नगदसहित लुटेराहरु पक्राउ

hospital-ma-chori
रोल्पा, १८ फागुन । रोल्पा जिल्लामा केही दिन अघि गरिवी निवारण कोषको करीव तीन लाख रुपियाँ लुटपाटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
लुटपाटमा संलग्न धबाङ–८ निबासी १९ वर्षीय कृष्ण वली, सोही गाविस वडा नम्वर १ का १७ वर्षीय राजु थापा र १९ वर्षीय किरण डाँगी, धबाङ–३ का २० वर्षीय पुनाराम वली, लिवाङ–८ का छबिलाल गुरुङ र धबाङ–६ का १८ वर्षीय राजु वलीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गतको मंगलबार साँझ ५ बजे हरियाली सामुदायिक संस्था धबाङको गरिबी निवारण कोषको रकम बैंकबाट लिएर धबाङतर्फ जाँदै गर्दा मोहनलाल रोका र पूर्णबहादुर घर्तीलाई निर्घात कुटपिट गरेर लुटपाट भएको थियो ।
प्रहरीका अनुसार लुटेरासँग रहेको १ थान खुकुरी, २ वटा लठ्ठी, २ लाख ८४ हजार ५ सय रुपियाँ र ६ वटा मोबाइल सेट बरामद गरिएको छ ।
त्यसै गरी, प्रहरीले लुटेराहरुको खोजी गर्ने क्रममा लिवाङ–६ बामरुक नजिकै रहेको जंगलमा २ नाल भरुवा बन्दुक, इम्प्रोबाइज रिबल्भर र ४ राउण्ड गोलीपनि फेला पारेको छ ।

प्रतिक्रिया