‘बिफ’ निर्यातमा १ नम्बर हुँदै भारत

Beef-Meatबिफ निर्यातका लागि नम्बर १ मानिएको ब्राजिललाई अब यो मामिलामा भारतले उछिन्न लागेको अमेरिकी कृषि मन्त्रालयले जनाएको छ । हिन्दूहरूको बाहुल्य रहेको भारतजस्तो देशमा ‘बिफ’ को यति धेरै परिमाणमा कारोबार हुनुले थुप्रैलाई अचम्ममा पार्न सक्छ । हिन्दू धर्मले गौहत्यालाई महापाप ठान्छ । तर, भारतले निर्यात गर्ने बिफ गाईगोरुको मासु नभएर भैँसीको मासु हो । अन्तर्राष्ट्रिय व्यापारिक भाषाले पनि गाईको नभएर भैँसीको मासुलाई बिफ शब्द प्रयोग गर्छ ।
बिफ निर्यातमा विश्वकै दोस्रो नम्बरमा पर्ने भारतले बिफ निर्यातको कुल परिमाणमध्ये एकतिहाइ ओगट्छ । पिंक रिभोल्युसन वा गुलाबी क्रान्तिसमेत भनिने बिफ कारोबारबाटै भारतले गत वर्ष १३ हजार करोडभन्दा बढी रुपियाँ आम्दानी गरेको थियो । भारतीय बिफको सबैभन्दा ठूलो ग्राहक भियतनाम, मलेसिया, साउदी अरब र जोर्डन मानिन्छन् । त्यसो त भारतमा ‘बिफ’ को कारोबार राजनीतिक दृष्टिले पनि संवेदनशील विषय मानिँदै आएको छ । थुप्र भारतीय हिन्दूवादी संगठनले बिफको निर्यातमा गाईको मासु प्रयोग हुने गरेको आंशका गर्दै आएका छन् । एक हिन्दूवादी संगठनका महासचिव खेमचन्द्र शर्मा भन्छन्– ‘भारतमा मासुका लागि गाईको हत्या गर्ने चलन अझै कायमै छ, हामी यो प्रवृत्ति रोक्न बारम्बार केन्द्रीय कानुनको माग गरिरहेका छौँ ।’ केही दिनअघि गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले ‘गुलाबी क्रान्ति’ का नाममा यूपीए सरकारले गोवधलाई प्रश्रय दिएको आरोप लगाएका थिए । (एजेन्सी)

प्रतिक्रिया