हाम्रो झगडा सामाजिक अन्तर्विरोधको एउटा रुप

Jn-n-Purna-shovaएसएलसी पास गरेपछि म आइएस्सी पढ्न त्रि–चन्द्र कलेज आएँ । कलेजमा कतिपय केटी साथी मसँग निकट सम्बन्ध राख्न खोज्थे । पढ्ने निहुँमा किताब साटासाट हुन्थ्यो, यो आपसमा नजिकिने बाहना हुन्थ्यो । केही केटी साथी म्याथ सिकाइदेऊ भनेर नजिकिन कोसिस गर्थे । तर, मसँग ती सम्बन्ध विकसित गर्ने समय थिएन । म क्रान्तिमा सहभागी एक कम्युनिस्ट कार्यकर्ता थिएँ । आइएस्सी पास गरेपछि बुर्जुवा शिक्षाले हुँदैन, सिस्टम नै फेर्नुपर्छ भन्ने निर्णय गरी कलेज छोडेँ र कम्युनिस्ट आन्दोलनमा होमिएँ । कम्युनिस्ट क्रान्तिको जग बसाल्न पूर्वको डलकोट गएँ, पोखरा गएँ ।

त्यो बेला कम्युनिस्ट आन्दोलन पनि विभाजित थियो । हामी एकीकृत गर्ने पहलमा थियौं । म इलाम गएर जिल्ला कमिटी गठन गरें । ०२६ सालबाट त्यो अभियान थालेका थियौँ । ०३२ सालमा आएर मात्रै कोअर्डिनेसन केन्द्र बनाउन सक्यौँ । कोअर्डिनेसन केन्द्र बनेपछि पार्टीको कामलाई सहज रूपले अघि बढाउने परिस्थिति बन्यो । पार्टीमा कार्यकर्ता थपिँदै गए । संगठन मजबुत हुँदै थियो । त्यति बेला पार्टीमा महिला कार्यकर्ता पनि आउन थालेका थिए । पार्टीमा लागेका अधिकांश कार्यकर्ता युवा थिए, विवाह गर्ने उमेरका । कार्यकर्ताका विवाहबारे पार्टीले सोचिदिनुपर्ने अवस्था थियो । म पनि विवाह गर्ने उमेरको थिएँ । ०३७ सालमा जेलबाट छुटेपछि म बिहेबारे सोच्न थालेंँ । मेरो सोच अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने थियो । अन्तरजातीय विवाहका लागि अरू कमरेडलाई पनि प्रेरित गर्थें । त्यतिबेला काठमाडौंमा एउटा महिला पंक्ति थियो । त्यो पंक्तिले पार्टीको काम निकै इमानदार भएर गथ्र्यो । हामी पनि उहाँहरूलाई अगाडि बढाउन प्रोत्साहन गरिरहन्थ्यौँ । त्यही समूहमा रविलक्ष्मी चित्रकार पनि थिइन् ।
हामी भूमिगत हुँदा रविलक्ष्मीको घर हाम्रो अत्यन्त राम्रो सेल्टर थियो । उनको परिवारले हामीलाई निकै सहयोग गरेका थिए । रविलक्ष्मीका दाजुभाइ, बुबा, बहिनीहरूले निकै सहयोग गर्थे । म पनि त्यो घरमा गइरहन्थेँ । त्यही क्रममा उनीसँग मेरो सम्बन्ध नजिकियो । त्यो निकटता बिस्तारै बढ्दै गइरहेको थियो । एमएस्सी पास गरेकी शिक्षिका पनि थिइन् उनी । मलाई उनको व्यक्तित्वले प्रभावित गरेको थियो । मलाइ लाग्यो, अब उनीसँग प्रेमप्रस्ताव राख्नुपर्छ । एकदिन पार्टी कामकै कुरा भइरहेको थियो । मैले त्यही मौकामा परिस्थिति मिलाएर प्रस्ताव गरेँ । तर, उनले जवाफ फर्काइनन् । सोच्न एक हप्ताको समय मागिन् । मलाई भने निकै छटपटी भइरह्यो । कुनै कारण देखाएर अस्वीकृत पो हुने हो कि भन्ने डर लागिरहेको थियो ।

