‘प्रधानमन्त्री बनेकै दिन पदमुक्त हुन्छन्’

Arjun-Narshing-Kcनुवाकोट, १८ फागुन । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु दलहरुबीचको बाध्यात्मक बिकल्प भएको वताएको छ ।
दलहरुबीच सहमतिका लागि धेरै पहल निरर्थक भएकाले बाध्यतावश स्वतन्त्र व्यक्तिका रुपमा प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गर्नु परेको नेता केसीले बताए ।
प्रेस युनियन नुवाकोटले सदरमुकाम बिदरमा आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गर्दैमा शक्ति पृथकीकरणको सिद्धान्तबाट कांग्रेस बिचलित नभएको दाबी गरे । ‘प्रधानन्यायाधीशले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकै दिन प्रधानन्यायाधीशबाट पदमुक्त हुनु पर्छ,’ उनले भने ।

प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने प्रमुख चार राजनीतिक शक्तिको निर्णयको विरोध गर्दै आएका केसीले गृह जिल्लामा पुगेर समर्थन गरेका हुन् ।
प्रधानन्यायाधीशको नेतृत्वका सम्बन्धमा समेत एकीकृत माओवादीको नियत स्पष्ट नरहेको भन्दै उनले आशंका व्यक्त गरे । ‘नयाँ सरकार बने पछि निर्वाचन हुन नदिन र सरकारलाई असफल बनाउन एमाओवादीले चलखेल गर्न सक्छ,’ उनको आशंका छ ।
यसअघिको निर्वाचनमा आश र त्रासका कारण ठूलो दल बनेको एमाओवादी स्वयंले देशभरबाट जनाधार कमजोर भएको महशुस गरेको उनले दाबी गरे । ‘स्वतन्त्र र धाधलीरहित निर्वाचन हुने हो भने एमाओवादीको अहिलेको हैसियत गुम्छ,’ उनको भनाई छ ।

प्रतिक्रिया