राजनीतिक सहमति नहुँदा सेयरमा गिरावट

nepse-chatrकाठमाडौं, १३ फागुन । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने समाचारसँगै तेजीले बढेको सेयर बजार राजनीतिक सहमति कार्यान्वयनमा सहमति नबनेपछि पुन: गिरावट आएको छ । गत साता सेयर बजार मापक नेप्से परिसूचक ११ दशमलव ८३ विन्दुले घटेर पाँच सय ४३ दशमलव ८९ विन्दुमा पुगेको छ । गत साता जम्मा एक सय १३ कम्पनीको पाँच हजार दुई सय ३० कारोबारमा ६२ करोड २२ लाख चार हजार रुपियाँ बराबरका १६ लाख ३६ हजार ९० कित्ता सेयर खरिद बिक्री भएका छन् । अघिल्लो साता एक सय १६ कम्पनी पाँच हजार एक सय ९० कारोबारमा ५५ करोड २७ लाख १६ हजार रुपियाँ बराबरका १७ लाख २० हजार चार सय २३ कित्ता सेयर खरिद बिक्री भएका थिए । कारोबार रकममा यो १२ दशमलव ५७ प्रतिशतले वृद्धि हो । कुल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र ३५ करोड ५५ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५७ दशमलव १४ प्रतिशत हो ।

समूहगत रूपमा हेर्दा गत साता वित्त समूह, बिमा समूह र होटल समूहबाहेक सबै समूहगत परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचक २२ दशमलव ४७ विन्दुले घटेको छ भने नेप्से परिसूचक तलमाथि पार्न अहं भूमिका निर्वाह गर्ने वाणिज्य बैंक समूह परिसूचक भने १६ दशमलव ५४ विन्दुले घटेको छ । त्यस्तै उत्पादनमूलक परिसूचकमा १५ दशमलव ५७, नेपाल टेलिकम सूचीकृत रहेको अन्य परिसूचकमा नौ दशमलव ४०, व्यापार परिसूचक नौ दशमलव ६३ र विकास बैंक समूहमा दुई दशमलब १९ विन्दुले गिरावट आएको छ ।
गत साता कारोबार रकम र कारोबार संख्याका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहे । यस बैंकको चार सय ४३ वटा कारोबार गत साताभरि सात करोड २७ लाख रुपियाँ बराबरको कारोबार भयो । त्यस्तै बैंक अफ काठमाडौंको पाँच करोड ७७ लाख रुपियाँ, चिलिमे हाइड्रोपावरको पाँच करोड ५९ लाख रुपियाँ, नबिल बैंकको चार करोड ३४ लाख रुपियाँ र एभरेस्ट बैंकको चार करोड २८ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । त्यस्तै सबैभन्दा बढी सेयर कारोबार माछापुच्छ्रे बैंकको भयो । यस बैंकको दुई लाख ७० हजार चार सय ८३ कित्ता सेयर खरिद बिक्री भएका थिए ।
गत साता नेपाल स्टक एक्सचेन्जमा हालै सर्वसाधारणमा सेयर जारी गरेको सिभिल बैंकको सेयर सूचीकृत गरिएको छ । बैंकको दुई करोड कित्ता सेयर सूचीकृत भएको हो । बैंकको सेयर कारोबार एक हप्तापछि हुनेछ । त्यस्तै नागरिक लगानी कोषको पाँच लाख ६० हजार बोनस सेयर, छिमेक लघुवित्त विकास बैंकको तीन लाख १५ हजार नौ सय ६९ कित्ता बोनस सेयर र नवदुर्गा फाइनान्सको दुई लाख ५३ हजार दुई सय ६२ कित्ता हकप्रद सेयरसमेत सूचीकृत भएका छन् ।

प्रतिक्रिया