सात दिन बल्लबल्ल कट्यो । सात दिन पुगेको दिन उनको घरै गएँ । अनि, सोधेपछि जवाफ फर्काइन्, ‘ल ठीक छ ।’ ०३७ सालको कुरा हो यो । त्यसपछि गुपचुप रूपमा हामीबीच प्रेमसम्बन्ध झाँगिँदै जान थाल्यो । त्यही साल म भारत प्रवास जानुपर्ने भयो । त्यसपछि हामीबीच चिठीमार्फत कुराकानी हुन्थ्यो । त्यति बेला म अभिमन्यू, प्रकाश, बुद्धिरत्न नामले पार्टीमा चिनिन्थेँ । उनले चिठीमा प्राय: ‘प्रिय कमरेड अभिमन्यू’ सम्बोधन गर्थिन् । पत्रमा स्वास्थ्यको ख्याल राख्ने कुरा मात्रै वैयक्तिक हुन्थे । अधिकांश कुरा पार्टीका नै हुन्थे । उनी पार्टीको कोष, खुलेर काम गर्ने अवस्था, खर्चपर्चको व्यवस्था र पार्टीका अप्ठ्याराहरूबारे पत्रमा जिज्ञासा राख्थिन् । पत्र हातमा परेपछि मलाई पढ्न हतार लाग्थ्यो । ढुकढुकी बढेर आउँथ्यो । पत्र पढिसकेपछि आफ्नो च्वाइसप्रति गौरव लाग्थ्यो ।
त्यति बेलासम्म हाम्रो प्रेम पनि भूमिगत नै थियो । पार्टीका कमरेडहरूलाई भनेका थिएनौँ । पछि बिस्तारै जानकारी दिएँं । त्यति बेला पार्टीको स्वीकृतिमा मात्रै विवाह गर्न पाइन्थ्यो । सबैभन्दा पहिले पार्टीका महासचिव सिपी मैनालीलाई भनेँ । उहाँ मलाई अर्कै महिलासँग विवाह गराउने सोचमा हुनुहुँदो रहेछ । मलाई पछि मात्रै थाहा भयो । हुन त त्यतिबेला धेरै महिलामित्र थिए । उनीहरूसँग नजिक पनि भइयो । तर, प्रेमसम्बन्ध भने रविलक्ष्मीसँग मात्रै भयो ।

०३८ सालमा प्रवास छोडेर उपत्यका संगठनप्रमुख भएर काठमाडौं आएँ । उनी पनि त्यति बेला काठमाडौं जिल्ला कमिटीको सक्रिय सदस्यमध्ये पर्थिन् । ०३९ सालको भदौमा हाम्रो पार्टीको १४औँ केन्द्रीय कमिटी बैठक भयो । त्यो बैठकले मलाई महासचिव बनायो । त्यही वर्षको माघमा पार्टीले औपचारिक रूपमा हाम्रो विवाह गरायो । हामीले विवाह गर्दा दुवैका परिवारलाई जानकारी दिएका थिएनौँ । काठमाडौंको एउटा कोठामा बसेर हाम्रो विवाह भएको थियो । विवाहमा दुई सय ३२ रुपियाँ खर्च भयो । उनलाई चुरापोते दिन र साथीभाइलाई जुस र खाजा खुवाएको बिल त्यति मात्रै उठेको थियो । एकसाथ बस्न थालेपछि माइतीलाई थाहा दिनुपर्ने भयो । अनि, उनले घरमा ‘मैले विवाह गरेँ’ भनेर खबर पठाइन् । माइलो जेठान पार्टीकै कार्यकर्ता भएकाले मलाई पनि भन्न सजिलो भयो । परिवारले पनि हाम्रो सम्बन्ध सजिलै स्वीकार गरे । हामीले फेरी परम्परागत विवाह गर्नुपर्ने भयो । म बेहुला भएर जाने र सामान्य टीकाटालो गरेर विवाहको परम्परागत प्रक्रिया पूरा गर्ने निर्णय गर्‍यौँ । पार्टीमा औपचारिक विवाह भएको करिब पाँच महिनापछि फेरि परम्परागत विवाह गर्‍यौँ । म भूमिगत भएको हुनाले मेरो परिवारमा भने यो कुरा पछि मात्रै थाहा भयो । आमा काठमाडौं आउनुभएको बेला पारेर उहाँलाई खबर दिएँ । अनि, बुहारी भेटाएँ । आमाले ‘आफ्नै जातको बिहे गरेको भए हुन्थ्यो’ भन्नुभयो । तर, पछि विस्तारै बुहारी स्वीकार गर्नुभयो । म बालक हुँदा नै हजुरबुबाले ‘जन्तरेले आपैँm बिहे गर्छ, यसलाई पढाइ मात्रै दिनू’ भन्नुभएको थियो । त्यही सम्झेर पनि मेरो परिवारले चित्त बुझाए ।
विवाहपछि पनि हामी निरन्तर प्रेममा छौँ । कहिलेकाहीँ यसो झगडा पनि नपर्ने होइन । झगडाको कारण हामीबीचको फरक सोचाइ, दृष्टिकोण अनि चाहना हो । तर, यस्तो ठाकठुकले आपसी सम्बन्धलाई अझ दिगो राख्न सहयोग पुर्‍याएजस्तो लाग्छ मलाई । झगडा पर्दा एकदुई दिनसम्म नबोलेर पनि बस्थ्यौँ । अक्सर म नै मौनता तोडेर उनलाई बोलाइहाल्छुु । यो सामाजिक अन्तर्विरोधको सामान्य रूप पनि हो । यस्ता अन्तर्विरोध पतिपत्नीबीच अनिवार्य हुन्छ । महिला–पुरुषबीचको भेद नै एउटा अन्तर्विरोध हो । यसलाई अन्यथा ठान्नुहुँदैन । कहिलेकाहीँ यस्तो ठक्करले चर्को झडपको रूप पनि लिन्छ । एकपटक हामी त्यस्तै झडपमा पर्न लागेका थियौँ, हाम्रो छोराले मध्यस्थकर्ताको भूमिका खेल्यो । र, समाधान भयो ।
पतिपत्नीबीचको सम्बन्धमा सामान्य भिन्नता त हुन्छ नै । हामीबीच त भिन्नताका आयाम अझ धेरै छन् । अन्तरजातीय विवाह भएकाले हाम्रा सांस्कृतिक भिन्नता पनि धेरै छन् । चाडपर्व मनाउने सवालमा पनि भिन्नता आउँछ । तर, हामी सांस्कृतिक भिन्नतालाई पनि एकआपसमा विवाह गराइदिन्छौँ । यहाँसम्म कि छोरा जन्मिएपछि म छोरासँग नेपालीमा मात्रै बोल्थेँ । उनीचाहिँ नेवारीमा मात्रै बोल्थिन् । छोराले मपट्टि फर्किंदा नेपाली मात्रै बोल्ने, आमापट्टि फर्किंदा नेवारी मात्रै बोल्ने गर्न थाल्यो । यसले उसलाई ‘बाइलिङ्गुइस्टिक’ बन्न सहयोग मिल्यो । छोरालाई स्कुल भर्ना गर्ने बेला पनि हाम्रो त्यस्तै टक्कर पर्‍यो । मेरो चाहना छोराको नाम निर्भिक खनाल राख्ने, आमाको चाहनाचाहिँ निर्भिक चित्रकार राख्ने थियो । म त्यतिबेला भूमिगत थिएँ । छोरा धेरै समय आमासँगै रहन्थ्यो । त्यसपछि छोराको थर चित्रकार नै राखियो । अहिले पनि छोराले नामको पछाडि खनाल चित्रकार दुवै लेख्छ ।

