अब पागल बन्न मन छ

Ravi-Giriभनिन्छ– गुरुबिनाको शिक्षा असम्भव छ । तर, अभिनय करियरलाई हेर्दा म भने यो मामिलामा भिन्न छु । मैले अभिनय सिक्नकै लागि भनेर कसैलाई गुरु थापेको छैन । प्रेरितचाहिँ आफ्नै बुबाबाट भएको हुँ । उहाँ आर्मीमा हुनुहुन्थ्यो । ब्यारेक तथा दरबारमा देखाइने नाटकहरूमा भक्ति थापा र अमर सिंहको रोल गरेर ख्याति कमाउनुभएको थियो । मलाई पनि बुबाले जस्तै गर्न मन लाग्थ्यो । सानै थिएँ । नाटकमा बुबालाई कैयांै गोली लागेको देखाइन्थ्यो । म साँच्चिकै होला भनेर रुन्थेँ, कराउँथें ।

०३२/३३ सालतिर म सात वर्षको थिएँ । गाउँका दाइहरू नाटक देखाउँथे । मलाई पनि सानोतिनो रोल दिन थाले । ती भूमिका गर्दै जाँदा मलाई अभिनयमा चाख बस्यो । नाटककै सिलसिलामा गाउँदेखि राष्ट्रिय नाचघरको स्टेजसम्म आउन सकेँ । ११ वर्षकै उमेरमा ‘आमाको काख’ लगायत केही महत्त्वपूर्ण नाटकमा अभिनय गरिसकेको थिएँ ।
एक दिन गोरखापत्रमा ‘मनको बाँध’ चलचित्रका लागि कलाकार आह्वान गरिएको विज्ञापन देखेँ । दाइहरूले मलाई चलचित्रमा प्रयास गर्न हौस्याए । म पनि गइहालेँ, निर्माण युनिटको सम्पर्कमा । अडिसन भयो । अडिसनका क्रममा निर्देशक प्रकाश थापालाई अभिनय गरेर देखाउनुपथ्र्यो । निर्धक्क गरिदिएँ । निर्देशक थापालाई राम्रो लागेछ । भने, ‘म तिमीलाई बोलाउँछु ।’ छानिएका कलाकारको लिस्ट गोरखापत्रमै प्रकाशित भयो । मेरो नाम २६ नम्बरमा थियो । मेरो खुसीको सिमानै रहेन । अझै झल्झली याद आउँछ त्यो दिन । तर, दुर्भाग्य भनौँ वा के, त्यो चलचित्र तयार भएर आउँदा पनि मैले अभिनय गर्न भने पाइनँ । त्यो घटनाले मेरो मन भाँचियो ।
समय बित्दै थियो । ०३८ सालतिर नरेन्द्र थापाले ‘बन्धन’ चलचित्रमा मलाई भिलेनको रोल अफर गरे । नरेन्द्र राष्ट्रिय नाचघरको राम्रा कलाकारमा गनिन्थे । ‘बन्धन’ उनकै निर्देशनमा बन्न लागेको थियो । मैले सोधेँ, ‘हिरोचाहिँ को हो नि †’ उनले भने, ‘म आपैँm ।’ वास्तवमा उनीभन्दा म आपैँm ह्यान्डसम थिएँ । ‘तिम्रो अनुहारचाहिँ भिलेनजस्तो छ, त्यसैले तिमी भिलेन बन न, म हिरो बन्छु नि †’ हामीबीच निकैबेर डिस्कस भयो । उनले फोर्स गरे, ‘जसले जे गरे नि फरक पर्दर्ैन, त्यसैले तिमी नै भिलेन बन न †’ म सहमत भएँ । त्यसैअनुसार चलचित्र गरियो ।
०३९ सालतिर भृकुटीमण्डपमा युवा महोत्सव आयोजना भयो । त्यसमा हाम्रो चलचित्र पनि प्रदर्शन गरियो । नेपालकै पहिलो त्यो भिडियो चलचित्रले पैसा पनि राम्रै कमायो । सँगसँगै अभिनयकै कारण चलचित्रबाट मलाई अफर आउने क्रम पनि बढ्दै गयो । ‘विश्वास,’ ‘सन्तान’, दिदी हुँदै एकपछि अर्काे चलचित्र हात पर्दै गए । क्रमश: टेलिसिरियल पनि खेल्दै गइयो । कलाकारितायात्रा ३३ वर्ष पुग्दा पनि यो क्रम निरन्तरै छ ।
