दूध दुहुने रोबोट

Cowअमेरिकामा गाईको दूध दुहुने मान्छे नभएपछि डेरी फर्म सञ्चालकले रोबोट प्रयोग गर्न थालेका छन् । दूध दुहुनुलाई ‘तल्लो स्तरको काम’ मान्न थालिएपछि मजदुरहरू भागेर हिँड्न थाले । पछिल्लो केही वर्षदेखि डेरी फर्महरूका लागि यो ठूलै चुनौती बनेको थियो । अमेरिकी किसानहरू पनि मजदुर नभेटिने समस्याले पिरोलिँदै आएका थिए । यसै कारण त्यहाँका किसानले ल्याटिन अमेरिकी देशबाट ल्याउने मजदुरको भर पर्नुपरेको थियो ।
डेरी फर्मका मालिकले यो समस्याबाट मुक्ति पाउन पछिल्लोचोटि रोबोटलाई दूध दुहुन लगाउन थालेका छन् । यसका लागि उनीहरूले हजारौँ डलर खर्च गर्ने योजना बनाएका छन् । यसमा रोबोटको हात गाईको थुनमा लगेर राखिदिइन्छ, जसले केही मिनेटमै लिटरौँ दूध बाल्टिनमा भरिदिन्छ । एक फर्म सञ्चालकका अनुसार यो रोबोट निकै हाइटेक प्रविधिको छ र गाईलाई पनि कुनै नोक्सान गर्दैन । यसो गर्दा कुनै मान्छेलाई चौबीसै घन्टा दूध दुुहुनमै लगाउनुपर्ने नभएकाले समयको बचत पनि हुन्छ । यसरी मेसिनलाई दूध दुहुन लगाउनुपर्ने अवस्था निम्तिएकोमा सरकार सचेत हुनुपर्ने एक फार्म मालिक बताउँछन् । उनी विदेशबाट कामदार आयात गर्ने नियम थप परिष्कृत गर्नुपर्ने देख्छन् । अमेरिकामा कृषिकार्यका लागि विशेष गरी ल्याटिन अमेरिकी देशका मजदुर पर्खिनुपर्ने हुन्छ । तर, सरकारले बाहिरी मजदुरलाई भिसा भने फलफूल टिप्ने बेलामा मात्र दिन्छ । (एजेन्सी)

प्रतिक्रिया