सात सालका योद्धाको स्मरण

ramकाठमाडौं, १८ फागुन । सात सालको राणा शासनविरोधी क्रान्तिमा मुक्ति सेनाको नेतृत्व गरेका योद्धा रामप्रसाद राईले राजनीतिक परिवर्तनमा पुर्‍याएको योगदानको स्मरण गरिएको छ ।
रामप्रसाद राई स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा ‘सहिद’ रामप्रसाद राईको १०४औं जन्मजयन्तीको अवसरमा गरेको विचार गोष्ठीमा उनको स्मरण गरिएको हो । १८ फागुन १९६५ मा भोजपुरको बासिखोरा सान्दिलुङमा जन्मिएका राईको नेतृत्वमा सात सालको क्रान्तिमा पहिलोपटक २४ मंसिरमा बिनारक्तपात भोजपुर जिल्ला कब्जा गरी राणा शासनविरुद्धको आन्दोलन सफलताका साथ अगाडि बढेको थियो ।
स्वर्गिय राईको जन्मजयन्तीमा शुक्रबार एमाले नेता केपी ओलीले मध्ययुगीन सामन्ती व्यवस्थाबाट आधुनिक र लोकतान्त्रिक दिशातर्फको यात्रामा सात सालको आन्दोलन सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसमा राईको योगदानको प्रशंसा गरे ।
एमाले उपाध्यक्ष एवं प्रतिष्ठानकी अध्यक्ष विद्यादेवी भण्डारीले भोजपुरदेखि काठमाडौंसम्म स्वतन्त्रताका सेनानी राईको अदम्य साहस तथा लोकतन्त्रप्रतिको निष्ठा र सक्षम राजनीतिक नेतृत्व अनि कुशल सेनापतिको भूमिकाबाट क्रान्ति सफल भएको बताइन् ।
इतिहासकार डा. गोविन्दमानसिंह कार्कीले ‘वि. सं. २००७ सालका क्रान्ति योद्धा रामप्रसाद राई’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया