आफ्नै मुहार देखेर रिस उठ्थ्यो

Bandana-Ranaआकर्षक र सुन्दर देखिन हरेक मान्छेलाई मन लाग्छ । सबैको पहिलो हेराइ अनुहारमै ठोक्किन्छ । अनुहारको सौन्दर्यले व्यक्तित्व पनि झल्काइरहेको हुन्छ । त्यसैले अनुहारको सुन्दरता र सुरक्षामा म निकै ख्याल गर्छु । तर, राम्रो देखिने नाममा जथाभाबी सामग्री प्रयोग गर्दिनँ । हावातालमा सुनेका र देखेका सबै सौन्दर्य सामग्री प्रयोग गर्नु हानिकारक साबित हुन सक्छ । आफूसँग भएको प्राकृतिक सौन्दर्य पनि कुरूपतामा परिणत हुन सक्छ । हरेक मान्छेले उमेर र मौसमअनुसार शृंगार गर्नु आवश्यक छ । तर, सौन्दर्य सामग्रीको गुणस्तरीयतामा भने विशेष ख्याल राख्नैपर्छ ।

केही वर्षअघिसम्म म पनि शृंगारसामग्रीबारे उति सचेत थिइनँ । ध्यान पनि दिँदनथेँ । नेपाली बजारमा पाइने जस्तासुकै कस्मेटिक सामान प्रयोग गर्थें । जसले जे भन्यो त्यसैका लहलहैमा लाग्थेँ । ध्याउन्न एउटै थियो– राम्री कसरी देखिने † टेलिभिजनमा काम गर्थें । आफन्तहरू ‘अलि राम्री देखिनुपर्‍यो, यो क्रिम लगाऊ, फलानो फेसवास प्रयोग गर’ भन्दै सुझाउँथे । म होला त नि भन्दै लुरुलुरु मान्थेँ । यसरी जुन पायो त्यही सामान प्रयोग गर्दा मुहार बिग्रन्छ भन्ने मलाई थाहा थिएन । नभन्दै मेरो अनुहार राम्रो हुनुको सट्टा झन् बिग्रँदै पो गयो ।
आफैंलाई परिसकेपछि पो सचेत भएँ, जुन पायो त्यही सामान प्रयोग गर्न हुँदो रहेनछ भनेर । बीस वर्षअघिदेखि चाहिँ क्लिनिक ब्रान्डका कस्मेटिक्स प्रयोग गर्न थालेकी छु । यो निकै राम्रो छ तर महँगो पनि । बेलाबखत अमेरिका जाँदा उतैबाट लिएर आउँछु, नेपालमा पाइँदैन । वर्षको दुई सय डलरजति खर्च हुन्छ, यी सामान किन्दा । नेपालको बजारमा चाहिँ मेकअपका कुनै पनि सामान किन्ने गरेकी छुइनँ, पछिल्लो समय । म त्यो कम्पनीको सदस्य छु, त्यसैले केही डिस्काउन्ट पनि पाउँछु ।
महिनामा एक पटक पार्लर जान्छु । घरछेउमै रहेको पार्लर सजिलो लाग्छ । नभ्याएका बेलाचाहिँ अलि लामो समयको अन्तर पनि हुन सक्छ । पार्लर पुगेका बेला गर्ने भनेको फेसियल र थ्रेडिङ हो । एक पटकमा एक जहारदेखि पन्ध्र सय रुपियाँसम्म खर्च हुन्छ । मान्छे राम्रो देखिन सुन्दरतासँगै सरसफाइमा पनि ध्यान दिनुपर्छ ।
शृंगारसामग्रीबारे जानकार भएर प्रयोग गर्न थालेपछि मेरो मुहारमा परिवर्तन पनि निकै आएको छ । यस्तो लाग्छ– म बीस वर्षअगाडिभन्दा पनि यङ देखिन थालेकी छु । उति बेलाको त कुरै अर्को । यसरी बिग्रियो नि मलाई आफ्नै मुहार देखेर रिस उठ्थ्यो । राम्रो अनि एउटै ब्रान्ड सकेसम्म प्रयोग गर्नुपर्छ भन्ने बुझेकी छु । त्यसैले त दुई दशकदेखि एउटै कम्पनीको सामान प्रयोग गरिरहेकी छु । राम्री देखिने नाममा मुखभरि नसुहाउँदो रंगरोगन गर्नु प्राकृतिक सुन्दरतालाई पनि नष्ट गर्नु रहेछ ।
विज्ञापनमा देखाइने आकर्षक सामानको भर पर्नु हानिकारक हुन्छ । शृंगारमा पनि उमेर र मौसमअनुसार फरकफरक सामग्री बनाइएका हुँदा रहेछन् । बढ्दो उमेरसँगै गालामा देखिने चाउरी–दागबाट बच्न क्रिम, फेसवास, सनक्रिम प्रयोग गर्नु आवश्यक हुन्छ । बुझेर गरिएको मेकअपले मान्छेको सौन्दर्य जोगाउँछ । अहिले त म यति सचेत भएकी छु कि आफ्नो छाला र अनुहारलाई म्याच गर्ने सामान मात्र प्रयोग गर्छु । बदलिइरहने मौसमअनुसार मुहारका आवश्यकता पनि फेरिइरहन्छन् । सबैको छालाको प्रकृति फरक हुन्छ । आआआफ्नो छालालाई सुहाउने कस्मेटिक्स छनोट गर्नुपर्छ । चिल्लो वा सुक्खा कस्तो प्रकृतिको छाला हो, त्यसलाई असर नगर्नेखाले सामान मात्रै छान्नुपर्छ ।
(वार्तामा आधारित)

प्रतिक्रिया