क्रान्तिकारी र नेविसंघबीच कुटाकुट

kanchanpurकैलाली, १४ फागुन । कञ्चनपुरमा अखिल (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । झडपमा परेर तीन प्रहरीसहित एघार विद्यार्थी घाइते भएका छन् ।
सिद्धनाथ विज्ञान क्याम्पसमा आज दुई संगठनबीच सामान्य विवाद भई उग्ररुप लिएपछि झडप भएको हो । झडपले उग्ररुप लिएपछि नियन्त्रणमा लिन प्रहरीलाई केही समय हम्मेहम्मे परेको थियो ।
झडपमा विद्यार्थीले प्रहार गरेको ढुंगा लागेर तीन जना प्रहरी घाईते भएको प्रहरी नायव उपरीक्षक बिर्खबहादुर रावलले जानकारी दिए ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्रकान्त भट्ट, सचिव नबराज ऐरी र केन्द्रीय सदस्य राधाकृष्ण जोशी तथा नेविसंघका जिल्ला उपाध्यक्ष अच्युत कलौनी, विज्ञान क्याम्पसका पूर्वइकाई अध्यक्ष गोरख रौले, सिद्धनाथ बहुमुखी क्याम्पस इकाई अध्यक्ष बिक्रम नेगी झडपमा घाइते भएका छन् ।
क्रान्तिकारीका अध्यक्ष भट्टलाई महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेर अन्यन्त्र रिफर गरिएको छ । नेविसंघका उपाध्यक्ष कलौनीको टाउँकोमा दुईवटा टाँका लागेको उपचारकमा संलग्न चिकित्सकले बताएका छन् ।
विज्ञान क्याम्पसको सूचना पार्टीमा नेविसंघले टाँसेको सूचना क्रान्तिकारीले च्यातेपछि विवाद सुरु भएको थियो ।
क्रान्तिकारीले कमिटी गठन भईरहेका बेला नेविसंघका विद्यार्थीले एक्कासि आक्रमण गरेको आरोप लगाएको छ । नेविसंघले क्रान्तिकारीका विद्यार्थीले क्याम्पसको सूचना पार्टी नियन्त्रणमा लिए पछि विवाद सृजना हुँदा झडप भएको भन्दै बचाउ गरेको छ ।

प्रतिक्रिया