९२ हजार कामदार रोजगारीमा फर्किए

TIAकाठमाडौं, १३ फागुन । घरबिदामा आएका करिव ९२ हजार कामदार पुन: रोजगारीका लागि बिदेसिएका छन । वैदेशिक रोजगार विभागले रोजगारीका क्रममा बिदामा आई पुन: जानेलाइ अनिवार्य पुन: श्रम स्वीकृतिको व्यवस्था गरेपछि चालु आर्थिक वर्षको सात महिनामा ९१ हजार आठ सय ५६ जना कामदार रोजगारीका लागि बिदेसिएका हुन् । यसमा ८९ हजार चार सय ४० पुरुष र दुई हजार चार सय १६ महिला कामदार छन् ।

विभागका अनुसार अहिले घरबिदामा आई पुन: रोजगारीमा फर्कनेको संख्यासमेत बढेको छ । यसअघि विभागले अन्तिम श्रम स्वीकृति लिनेको मात्र तथ्यांक राख्ने र घरबिदामा आई पुन: रोजगारीमा जानेलाइ श्रम स्वीकृति अनिवार्य गरेको थिएन । तर, विदेशी श्रम बजारमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक संकलनका लागि अनिवार्य पुन: श्रम स्वीकृतिको व्यवस्था पछि पुन: रोजगारीमा जानेको संख्या बढ्दै गएको देखिएको हो ।
विभागका अनुसार चालु आवको माघ महिनामा १४ हजार ३५ जनाले विभागबाट पुन: श्रम स्वीकृति लिएका छन् । यसमा १३ हजार सात सय ९६ पुरुष र दुई सय ३९ महिला कामदार छन् । पुन: श्रम स्वीकृति लिएर माघमा सबैभन्दा बढी कामदार कतार फर्किएका छन् । यसरी कतार जानको संख्या पाँच हजार दुई सय ३२ जना छ । यस्तै, चार हजार तीन सय ४२ जना कामदार पुन: श्रम स्वीकृतिमा साउदी फर्किएका छन् भने दुई हजार तीन सय १७ जना युएई र आठ सय २७ जना मलेसिया फर्किएको विभागले जनाएको छ । पुन: श्रम स्वीकृति लिएर सो महिना ७० मुलुकमा कामदार रोजगारीमा गएका छन् ।
यस्तै, पुसमा १७ हजार ८७ जनाले पुन: श्रम स्वीकृती लिएर बिदेसिएका छन् । मंसिरमा १९ हजार तीन सय ५६ जनाले विभागबाट पुन: श्रम स्वीकृति लिएका छन् । कात्तिकमा आठ हजार नौ सय २१ पुरुष र चार सय ५२ महिला कामदार पुन: श्रम स्वीकृति लिएर काममा फर्किएका थिए । असोजमा आठ हजार आठ सय २४ पूरुष र दुई सय ३८ महिला, भदौमा ना
नौ हजार आठ सय ४२ पूरुष र तीन सय ६८ महिला तथा चालु आवको साउनमा १२ हजार तीन सय एक पुरुष तथा चार सय ३१ महिला विभागबाट पुन: श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएका छन् ।
चालु आवको सात महिनामा अन्तिम श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिनेको संख्या भने दुई लाख ३७ हजार ६ सय ८६ जना पुगेको छ । विभागका अनुसार माघमा वैधानिकरण भएर बिदेसिने कामदारको संख्या तीन हजार सात सय २० जना छन् भने व्यक्तिगत श्रम स्वीकृतिमा एक हजार ६ सय ५८ जना विदेसिएका छन ।

प्रतिक्रिया