साझासँग सम्झौता तोड्ने जनकको तयारी

काठमाडौं, १३ फागुन । जनक शिक्षा सामाग्री केन्द्रले साझा प्रकाशनसँगको सम्झौता तोड्ने तयारी गरेको छ । साझाले तत्काल उपलब्ध गराउनुपर्ने चार करोड रुपियाँ नदिएकाले ३६ वर्षदेखिको सम्झौता तोड्ने तयारी जनकले गरेको हो ।

भुक्तानी गर्नुपर्ने रकम नदिएको तथा निजीमा सूचीकृत भएको भन्दै जनकले ०३३ सालदेखिको सम्झौता तोड्ने तयारी गरेको हो । पैसा लेनदेनका कारण जनक र साझाबीचको सम्बन्ध अहिले चिसिएको छ । साझाले चार वर्षयता १२ करोड ४८ लाख ९६ हजार ३५ रुपियाँ जनकलाई भुक्तानी गर्नुपर्नेछ । जनकका महाप्रवन्धक अनिल झाले साझाको व्यवहारले समस्या उत्पन्न भएपछि सम्झौता तोड्ने तयारी गरिएको जानकारी दिए । समयमा भुक्तानी नतिरेकाले साझासँग सम्झौता नवीकरण नहुने बताए । ‘यही स्थितिमा साझासँगको सम्झौताले निरन्तरता पाउँदैन,’ उनले सौर्यसँग भने ।
माघ २३ गतेसम्म दिने भनिएको चार करोड रुपियाँ साझाले अहिलेसम्म नतिरेको महाप्रवन्धक झाले जानकारी दिए । साझा प्रकाशन निजी प्रकाशन जस्तै पाठ्यक्रम विकास केन्द्रमा दर्ता भएकोप्रति पनि उनले आपत्ती जनाए । ‘एक दुई दिन अझै हेर्छा । रकम भुक्तानी नगरे सम्झौता रद्द गछौंँ’, उनले भने । ०३३ सालदेखि जनकले छापेको किताब वितरणको जिम्मा साझाले लिँदै आएको छ । उनले अब हुने सञ्चालन समितिको बोर्ड बैठकमा सम्झौता तोड्ने सम्बन्धी प्रस्ताव लैजाने तयारी रहेको जानकारी गराए ।
साझाले रकम भुक्तानी नगर्दा जनकले कर्णाली विद्यालय तहको किताब नै रोकिएको थियो । पछि शिक्षामन्त्री दिनानाथ शर्माको उपस्थितिमा तत्काल चार करोड दिने र बाँकी यो आर्थिक वर्षसम्ममा चुक्ता गर्ने सहमति भएपछि जनकले किताब दिएको थियो । तर, अहिलेसम्म पनि चार करोड पाएको छैन । साझाले बाँकी साढे आठ करोडमा २५ प्रतिशत वैशाख, २५ प्रतिशत जेठ र ५० प्रतिशत असारमसान्त भित्र दिइसक्नुपर्नेछ । साझाले फागुन आठ भित्र हरहिसाब देखाउनभन्दा पनि अझै नदिएको महाप्रवन्धक झाले बताए । सम्झौतामा साझाले व्याज दिने भनेता पनि नदिने कुरा गरिरहेको उनले बताए ।
जनक शिक्षा सामाग्री केन्द्रका कर्मचारीले व्यवस्थापनलाई साझाले रकम नदिएका कारण सम्झौता तोड्न दबाब दिइरहेका छन् । कमचारी युनियनका अध्यक्ष रामबहादुर कँुवरले साझाकै कारण जनक टाट पल्टिएकाले सम्झौता तोड्नु पर्ने बताए । ‘साझा पनि निजीमा सूचीकृत भएकोले निजी र साझालाई दिनुमा फरक छैन’ उनले भने– ‘त्यसैले पनि सम्झौता तोड्ने पक्षमा रहेका छौँ ।’
असअघि गठित कार्यदलले पनि साझाको विकल्प खोज्नुपर्ने व्यवस्थापन पक्षलाई सुझाव दिएको थियो । साझाका प्रवन्धक रुद्रप्रसाद न्यौपानेले भने जनकसँगको लामो सम्बन्ध बिगार्ने पक्षमा आफूहरू नरहेको बताए । उनले जनकलाई केही दिनभित्र रकम भुक्तानी गर्ने जानकारी गराए । ‘हामी सम्बन्ध बिर्गाने पक्षमा छैनाँै’ उनले भने– ‘एक दुई दिनमा रकम तिर्छौं ।’

प्रतिक्रिया