सात सालका योद्धाको स्मरण

ramकाठमाडौं : सात सालको क्रान्तिमा मुक्ति सेनाको नेतृत्व गरेका योद्धा रामप्रसाद राईले राजनीतिक परिवर्तनमा पुर्‍याएको योगदानको स्मरण गरिएको छ ।
रामप्रसाद राई स्मृति प्रतिष्ठानले शुक्रबार ‘सहिद’ राईको १०४औँ जन्मजयन्तीको अवसरमा गरेको विचार गोष्ठीमा उनको स्मरण गरिएको हो । १८ फागुन १९६५ मा भोजपुरको बासिखोरामा जन्मिएका राईको नेतृत्वमा सात सालको क्रान्तिमा पहिलोपटक २४ मंसिरमा भोजपुर विनारक्तपात कब्जा गरी राणा शासनविरुद्धको आन्दोलन सफलताका साथ अगाडि बढेको थियो । उनै योद्धाको जन्मजयन्तीमा शुक्रबार एमाले नेता केपी ओलीले मध्ययुगीन सामन्ती व्यवस्थाबाट आधुनिक र लोकतान्त्रिक दिशातर्फको यात्रामा सात सालको आन्दोलन सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यसमा राईको योगदानको प्रशंसा गरे ।
एमाले उपाध्यक्ष एवं प्रतिष्ठानकी अध्यक्ष विद्यादेवी भण्डारीले भोजपुरदेखि काठमाडौंसम्म स्वतन्त्रताका सेनानी राईको अदम्य साहस तथा लोकतन्त्रप्रतिको निष्ठा र सक्षम राजनीतिक नेतृत्व अनि कुशल सेनापतिको भूमिकाबाट क्रान्ति सफल भएको बताइन् । तर, भण्डारीले योगदानअनुरूप रामप्रसाद राईलाई राज्यले सम्मान गर्न नसकेको गुनासो गरिन् । ‘उहाँलाई सम्मान दिलाउन लडिरहेका हामी पनि एकप्रकारका सिपाही हौँ । यो दस्तालाई जनसमुदायले पनि सहयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘दु:खको कुरा उहाँको १०४औँ जन्मजयन्ती मनाइरहेका छौँ तर निधनबारे तथ्य इतिहास छैन । उहाँको निधन भयो भन्ने कुरा छ तर कहाँ कसरी कति गते निधन भयो भन्ने यकिन छैन । भन्न त चीन छिर्ने क्रममा निधन भयो भनिएको छ । इतिहासकारहरूले यसको खोजी गर्नुपर्छ ।’
उनले राईको स्मृति दिवस भने मनाउन नपाएको तथ्य खुलाए । ‘उहाँको स्मृति दिवसको टुंगो लाग्न सकेको छैन,’ उनले भनिन्, ‘यसबारे इतिहासकारहरूले बोलिदिए राम्रो हुने थियो ।
इतिहासकार डा. गोविन्दमानसिंह कार्कीले ‘वि. सं. २००७ सालका क्रान्ति योद्धा रामप्रसाद राई’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । अर्का इतिहासरकार डा. केबी थापाले रामप्रसादबारे धेरै कुरा स्पष्ट रूपमा आउन नसकेको उल्लेख गरेका थिए । आठ साल माघमा भएको सिंहदरबार विद्रोहपछि रामप्रसादबारे धेरै कुरा तथ्यगत रूपमा आउन सकेको छैन । उनको निधन भएको भनिए पनि परिवारले भने षड्यन्त्रपूर्वक मारिएको दाबी गर्दै आएको छ । (सौस)

प्रतिक्रिया