मर्छु बरु, यहाँबाट उठ्दिनँ

Sharadha-Bhusalकाठमाडौं, १९ फागुन । भारतमा अन्ना हजारेले भ्रष्टाचारविरुद्ध कानुनको माग गर्दै आमरण अनशन बस्दा विश्वव्यापी चर्चा पाएको थियो । उनको पक्षमा लाखौँ जनता सडकमा उत्रेका थिए । अन्तत: सरकार पनि झुक्न बाध्य बनेको थियो । नेपालमा एक महिला लगभग यस्तै प्रकृतिको माग राखेर आठ दिनदेखि अनशनमा छिन् । तर, न उनको अनशनले राष्ट्रिय चर्चा पाएको छ न त सरकारले नै कुनै चासो लिएको छ ।

उनले केवल चर्चा बटुल्नका लागि यो कठिन बाटो रोजेकी होइनन् । उनको कुनै ‘भीषण’ माग पनि छैन । स्थानीय स्तरमा हुने भ्रष्टाचारको विरोधमा पहिलेदेखि नै एक्लो लडाइँ लडिरहेकी ३७ वर्षीया शारदा भुसाल झाको अठोट भने निकै दृढ छ । उनी भन्छिन्, ‘बरु मर्छु तर माग पूरा नभएसम्म यहाँबाट उठ्दिनँ ।’
अनशन बसेको आठौँ दिनसम्म उनको स्वास्थ्य नाजुक भइसकेको छ तर सरकार थाहा नपाएझैँ गरेर बसिरहेको छ । रत्नपार्कको शान्तिबाटिकास्थित गणेशमान सिंहको सालिकसँगै त्रिपाल टाँगेर भोकै–प्यासै लडिरेहकी छन् शारदा । शुक्रबार साँझ भेट्न पुग्दा उनी अर्धबेहोस अवस्थामा थिइन् । छेउछाउमा एकाध सहयोगीबाहेक कोही थिएनन् । अहिलेसम्म सरकारको तर्फबाट उनको अनुहार हेर्नसमेत कोही आएको छैन । आमरण अनशनका विषयमा अधिकारकर्मी केदार खड्का, कनकमणि दीक्षित, सुबोधराज प्याकुरेललगायतले केही चासो दिएको उनले बताइन् ।
अर्घाखाँचीमा जन्मिएर बनौली, दनौली–५, महोत्तरीमा बस्दै आएकी शारदाले यसअघि पनि भ्रष्टाचारकै मुद्दा उठाएर १३ दिन अनशन बसेकी थिइन् । त्यतिबेला सरकारले केन्द्रीय स्तरबाट वार्ता टोली गठन गर्नुका साथै छानबिन आयोग गठन गरी भ्रष्टाचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि उनले अनशन तोडेकी थिइन् । तर, अहिलेसम्म कारबाही नभएपछि काठमाडौंमै आएर अनशन बसेकी हुन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगअगाडि नै अनशन बस्ने प्रयास गरे पनि प्रहरीले बस्न दिएन । उनलाई समातेर दुई दिनसम्म कमलपोखरीमा थुनियो र छाडियो । त्यसपछि रत्नपार्कमा आएर बस्न थालिन् । भुसालले भनिन्, ‘मेरो अनशनप्रति आजसम्म कसैले चासो देखाएको छैन । सिंगै मुलुकलाई भ्रष्टाचारको जराले नराम्रोसँग गाँजेको छ, त्यसैले कोही बोल्दैनन् ।’
‘अहिले उहॉको अवस्था अत्यन्तै कमजोर बन्दै गएको छ,’ झासंगै रहेका सहयोगी श्यामलाल शाहले भने, ‘समय–समय डाक्टर बोलाएर स्वास्थय जॉच भइरहेको छ । डाक्टरले स्वास्थ्य निकै कमजोर बन्दै गएकाले उपचारका लागि आग्रह गरी रहनु भएको छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुसालको अनशनप्रति चासो व्यक्त गर्दै उनको मागअनुसार धनुषा र महोत्तरीका विभिन्न गाविसमा भएका भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । अख्तियारका सहप्रवक्ता केशव घिमिरेले भने, ‘भुसालले उठाएको मुद्दामा अख्तियार निकै गम्भीर छ र यसमा हामीले निकै ठूलो चासो दिइरहेका छौँ । तर, भ्रष्टाचारबारे छानबिन गरी निष्कर्षमा पुर्‍याउन केही समय लागेको हो । हामी छिट्टै यो विषयलाई टुंगोमा पुर्‍याउनेछौँ ।’
स्थानीय निकायमा भएका अनियमिततालाई गम्भीरतापूर्वक लिई यथासम्भव चाँडो छानबिन कार्यलाई टुंगोमा पुर्‍याउन लागिपरेको र छानबिनबाट दोषी देखिएका व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याइने अख्तियारले प्रतिबद्धता जाहेर गरेको घिमिरेले जानकारी दिए ।

