विद्यालयकै कारण एसएलसी दिन वञ्चित

प्यूठान, १४ फागुन । प्युठानको एक निजी विद्यालयले विद्यालयमा अध्ययनरत केही विद्यार्थीलाई एसएलसी परीक्षा दिनबाट वञ्चित गराएको छ । पढाइमा कमजोर भएको कारण देखाउँदै एसएलसीमा शतप्रतिशत नतिजा नआउने डरले पब्लिक बोर्डिङ स्कुल दाखाक्वाडीले यस्तो बदमासी गरेको हो ।

एसएलसी परीक्षा नजिक भएका समयमा विद्यालयले विद्यार्थीलाई घर पठाएपछि अभिभावक चिन्तित भएका हुन् । टेस्ट परीक्षामा दुई विषयमा फेल भएकाले एसएलसी पास गर्न सक्दैन भनेर स्कुलले घर पठाएको विद्यार्थी श्याम पुनले बताए । ‘मेहेनत गर्ने मौका नै नदिई यसो गरेकोमा दु:ख लागेको छ,’ उनले भने ।
मासिक १० हजार रुपियाँ खर्च गरेर छोरालाई बोर्डिङ पढाएका अभिभावक पनि विद्यालयको बदमासीबाट चिन्तित छन् । श्यामका बुबा वीरबहादुरले भने, ‘छोराको भविष्यमाथि बोर्डिङले खेलबाड गर्‍यो ।’ सदरमुकाम खलंगामा होटल व्यवसाय गर्दै आएका पुनले पटकपटक विद्यालयलाई अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको बताए । पढाइ सुध्रिने आशामा बोर्डिङ परिवर्तन गरेर गत वैशाखदेखि पब्लिक बोर्डिङमा छोरालाई बोर्डस राखेको समेत उनले जानकारी दिए ।
विद्यार्थीको समय, भविष्य र मनोवैज्ञानिक असरप्रति कुनै वास्ता नगरी विद्यालयले शिक्षामा व्यापार गर्न खोजेको अभिभावकले आरोप लगाएका छन् । विद्यालयका प्रिन्सिपल विष्णु योगीले यसपटक राम्रो नतिजा नआउने भएकाले परिवारकै सल्लाहमा विद्यार्थीलाई घर फर्काएको दाबी गरे ।
विद्यार्थीलाई एसएलसी दिनबाट वञ्चित गराउनु नियमसंगत नभएको निजी विद्यालयको संगठन प्याब्सन प्युठानका अध्यक्ष बेगमबहादुर केसीले बताए । नियमित रूपमा ७५ प्रतिशत हाजिर नपुगेमा परीक्षामा सामेल गराउन नसक्ने प्रावधान भए पनि अनुत्तीर्ण हुने शंकामै परीक्षा दिनबाट वञ्चित गराउन नहुने उनले बताए । ‘सबै विद्यार्थी डिस्टिङ्सन हुन्छन् र विद्यालयले शतप्रतिशत उत्तीर्ण गराउँछन् भन्ने हुँदैन,’ अध्यक्ष केसीले भने, ‘विद्यार्थीलाई उत्र्तीण गराउन सक्नु विद्यालयको दायित्व हो ।’

प्रतिक्रिया