१७ अर्ब ८५ करोड कर असुली

काठमाडौं, १५ फागुन । चालु आर्थिक वर्षको माघ महिनामा कर राजस्वबापत १७ अर्ब ८५ करोड ८७ लाख र गैरकरतर्फ २ अर्ब १६ करोड ३४ लाख गरी कुल २० अर्ब ०२ करोड २१ लाख संकलन भएको छ । गत आवको समीक्षा अवधिमा १७ अर्ब ४३ करोड ९२ लाख असुली भएको थियो । गत आवको तुलनामा यो १४ दशमलव ८१ प्रतिशतले बढी हो ।

गत आवको माघमा मूल्य अभिवृद्धि कर ५ अर्ब ६९ करोड १६ लाख संकलन भएकोमा यो वर्षको सोही अवधिमा ६ अर्ब ९४ करोड ३१ लाख असुली भई वृद्धिदर २१ दशमलव ९९ प्रतिशत भएको छ । यसैगरी, भन्सार महसुलतर्फ गत आर्थिक वर्षको माघमा ३ अर्ब ३३ करोड ६८ लाख असुली भएकोमा चालु आवको यस महिनामा ४ अर्ब ५२ करोड ६८ लाख असुली भई वृद्धिदर ३५ दशमलव ७१ प्रतिशत रहेको छ । अन्त:शुल्कतर्फ गत आवको माघमा २ अर्ब २२ करोड ५४ लाख असुली भएकोमा चालु आवको यस महिनामा २ अर्ब ४७ करोड २७ लाख असुली भई वृद्धिदर ११ दशमलव ११ प्रतिशत रहेको छ । आयकरतर्फ गत आवको यसै महिनामा २ अर्ब ६७ करोड ५१ लाख असुली भएकोमा चालु आवको यस महिनामा ३ अर्ब २८ करोड ८ लाख असुली भई वृद्धिदर २२ दशमलव ३९ प्रतिशत रहेको छ । त्यसैगरी, गत आवको माघमा रजिस्ट्रेसन दस्तुर र सवारीसाधन कर ७१ करोड असुली भएकोमा चालु आवको यस महिनामा ६३ करोड ५३ लाख असुली भएको छ ।
विगतमा भन्सार महसुलको योगदान अन्य राजस्वको योगदानभन्दा अधिक रहने भए पनि केही वर्षदेखि आयकरको योगदान बढी रहेको छ । चालु आवको माघसम्मको अवस्थालाई विश्लेषण गर्दा पनि मूल्य अभिवृद्धि करको योगदान ३० प्रतिशत रहेको छ भने आयकरको योगदान २२ प्रतिशत छ । भन्सार महसुलको अंश २१ प्रतिशत, अन्त:शुल्कको अंश १३ प्रतिशत र गैरकरको अंश ११ प्रतिशत छ । आयातमा निर्भर रहेको राजस्वको संरचनामा केही परिवर्तन भई आन्तरिक स्रोत परिचालनमा प्रभावकारिता आएको देखिन्छ ।
गत आर्थिक वर्षको माघसम्मको भन्सार महसुल २२ अर्ब ८० करोड ६८ लाखमा लगभग ३९ प्रतिशतको वृद्धि भई चालु आवको समीक्षा अवधिसम्ममा ३१ अर्ब ६७ करोड १५ लाख असुली भएको छ । यसैगरी, मूल्य अभिवृद्धि कर गत आवको तुलनामा १८ दशमलव ०६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ८ करोड ४६ लाख असुली भएको छ । गत आवमा १६ अर्ब ८५ करोड ९ लाख असुली भएको अन्त: शुल्क चालु आवको समीक्षा अवधिमा १९ दशमलव ६५ प्रतिशतको वृद्धि भई २० अर्ब १६ करोड १४ लाख रुपियाा भएको छ । आयकरको असुली चालु आवको माघसम्ममा ३४ अर्ब ५७ करोड ६३ लाख भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३१ दशमलव ८९ प्रतिशतको वृद्धि हो । अन्तर्राष्ट्रिय मुद्राकोषले जारी गरेको राजस्वको वर्गीकरणअनुसार सरकारी राजस्वको हिसाब तयार गर्नुपर्ने हुनाले चालु आवको माघसम्मको गैरकरको असुली गत आवको तुलनामा केही ऋणात्मक देखिएको छ ।

प्रतिक्रिया