डन्ट बी ओभर एम्बिसस्

Madhab-sayapatriथाह छैन, जिन्दगीमा कति घुम्ती र मोड पार गर्नुपर्छ । कति जँघार तर्नुपर्छ । पहरा छिचोल्नुपर्छ । कति तप्क्यान गुज्रनुपर्छ । लाग्छ, जिन्दगी भिरैभिरको बाटो हो । मैले जागिर खाइनँ, जागिरले मलाई खायो । पच्चीस वर्षको तलबले जिन्दगीका एउटै भ्वाङ टाल्न सकेको हैन । स्कुले साथी प्रतिमा अर्याल मलाई सधैँ भन्थिन्, ‘माधव † डन्ट बी ओभर एम्बिसस् ।’
०४४ सालमा एसएलसी दिएर गाउँ फिरेपछि म बढी नै नोस्टाल्जिक भएँ । सपनामा पनि काठमान्डूकै साथी आइरहे । काठमान्डू अवसर र चुनौती दुवै हो । त्यहीँ बसेर साहित्यको सगरमाथा चुम्ने कुरा सोचेको थिएँ तर पहिलो बेसक्याम्प त के नाम्चे पनि पुग्न सकिनँ ।
मधुपर्क, गरिमा, रूपरेखा, विमर्श, देशान्तर, साप्ताहिक मञ्च, युवामञ्च आदि पत्रिका सम्झेर म कल्पिन थालेँ । काठमान्डू बस्दा यी पत्रिका कहिल्यै नछुटाई पढ्थेँ । काठमान्डूदेखि एकदिने मोटरबाटोबाट ओर्लेपछि दिनभरि हिँडेर पुग्नुपर्ने अनकन्टार गाउँमा कहाँ पत्रिका पढ्न पाउनु ? पत्रिका पढ्नु एउटा लत रहेछ । पत्रिका पढ्न नपाउँदा हुने मेरो छटपटी अरण्यरोदनजस्तै भयो । पत्रिकामा के छापिएको हुन्छ, पढ्दा के फाइदा हुन्छ भन्ने कुरा गाउँलेलाई थाहा थिएन । गाउँका मान्छे सबै पत्रिकालाई ‘गोरखापत्र’ भन्थे ।
तलबले सामान्य जीवन चलेकै थियो (अहिले पनि चलेकै छ) । तर, मभित्रको लेखन प्रतिभाले (त्यो प्रतिभा थियो/थिएन थाहा छैन) । मलाई सधैँ नराम्ररी चिमोटिरह्यो । मैले लेखेको कुरा कसले छाप्थ्यो ? तर, मैले कविता लेखिरहेँ । दिनमा तीन/चारवटा कविता लेखँे (कस्ता लेखँे, थाहा छैन) । आपैँm लेखँे, आपैँm पढेँ । स्कुल पढ्दा मेरा कविता सुन्न साथीहरू हतारिन्थे । गाउँमा कविता सुन्ने साथी भएनन् । कविताहरू जन्मने र मर्ने क्रम चरिरह्यो । चुपचाप चुपचाप †
०४४ देखि ०६४ को अवधि मेरा लागि कालरात्रि भयो । मेरो लेखन प्रतिभाको कदर कसैले गरेन । जागिर सुरु भएपछि पन्ध्र/बीस मिनेटको बाटो स्कुल जानु/आउनु, साना नानीलाई पाठ घोकाउनु, वनतिर टहल्नुबाहेक अरू काम भएनन् । लेखपढ गर्न पनि मन लाग्दैनथ्यो । लेखेर आखिर के नै भयो र † यही घोर निराशाबीच ममा डरलाग्दो रोग हुर्कंदै गएको रहेछ । ‘ओभर एम्बिसन’ रोगमा बदलिइएछ । ०५७ मा त्यो बाहिरै देखियो– एन्जाइटिस डिस्अर्डरको नाममा । मानसिक रोगका कारण शरीरमा अनौठाअनौठा लक्षण देखिन थाले । मन बेचैन हुनथाल्यो । छिनछिनमा मुर्छा पर्न थालेँ । कतिपटक बेहोस अवस्थामै काठमान्डू ल्याइएँ । मुटु, टाउको, हात–गोडा, छाती, पेट एकैपटक दुख्न थाल्यो । त्रिभुवन शिक्षण अस्पताल, मानसिक रोग विभागका डाक्टर विद्यादेव शर्माले ट्रयांकुलाइजर समूहका चार/पाँचथरी औषधि लेखिदिए । औषधि खान थालेपछि त बाटो पनि बिर्सिन थालेँ । कात्यायनी मन्दिरछेउको प्राकृतिक अस्पतालमा डा. मानसाग्निबाट दश दिन प्राकृतिक उपचार गराएँ । दसाँै मानसिक रोग विशेषज्ञलाई भेटँे । औषधिले व्यथा केही घटाए पनि निको हुने छेकछन्द देखिएन ।