बरु मर्छु, पछि हट्दिन
म अर्घाखाँचीमा जन्मेकी हुँ । हाल दनौली–५ महोत्तरीमा मेरो घर छ । श्रीमान् महोत्तरीमै हुनुहुन्छ । खान–लाउनको दु:ख छैन ।
मेरो जिल्लाका सरकारी कार्यालयमा हुने भ्रष्टाचार देखेर मेरो मन सधैँ पिरोलिन्थ्यो । अन्तत: मैले भ्रष्टाचारविरुद्ध स्थानीय स्तरबाटै जेहाद छेड्ने निर्णय गरेँ । चार वर्ष अघिदेखि स्थानीय निकायमा भएका भ्रष्टाचार र अनियमितताका प्रमाण संलग्न गरी जिल्ला प्रशासन कार्यालय र अख्तियारमा पटक–पटक निवेदन दिएँ । तर, कुनै निकायले कारबाही प्रक्रिया अगाडि नबढाएपछि डेढ वर्षअघि मैले दुई जना स्थानीयसित मिलेर ६ सूत्रीय माग राख्दै आमरण अनशन सुरु गरेँ ।
आमरण अनशनको तेह्राँै दिनमा सरकारले पठाएका प्रतिनिधिको उपस्थितिमा स्थानीय प्रशासनसित हाम्रो ६ बँुदे सहमति भयो । छानबिन आयोग गठन गरी जिल्लाका भ्रष्टाचारीलाई तत्काल कारबाही गर्ने सहमतिमा उल्लेख थियो । सरकारले गठन गरेको छानबिन टोलीले जिल्लामा भ्रष्टाचार र अनियमितताको अवस्था भयावह भएको प्रतिवेदन सार्वजनिक गर्‍यो । यो प्रतिवेदन कारबााहीका लागि अख्तियार पुग्यो । तर, आयोगले छानबिनको सट्टा निलम्बनमा परेका स्थानीय निकायका कर्मचारीलाई समेत फुकुवा गरिदिएको छ ।
यसरी भ्रष्टाचार भएको प्रमाणित हुँदा पनि दोषीलाई कारबाही नभएपछि पुन: अनशन बस्न बाध्य भएकी हुँ । अख्यियारअगाडि नै अनशन बस्ने योजनाका साथ दुई साताअघि राजधानी आयौँ । तर, त्यहाँ अनशन बस्न खोज्दा प्रहरीले समातेर दुई दिन कमलपोखरीमा थुन्यो । गृहमन्त्रीको आदेश भन्दै दुई दिनसम्म थुनेपछि अघिल्लो शनिबार राति प्रहरीले छाड्यो । त्यसपछि आइतबार बिहान मात्र त्यहाँबाट बाहिर निस्केर रत्नपार्कमा अनशन बस्ने तयारी गर्दा त्यहाँ पनि प्रहरीले अवरोध गर्‍यो । अनशनका लागि तयार गरिएको टेन्ट पनि प्रहरीले भत्काइदियो । तर, अहिले भने बस्न दिएको छ । राति प्रहरीले पहरा पनि दिएको देखिन्छ ।
आठ दिन अघिदेखि पानीसमेत नखाई अनशनमा छु । मुलुकमा बढ्दो भ्रष्टाचार र अनियमितता जरैदेखि उखेलिनुपर्छ भन्ने मेरो एकसूत्रीय माग छ । मेरो अनशनले नेपालमा तत्काल पूर्णरूपमा भ्रष्टाचार अन्त्य नभए पनि भ्रष्टाचाररहित समाज निर्माणको दिशामा अघि बढ्न पक्कै सहयोग पुग्नेछ ।
कतिले यसलाई केवल चर्चाका लागि गरिएको नौटंकीका रूपमा लिएका होलान् । तर, चर्चाकै लागि कपडाको टेन्टमुनि दिन–रात भोकै–प्यासै पल्टन कसलाई रहर लाग्दो हो ? यहाँ मलाई निकै कष्ट छ तर यसलाई मैले आºनो मात्र होइन, आमनागरिकले भोगेको कष्टका रूपमा लिएकी छु । नेपालमा बन्द–हडतालजस्ता आन्दोलनको मात्र चर्चा हुने गरेको छ । तर, त्यसले आमनेपालीलाई थप दु:ख दिन्छ । त्यसैले मैले अनशनको बाटो रोजेँ । तर, मेरो यो शान्तिपूर्ण एकल आन्दोलनलाई सरकारले कत्ति पनि चासो दिएको छैन । सबैभन्दा बढी भ्रष्टाचार सरकारी कार्यालयमा हुने गरेको हामी सबैले देखेका छौँ । सकेँ भने मेरै पालामा नेपाललाई भ्रष्टाचारमुक्त बनाउँछु । म मरेँ भने पनि पछिका पिँढीले यो अभियान जारी राख्नेछन् ।
मेरो आन्दोलनलाई घरपरिवारले राम्रै रूपमा लिएको छ तर माइतबाट भने खासै सहयोग छैन । कहिलेकाहीँ लाग्छ, आफन्तले नै सहयोग नगरिरहेको अवस्थामा अरूले के गर्लान् र ? हुन पनि केही प्रहरी र सर्वसाधारण बटुवाले अनशनका विषयमा जानकारी लिनेभन्दा अरू केही हुन सकेको छैन । उहाँहरू (सहयोगी)ले आमरण अनशनबारे बाहिर खबर पुर्‍याइरहनुभएको छ । स्वास्थ्य अवस्थाबारे बेला–बेलामा जानकारी दिइरहनुभएको छ । मैले हिम्मत हारेकी छैन र हार्नु पनि हँुदैन । शरीर कमजोर बन्दै गए पनि मेरो जोश, जाँगर र हिम्मत कत्ति घटेको छैन । राज्यका विभिन्न निकायमा भएको ब्रह्मलुट म हेरेर चुपचाप बस्न सक्दिनँ । बरु मर्छु, माग पूरा नभएसम्म यहाँबाट उठ्दिनँ ।

प्रतिक्रिया