भएर स्वदेश फर्कने कामना गरेका छन् । खड्काले सामाजिक सञ्जाल फेसबुकमा पारसको स्वास्थ्यमा सुधार आएको स्टाटस राखेलगत्तै थुप्रै नेपालीहरूले पारसको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
हृदयाघात भएपछि उनलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा लैजादै बेहोस उनको पहिलोपटक होस खुलेको हो । हृदयाघातका कारण बन्द भएको मुटुको भल्भ चिकित्सकहरूले ९ गते बुधबार खोलेका थिए । अचेत अवस्थामा अस्पतालले उपचार प्रक्रिया अगाडि बढाउनका लागि दुईपटक सिटिस्क्यान गरे पनि केही समस्या नदेखिएपछि एमआरआइ गर्ने तयारी गरिरहेको छ । उनको अहिलेसम्म एमआरआइ हुन सकेको छैन ।
उपचारका क्रममा लामो समयसम्म अचेत अवस्थामा रहेका पारसको अवस्था गत शनिबार गम्भीर बन्दै गएको र आन्तरिक रक्तस्रावसमेत भएपछि अस्पतालले बैंकक अस्पतालका दुई चिकित्सकलाई समेत उपचारका लागि सहयोग गर्न बोलाएको थियो । अहिले अस्पतालका चार जना चिकित्सक उनको उपचारमा सक्रिय रहेको अस्पतालले जनाएको छ । अस्पतालले पछिल्लो समयमा आएको पारसको स्वास्थ्यको सुधारलाई ‘चामत्कारिक’को संज्ञा दिएको छ ।
बेहोसीको कारण अस्पष्ट
काठमाडौं : हृदयाघातकै कारण अस्पतालमा उपचाररत पारस लामो समयसम्म के कारणले अचेत रहे भन्ने जानकारी अस्पतालले अझै गराउन सकेको छैन । नेपालका चिकित्सकका अनुसार हृदयाघात भएको व्यक्ति यति लामो समयसम्म अचेत हुन सक्दैन ।
सहिद गंगालाल हृदय केन्द्रका निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीले भने, ‘हृदयाघात भएको व्यक्ति धेरैबेरसम्म अचेत हुँदैन ।

केही छिन हुन सक्छ तर यत्रो दिनसम्म हुँदैन । पारसको बेहोसीको कारण अन्य समस्या हुन सक्छ ।’ उनका अनुसार औषधि दिएर वा अन्य केही समस्याका कारण पारसको होस लामो समयसम्म खुल्न नसकेको हुन सक्छ ।
डा. यादवदेव भट्ट पनि हृदयाघातले नै बेहोस नहुने बताउँछन् । उनले पारसलाई औषधि दिएर अचेत बनाइएको हो कि त्यसमा अन्य रोग थपिएर अचेत भएको हो भन्ने स्पष्ट पार्नुपर्ने बताए ।
शनिबार पारसको होस खुलेको भनेर विज्ञप्ति जारी गरेको अस्पतालले के कारणले यति लामो समयसम्म उनी अचेत थिए भन्ने खुलाएका छैनन् । बेहोसीको कारण के हो भन्ने कुरा अस्पतालले स्पष्ट रूपमा जानकारी दिनुपर्ने नेपाली चिकित्सकहरूको भनाइ छ ।
फेसबुक र ट्विटरमा स्वास्थ्यलाभको कामना
पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको विषयले सामाजिक सञ्जालमा फेसबुक तथा ट्विटर पनि तातेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले पारसको स्वास्थ्यमा देखिएको क्रमिक सुधारलाई सकारात्मक रूपमा लिँदै खुसी प्रकट गरेका छन् । तर, त्यत्तिकै मात्रामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको भने चर्को आलोचना गरेका छन् ।
दाहाल पुत्र प्रकाशले केही दिनअघि पारसको मृत्यु भएको भन्दै आफ्नो फेसबुक स्टाटसमा श्रद्धाञ्जलीसमेत दिएका थिए । उनले जेलको तारिख धाउँदाधाउँदा पारसको मृत्यु भएको समेत भनेका थिए । प्रकाशले नै पारस मृत्यु भएको हल्ला फिँजाएको भन्दै धेरैले प्रकाशलाई ‘उडाएका’ छन् । त्यस्तै केहीले भने पैसा हुनेहरूको ११ दिनपछि होस खुल्छ, नहुनेहरू ११ सेकेन्डमा मर्छन् पनि भनेका छन् ।
नारायण अमृतले ‘थाइल्यान्डमा पूर्वयुवराज पारसको होस आयो रे † तर, वर्तमान ‘युवराज’ प्रकाशको होस गायब भयो होला, दिल्लीमा’ भन्दै ट्विट गरेका छन् । त्यस्तै दिनेशले ‘पारस सरकारको होस् खुल्नासाथ प्रकाशको होस बन्द, अहिले प्रचण्डपुत्र कोमामा जस्तै ट्वाल्ल परि रहन्छ रे † ‘विशेष सूत्र’ भनेका छन् । अनन्त कोइरालाले पारसको होस आयो रे † कतै प्रकाश बेहोस त भएनन् कसैले यसो जानकारी लिइराखौँ है भनेका छन् । यस्तै फेसबुकका वालहरूमा समेत पारसको स्वास्थ्यलाभको कामनाका सन्देश आइरहेका छन् भने प्रचण्डपुत्रलाई गालीगलौजसहितका आलोचनाका टिप्पणीहरू थपिरहेका छन् ।

प्रतिक्रिया