फुटपाथमा किनेको ब्याग सबैले मन पराए

Sugarika-Kcआममहिला जस्तै म पनि सपिङमा सोखिन छु । प्राय: सपिङ एक्लै जान्छु, अरूसँग जाँदा यो किन्ने कि त्यो किन्ने भन्नेमा अन्योल हुन्छ । आफूलाई एउटा मन परेको हुन्छ, साथीले अर्को राम्रो भनिदिँदा छान्न गाह्रो पर्दा रहेछ । एक्लै जाँदा आफ्नै सुरले किन्न पाइन्छ । चाडबाड वा अरू कुनैकुनै अवसरमा भने परिवारसँग पनि गइरहेकी हुन्छु । त्यस्तो बेला सल्लाहअनुसार गर्नुपर्ने हुन्छ ।

सपिङमा मासिक यति नै खर्च भनेर छुट्याउँदिन । आवश्यकता र समयअनुसार घटबढ भइरहन्छ । खरिद गर्ने सामानको ब्रान्डबारे ध्यान दिन्नँ । यो मामिलामा म कन्सस छुइनँ । हेर्दा राम्रो लाग्नासाथ किनिहाल्छु । सपिङका लागि प्राय: दरबारमार्ग र पाटनतिर जान्छु । सधैँ महँगा र ठूला मलमा जानुपर्छ भन्ने छैन । त्यहाँ मात्रै राम्रा सामान हुन्छन् भन्ने मलाई लाग्दैन । साना पसलमा पनि गुणस्तरीय सामान पाउन सकिन्छ ।
कहिलेकाहीँ बाटोमा झुन्ड्याइएर बेच्न राखेका सामान पनि आकर्षक र राम्रा देखिन्छन् । छान्न जान्ने हो भने फुटपाथमा बेच्न राखिएका सामान पनि राम्रा हुन्छन्, सस्तो पनि । धेरैलाई फुटपाथका सामान राम्रा हुँदैनन् भन्ने भ्रम छ । तर, मलाई मानिसहरूको यो धारणाप्रति विश्वास लाग्दैन ।
मलाई बार्गेनिङ गर्नचाहिँ आउँदैन । त्यसैले सकेसम्म फिक्स मूल्य तोकिएका पसलमा जान्छु । नत्र जहिले पनि ठगिएकी हुन्छु । मेकअपको सामान पनि आवश्यकताअनुसार किन्छु, धेरै किन्दिनँ । यति नै किन्ने भन्ने छैन, सकिएपछि किन्न जाने हो ।
आफूले किनेको सबैभन्दा महँगो सामान भनेको सुनको गहना हो । त्यसपछि मोबाइल । आइफोन–४ चलाइरहेकी छु । कपडामा चाहिँ उति धेरै पैसा खर्च गर्दिनँ । घरायसी सामान आफूले किन्दिनँ, कहिलेकाहीँ तरकारीसम्म किन्छु । घरायसी सामान सबै ससुराबुबाले किन्नुहुन्छ । पतिका लागि भनेर मैले अहिलेसम्म केही किनेकी छैन, उहाँ आफैँ किन्नुहुन्छ । बिहे भएको धेरै भएको छैन, त्यसैले उहाँका रुचि राम्रोसँग बुझ्न पाएकी पनि छैन । आफूले किन्दा आमा, सासूआमा अनि नन्दहरूलाई सम्म किनिदिन्छु कति कुरा ।
विदेशतिर जाँदा पनि परिस्थिति र अनुकूलता हेरेर केही किनेर ल्याउन मन लाग्छ । त्यस्तो बेला नेपालमा नपाइने सामानतिर ध्यान दिइन्छ । नेपालमा भन्दा बाहिर ब्रान्डेड सामान पाइने भएकाले किन्न मन लाग्छ । त्यस्ता अवसरमा ब्याग, जुत्ता, लुगा र मेकअपका सामान किन्छु । विदेशबाट आएको मान्छे, अरूका लागि पनि त केही ल्याइदिनुपर्‍यो नि † अरू विदेश जाँदा आफू पनि त आश गरेर बसिन्छ ।
नेपाली बजारमा मोलतोल बढी हुन्छ । बार्गेनिङ नजान्दा ठगिने डर हुन्छ । यसै कारण नेपालमा कुन सामानको कति मूल्य ठीक हो भन्ने खुट्याउनै सकिँदैन । विदेशी बजारमा निश्चित मूल्य हुनाले ठगिने सम्भावना कम हुन्छ । विदेशमा ढाँटेर बेच्दैनन् । नेपालमा चाहिँ एउटा भनेर अर्को क्वालिटीको सामान भिडाइरहेका हुन्छन्, कहिलेकाहीँ । पसलैपिच्छे सामानको मूल्य फरक हुन्छ । एकरूपता छैन ।
सधैँ महँगो सामानतिर मात्रै ध्यान जान्छ भन्ने छैन । बाटोमा हिँड्दा भेटिने काँटाहरू पनि किनिरहेकी हुन्छु । राम्रो लाग्यो भने दश–बीस रुपियाँका सामान पनि सस्तो भनेर छोड्दिनँ । सस्तो सामान कमजोर हुन्छन् भन्ने मलाई लाग्दैन ।
नेपाल बाहिरको कुरा गर्दा भारतीय बजारमा गहना, साडी, कुर्ता, लेहंगा किन्न ठीक लाग्छ । अस्ट्रेलिया, सिंगापुर र हङकङमा घडी, ब्याग कपडा, क्यामरा, मोबाइलजस्ता सामान राम्रा पाइन्छन् । अन्तको तुलनामा अस्ट्रेलिया महँगो बजार हो । मसँग एउटा ब्याग छ, सबैले साह्रै राम्रो भन्छन । पैसा धेरै पर्‍यो होला भनेर सोध्छन् । तर, मैले उक्त ब्याग दुई सय पचास रुपियाँ हालेर फुटपाथमा किनेकी हुँ । कहिलेकाहीँ चप्पल पनि किन्छु । (वार्तामा आधारित)

प्रतिक्रिया