यो यात्रामा विज्ञापन भने एकदमै कम खेलेको छु । कारण– पहिलेदेखि अहिलेसम्मै म चुजी स्वभावको छु । अफर आए पनि ननहाइजेनिक विज्ञापन कहिल्यै खेलिनँ । यस्ता विज्ञापनको अफर आउँदा फुर्सद छैन भन्दै टारिदिएँ । वास्तवमा मन नपरेरै नगरेको हुँ ।
अहिलेसम्म आफूले अभिनय गरेका चलचित्रको संख्या अनुमान गर्दा १ सय ३० वटाभन्दा माथि पुग्यो होला । ५७–५८ वटा सम्म ध्यान दिएरै गनेको थिएँ, त्यसपछि गन्नै अल्छी लाग्यो । टेलिचलचित्र पनि २ सय नाघिसके । भिडियो चलचित्र एक दर्जनजति । सबै जोड्दा त ४ सयभन्दा माथिको संख्यामा अभिनय गरिसकेँ । तर, पनि आर्थिक पक्ष कहिल्यै मेरो प्राथमिकतामा परेन । पैसा उस्तो कमाइएन पनि । तर, पैसाले पनि पाउन नसकिने चर्चा र अनमोल माया पाएको छु । देश र समयअनुसार चल्न सकेको छु । पारिश्रमिक पनि त्यहीअनुसार ।
भूमिका छान्ने विषयमा म अलि छुच्चो छु । कतिले सुनाउँछन्–‘तँ अलि बढी नै चुजी भइस्, तँलाई आफूले भनेजस्तो नभइ हुँदैहुँदैन ।’ हो, मेरा लागि जस्तो पायो त्यस्तै रोल पाउनु प्राथमिकताको कुरा होइन । रोल पाउनेबित्तिकै अभिनय गरिहालेको रेकर्ड छैन । भूमिका पाउनुभन्दा त्यसलाई न्याय गर्न सक्नु ठूलो कुरा हो ।
यही लगावका कारणले होला, मैले कलाकारिताबाट दु:खभन्दा बढी माया र सम्मान पाएकी छु । मसँग उसबेला त अभिनयबाहेक के नै थियो र ? तर पनि यहाँसम्म आइपुग्न सकेँ । दर्शकको माया पाउनकै लागि अभिनयमा लागेको हुँ । यसबाट कार–जिप चढेर सानसौकतले हिँडौंला भन्ने महत्त्वाकांक्षा मलाई कहिल्यै थिएन ।
थुप्रैमा काम गरे पनि मलाई कलाकारितामा स्थापित गराएको भने ‘चक्रव्यूह’ टेलिशृंखलाले हो । अभिनय त मैले यसभन्दा अगाडिपछाडि पनि नराम्रो गरेको थिइनँ । तर, यसले फरक छाप छोडिदियो । अहिले पनि थुप्रै दर्शकले मलाई त्यही भूमिकाका कारण चिन्छन् । उमेश अर्यालको आगन्तुकमा गरेको वासुदेवको भूमिका, कालिगण्डकीको सेरोफेरो र अविरल बग्दछ इन्द्रवतीमा गरेका भूमिका पनि मलाई मन पर्छन् । अहिलेसम्म गरेका चलचित्र, टेलिचलचित्रमध्ये १२–१३ वटा भूमिका मात्रै मलाई चित्त बुझेका छन् । पछि बसेर हेर्दा आफूले गरेको अभिनय आफैँलाई चित्त बुझ्दैन प्रायजसो, थप यसो गरेको भए हुने रहेछ भन्ने लागिरहन्छ । मेरा लागि तपस्या, पूजा जे भने पनि कलाकारिता नै हो । यस लाइनमा आएर अहिलेसम्म कसैलाई नराम्रो गरेको छुइनँ, गर्नु नपरोस् पनि ।

