बलात्कारपछि हत्या

उदयपुर, १४ फागुन । ३० माघमा भलायडाँडा–९ की हीरामाया खिलिङगे सार्कीको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । स्थानीय ३२ वर्षीय देवेन्द्र अधिकारीले उनलाई बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । अधिकारीले उनीसँग भएको नगद र सुन लुटेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका हुन् ।

दिउँसो गाई चराउन जंगल गएकी सार्की साँझसम्म घर नफर्किएपछि खोजी क्रममा स्थानीयले सोही रात घरनजिकैको मइन्टार जंगलमा उनलाई मृत फेला पारेका थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्टर श्रीकृष्ण पौडेलको नेतृत्वमा गएको टोलीले चार दिनसम्म घटनास्थलमा रहेर अनुसन्धान गरेको थियो । प्रहरीले ६ फागुनमा मृतकका पति ४९ वर्षीय कविरमान सार्की, छिमेकी ४६ वर्षीय मधुवर राना, इखबहादुर परियार र कृष्णलाल गिरी र अधिकारीलाई नियन्त्रणमा लिएको थियो । मृतकका आफन्तले दिएको किटानी जाहेरीपछि प्रहरीले अधिकारीबाहेक सबैलाई तारिखमा छाडेको थियो ।
हत्या हुनु केही दिनअघि जग्गा बेचेकी सार्कीसँग अधिकारीले रकम सापटी मागेको अनुसन्धानमा खुलेको थियो भने मृतक सार्कीले थैलीमा बोकेको नगदसमेत लुटिएको पाइएपछि प्रहरीले अधिकारीलाई म्याद थप गरी अनुसन्धान गरेको थियो । अधिकारीलाई रिहा गर्न एकीकृत नेकपा (माओवादी)का जिल्लास्तरका नेताको दबाब आए पनि प्रहरीले अनुसन्धान गरेको थियो । इन्सपेक्टर पौडेलले भने, ‘अधिकारीले बलात्कारपछि हत्या गरेको बयान दिएका छन् ।’ अधिकारी एमाओवादीका पूर्व उदयपुर इन्चार्ज भीम अधिकारी (अनिल) का भाइ हुन् । अधिकारीले बयानका क्रममा मृतक र आफूबीच धेरै पहिलेदेखि यौनसम्बन्ध रहेको स्वीकार गरेको पनि बयान दिएका छन् ।

प्रतिक्रिया