एउटा कृति पनि नछापी के मर्नु † म कवितासंग्रहको सकीनसकी साफी गर्न लागेँ । आफ्नै खर्चमा ०५८ सालमा मेरो कवितासंग्रह प्रकाशित भयो– ‘कविता गर्भधारण गर्छन्’ । यो मेरो पहिलो कृति थियो । थोरै आत्मविश्वास बढ्यो । रोग अलिकति घटेजस्तो भयो ।
खिम्ती जलविद्युत् आयोजनाले आफ्नो कार्यस्थलसम्म मोटरबाटो खनेपछि अरनिकोका बस चल्न थाले । टिकट काउन्टरका श्रीबहादुर सैलुङ्गेसहितका साथी मिलेर पत्रिका निकाल्ने सल्लाह गर्‍याँै । पत्रिका निकाल्ने कुरा मलाई ‘के खोज्छस् कानो आँखो’ भयो । ०६० सालबाट हामीले साहित्यिक द्वैमासिक पत्रिका ‘नवआलोक’ निकाल्न थाल्याँै । एकवर्षपछि म पत्रिकाको सम्पादक बनेँ । टाढाको, रोगी मान्छे, म बस्दिनँ भन्दा पनि साथीहरूले कर गरेपछि हार्न सकिनँ ।
‘नवआलोक’ प्राय: सबै जिल्लामा पुग्ने व्यवस्था मिलाएका थियौँ । पत्रिकामा छाप्न झमक घिमिरे, चंकी श्रेष्ठ ‘अभय’, विश्व सिग्देल, इन्द्रकुमार श्रेष्ठ, विष्णुबहादुर सिंह, पुुष्प अधिकारी, विप्लव प्रतीक, जोतारे धाइवा, धीरकुमार श्रेष्ठ, अरुण खत्री, व्याकुल माइला, ज्ञानुवाकर, खगेन्द्र गिरी, धु्रव मधिकर्मी, दिनमान गुर्मछान आदिका रचना आउन थाले । त्यतिबेला आफू साँच्चै सम्पादक भएको महसुस गरेँ । ‘नवआलोक’ले मलाई कुवाबाट बाहिर निकालिदियो । तर, पाँच वर्षसम्म चलाएर ‘नवआलोक’ बन्द गर्नुपर्दा म ‘घाइते चरा’ भएको छु ।
०६३ असारको मधुपर्कमा हाइकु छापिएपछि मैले दुई सय रुपियाँ पारिश्रमिक पहिलोचोटि लिएको थिएँ । त्यो दुई सय मलाई निकै ‘ठूलो’ लागेको थियो । पहिलोपटक बालकथा लेखेर ‘मुना’ मा पठाएको थिएँ । ०६४ जेठमा छापियो । म ‘बाल कथाकार’ पनि भएँ । राष्ट्रिय पत्रिकामा त्यो नै मेरो प्रथम प्रकाशित कथा थियो । म बालकथा लेख्न हौसिएँ । आजसम्म साठीवटा बालकथा लेखेँ । लेखेका जति राष्ट्रिय दैनिक तथा मासिक बालपत्रिकामा छापिए । बालकथा लेखेर एउटा पनि थन्क्याउनुपरेको छैन । बालसाहित्यमा योभन्दा बढी सफलता के खोज्नु † पछिल्लो पाँच वर्षमा मैले एक सय पचासवटा कथा लेखेछु । प्राय: सबै पत्रिकामा मेरा कथा छापिइसकेका छन् । राम्रा मानिएका पत्रिकामा कथा छापिन थालेपछि कथाकार भएछुजस्तो लाग्न थालेको छ ।
आज मेरो रोगको खाँटी औषधि भएको छ–साहित्य । डाक्टरले दिएको औषधि छुटाउनु हँुदैन । तर, रोगको वास्तविक उपचार भने साहित्यले गरिरहेको छ भन्ने लाग्छ । काठमान्डूबाट छोरी व्यञ्जनाले मेरा लेख/रचना छापिएको कुरा फोनमा सुनाउँदा ज्यादै हलुको महसुस हुन्छ । म रोगी छु भन्ने कुरा पनि बिर्सन्छु ।
साथी प्रतिमाले ठिकै भनेकी थिइन्, ‘माधव † डन्ट बि ओभर एम्बिसस् †’ तर, मैले एम्बिसन नलिएको भए आज मेरो परिचय प्राविको एउटा मास्टरभन्दा माथि हुने थिएन । हो, ओभर एम्बिसनले मलाई रोगी बनायो, साथै सामान्य कदको कथाकार पनि ।

प्रतिक्रिया