परिवारभित्रको कुरा गर्दा दाइहरूसँग भिन्नु भएको केही वर्ष भयो । हाम्रो चुल्हो मात्र भिन्नै भएको हो, अरू सबैमा कुरामा एकै ठाउँ छौँ । कान्छो छोरो म । मलाई आर्मीमै जागिर खुवाउने ठूलो धोको थियो बुबाको । उतिबेला एसएलसी पास गरेपछि नै सेकेन्ड लप्टन लड्न पाइथ्यो । बुबाले भनेको मानेको भए अहिले जर्नेल भइसक्थेँ होला । तर, मेरो ध्यान कलाकारिताबाट अन्त मोडिँदै मोडिएन । बुबा फुल कर्नेल हुँदा उहाँको जुन सानसौकत थियो, त्यसले पनि मलाई लोभ्याउन सकेन । परिवारमा दुई छोरा र श्रीमती छन् । छोरीको खुब चाहना गर्‍यौँ तर भगवान्ले पुर्‍याइदिनुभएन । छोरा पढ्दै छन्, श्रीमती पूरै हाउसवाइफ ।
घरमा कहिलेकाहीँ भान्साको काम म पनि गर्छु, महिनामा ५–६ पटक त परी नै हाल्छ । यो काममा श्रीमतीले नै परफेक्ट बनाइदिएकी हुन् । घरको सरसफाइ पनि गरिरहन्छु ।
मनोरञ्जन लिने मामिलामा मलाई परिवारसँग घुम्न मनपर्छ । सहरको रेस्टुरेन्ट हैन, गाउँघर र पहाडमा । गाउँघरको ढिँडो, साग र गुन्द्रुकमा रमाउने बानी परेको छ मेरो जिब्रोलाई पनि । यात्राका क्रममा मोटरसाइकल सजिलो लाग्छ । यो छिटोछरितो र सजिलो छ । त्यसपछि गाडी र लोकल बस ।

आफूले चाहेजस्तो रोल अहिलेसम्म गर्न पाएको छुइनँ । यो कुरामा दु:ख लाग्छ । पागल अनि गरिब पात्रको रोल गर्ने लालसा छ मलाई । परिवार तथा आफन्तलाई समय दिन नपाउनु, आधा रातमा घर फर्केर परिवारलाई दु:ख दिनपर्नु कलाकारितामा लागेकै कारण निम्तिएका केही अप्ठ्यारा हुन् । नभेटेकोमा थुप्रै आफन्तले गाली पनि गरेका छन् । कहिलेकाहीँ आफैँलाई दु:ख लाग्छ यस्ता परिस्थितिमा । तर, तुरुन्तै मन सम्हालिन्छ । चित्त बुझाउने बाटो भेटिन्छ– ‘दर्शक भनेका भगवान् हुन्, उनीहरूलाई खुसी बनाउन गरिने अभिनय पूजा हो । दर्शकको माया पाउने यस्तो पवित्र माध्यम कसरी छोड्न सकिन्छ र ?’
संसारमा सफल मानिसको पछाडि कुनै न कुनै महिलाको हात हुन्छ । गृहस्थी राम्रो नभए बाहिर केही गर्न सकिँदैन । गृहस्थी मन्दिर हो । मेरो यो मन्दिर श्रीमतीले सम्हालेकी छन् । यसकारण पनि यहाँसम्म आइपुग्न सफल भएको हुँ । छोराहरू अभिनयमा रुचि राख्दैनन् तर मेरो अभिनयलाई इज्जतसाथ हेर्छन् । श्रीमतीले पनि मेरो कलाकारितामा कहिल्यै कुनै गुनासो गरेकी छैनन् । गरून् पनि कसरी ? उनीसँग विवाह गर्ने कुरा चलेपछि मैले अभिनय गरेको बलात्कारको एउटा सिन देखाएर भनेको थिएँ– ‘मेरो काम यही हो, पछि अप्ठ्यारो पर्ला, राम्ररी विचार गरेर मात्र जवाफ दिनू नि †’
प्रस्तुति : कुबेर गिरी

 

प्रतिक्रिया