दुधे बालकले लोडर चलाए

Loader-chalak-Balakकाभ्रे, १७ फागुन । ओठ निचर्ने हो भने दुध आउँछ होला सजल घिसिङको । उनको उमेरका केटाकेटी खेलौना गाडी चलाउँछन् । तर, ३ वर्ष १० महिना ३ दिनका यी बालकले साँच्चिकै गाडी चलाएर देखाइदिए, त्यो पनि सामान्य होइन, लोडर ।

रामेछापको गुन्सी भदौरे–९ स्थायी घर भएका २५ वर्षीय सुवास घिसिङका छोरा सुजलले लोडर चलाएर सबैलाई अचम्भित बनाएका हुन् । मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिमा लोडर अपरेटरका रूपमा कार्यरत सुवासले छोरालाई काखमै राखेर काम गर्दै आएका थिए । बाबुले काम गर्दागर्दै उनले पनि सिके ।
जापानी लिउगङ कम्पनीको ९२ किलोवाट पावर भएको १० हजार ९ सय केजीको सिएलजी ८३५ ह्वेल लोडर चलाएका सजल सिपाघाटको इन्द्रावती एकेडेमीमा नर्सरी पढ्दै छन् । ‘क, ख’समेत राम्रोसँग लेख्न जान्दैनन् उनी । सजलका बाबु सुवासले ०६३ सालदेखि लोडरमा हेल्परका रूपमा काम गर्दै आएका थिए । काभ्रेकै मंगलटार गाविसको काल्ढुंगामा काम गर्दै आएका सुवासको मंगलटारकै एलिसा गोलेसँग ०६५ सालमा प्रेमविवाह भयो । एलिसाले २०६६ बैशाख १९ गते माइतीमै छोरा जन्माएकी हुन् ।
हेल्परबाट अपरेटर भएलगत्तै इन्द्रावतीको मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिमा काम सुरु गरेका सुवासले बच्चालाई आपैँmसँग राख्न थाले । ‘काखमै राखेर स्टेरिङ चलाउँदा काखमै निदाउँथ्यो,’ सुवास भन्छन् । लोडरको छेउमै सुताएर काम गरिरहने र ब्युँझिएपछि काखमै राखिरहने गर्दा सजलले स्टेयरिङ नै समाउन थाले ।
‘सुवासले स्टार्ट गर्नेबित्तिक्कै उसैले स्टेरिङ समाएर हिँडाउँथ्यो,’ सुवासले भने, ‘सुरुमा उसले
एक्सलेटर, लिभर र ब्रेक चलाउन सक्दैनथ्यो, अहिले लिभर र ब्रेकबाहेक सबै चलाउन सक्ने भएको छ । लिभर र ब्रेकमा सहयोग गरिदिएपछि उसैले ट्रिपरमा लोड गर्न सक्छ ।’
‘श्रीमान्ले छोराले लोडर चलाउन थाल्यो भन्दा सुरुमा पत्याउनै सकिनँ,’ एलिसाले भनिन्, ‘मेरै अगाडि लोडर लिएर हिँडेपछि म डरले आत्तिएँ ।’
कक्षा ७ मात्रै पढेका सुवासले छोराको प्रतिभालाई गिनिज बुकमा रेकर्ड गराउने चाहना भएको बताए । ‘तर, दिनभर काम गरेर बेलुका छाक टार्नेका सन्तानले प्रतिभा भए पनि अवसर कहाँ पाउन सक्छन् र †’ उनले भने ।

 

प्रतिक्रिया