विद्यालय बन्द फिर्ता

काठमाडौं : नेकपा–माओवादीनिकट अखिल नेपाल शिक्षक संगठन र अनेरास्ववियु (क्रान्तिकारी)ले उपत्यकामा बिहीबार गर्ने भनेको शिक्षण संस्था बन्द फिर्ता लिएको छ । शिक्षा विभागले भारतीय सम्बन्धनबाट सञ्चालित विद्यालयका लागि नयाँ नीति ल्याउने बताएकाले तथा नजिकिँदै गरेको एसएलसी परीक्षाको तयारीलाई ध्यानमा राखी दुवै संगठनले बन्द फिर्ता लिएका हुन् ।
ललितपुरको डिएभी सुशील केडिया विश्व भारती उच्च माविबाट निष्कासित तीन शिक्षकलाई पुन:बहाली र भारतीय पाठ्यक्रम खारेज गर्नुपर्ने माग राख्दै आन्दोलनरत ती संगठनले शैक्षिक संस्था बन्द आह्वान गरेका थिए । संगठनका अध्यक्ष गुणराज लोहनीले विभागले भारतीय विद्यालयका लागि ऐन संशोधन गरेर नयाँ नीति लागू गर्ने र एसएलसी परीक्षा पनि नजिक आइरहेकाले बन्द फिर्ता लिइएको जानकारी गराए ।
उक्त विद्यालयले भारतीय पाठ्यक्रममा आधारित सेन्ट्रल बोर्ड अफ सेकेन्डरी (सिबिएस) र इन्डिया सर्टिफेकट अफ सेकेन्डरी एजुकेसनलको पाठ्यक्रम पढाउँदै आएको छ । विभागका निर्देशक टेकनारायण पाण्डेले सिबिएस कोर्सअन्तर्गत विभिन्न दर्जन शिक्षालय विनाअनुमति सञ्चालन भइरहेको पाइएको उल्लेख गर्दै तिनलाई नियमन गर्न चााडै नीति तर्जुमा हुने बताए । (सौस)

प्रतिक्रिया