प्रेम मानव विकासको अभिन्न अंग हो । तर, विवाह प्रेम अभिव्यक्त गर्ने एउटा माध्यम मात्रै हो । विवाहभन्दा निकै माथि हुन्छ, प्रेम । कैयौँ युवायुवती प्रेमसम्बन्धमा बाँधिएका छन् । तर, उनीहरूले अनिवार्य विवाह गर्नुपर्छ भन्ने छैन । विवाहविना पनि प्रेम हुन्छ । मैलेचाहिँ आफ्नो प्रेमलाई बिहेमै रूपान्तरित गरेको छु । विवाहपछि पनि हाम्रो प्रेम निरन्तर छ ।
प्रेम महिला र पुरुषबीचको गाढा सम्बन्ध अभिव्यक्त गर्ने माध्यम हो । यो माध्यम पनि समाजको विकासप्रक्रिया अनुरूप क्रमिक रूपले विकसित हुँदै गइरहेको छ । त्यसैले प्रेम पनि समयसापेक्ष हुन्छ । प्रेमलाई व्यक्त गर्ने असंख्य रूप छन्, तिनैमध्येको एउटा हो विवाह । अलगअलग जातिमा विवाहसंस्कारका विभिन्न रूप छन् । तर, स्वतन्त्रपूर्वक स्थापित हुने प्रेम प्राकृतिक अवस्थामा मात्रै हुन्छ । समाजले खडा गरेका बन्धन र समाजव्यवस्थाको उपजका रूपमा आएको संस्कारले प्रेमको स्वतन्त्रतामा अवरोध सिर्जना गरेको छ । समाज दासयुग, सामन्ती युग र पुँजीवादसम्म आइपुग्दा निर्माण भएका व्यवस्थाले स्वतन्त्र प्रेममाथि पनि शोषण गरिरहेको छ । सामाजिक बन्धनले प्रेमको अभिव्यक्ति र त्यसको प्राकृतिक नैसर्गिकतामा अवरोध गरिरहेको छ । सही अर्थमा प्राकृतिक अनि स्वतन्त्र प्रेम पाउन अझै शताब्दीऔँ कुर्नपर्ने हुन सक्छ । समाज पूर्णरूपले स्वतन्त्र नभएसम्म प्रेमको पनि स्वतन्त्रता हुन सक्दैन । समाजमा अभूतपूर्व क्रान्तिपछि मान्छेले स्वतन्त्र प्रेम प्राप्त गरेरै छाड्छन् । ती मान्छे नै भाग्यशाली हुन्छन्, जसले स्वतन्त्र प्रेम गर्न पाउँछन् ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया