पारसको अवस्था झन् बिग्रियो

काठमाडौँ, १३ फागुन । गम्भीर प्रकारको हृदयघातका कारण अचेत भएका पूर्वयुवराज पारस शाहको पेटमा आन्तरिक रक्तश्राव भएपछि अवस्था झन् जटिल बन्दै गएको छ । चार दिनदेखि उपचाररत समितिभेज अस्पतालका अनुसार उनको पेटबाट रक्तश्राव भएको हो ।

हृदयघातपछि पेटबाट आन्तरिक रक्तश्राव भएको अवस्थालाई चिकित्सकीय भाषामा स्ट्रेस अल्सर भनिन्छ । हृदयाघातपछि पारसको दिमागमा पर्न गएको तनावका कारण पेटमा अल्सर हुन गएको चिकित्सकले बताएका छन् । ‘यो एकदम जटिल अवस्था हो’ उपचाररत चिकित्सकको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘यसले उनको अवस्थालाई थप गम्भीर बनाएको छ ।’
उपचाररत चिकित्सकले पारसको आन्तरिक रक्तश्राव भएपछि शनिबार विज्ञप्ति निकालेर उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको जनाएका थिए । विज्ञप्ति अनुसार अन्तरिक रक्तश्राव पछि पारसको इन्डोस्कोपी गरी थप उपचार जारी गरिएको छ । ‘उनको अवस्था नाजुक छ’ विज्ञप्तीमा भनिएको छ, ‘इन्डोस्कोपी गरी आवश्यक उपचार प्रक्रिया जारी रहेको छ ।’
पारसको उपचारमा अहिले चार जनाको चिकित्सकीय टोली रहेका छन् । जसमा मुटुरोग विशेषज्ञहरू डा. सायन चेपुडोमविट र डा. परिन्य कुनावट तथा ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सुरासक एक्पोन्पाइसिट र इन्टेन्सिभिस्ट डा. कन्चित पियाभेचभिरातना छन् ।
अस्पतालको सिसियुमा भेन्टिलेटरको सहायतामा श्वासप्रश्वास गरिरहेका पारसको अवस्था नाजुक बन्नुमा गम्भीर प्रकारको हृदयाघात नै प्रमुख कारण भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको थियो । अचेत अवस्थामा उपचाररत श्रीमान् पारसलाई भेट्न शुक्रबार हिमानी पुगेपछि अस्पतालले शुक्रबार राति पारसको अवस्था जटिल रहेको भनी विज्ञप्ती निकालेको थियो ।
शुक्रबार बेलुका ८ बजेतिर अस्पतालको सिसियु कक्षमा अचेत रहेका पारशलाई हेरेपछि हिमानीले उपचारमा संलग्न चिकित्सकहरूसँग ४५ मिनेट कुराकानी गरेकी थिइन् । अस्पताल पुगेलगत्तै सोझै सिसियु कक्षमा प्रवेश गरेकी हिमानीले पारसको अवस्था हेरेपछि उपचारमा संलग्न तीन जना चिकित्सकले पारसको अवस्थाका बारेमा जानकारी गराएका थिए । श्रीमान्को अवस्था हेरेपछि र चिकित्सकको कुरा सुनेपछि हिमानी निकै भावुक अवस्थामा रहेकी छिन् । हिमानीसँगै अस्पतालमा रहेका अन्य आफन्त पनि निकै चिन्तित मुद्रामा रहेका छन् ।
स्थिर र जटिल अवस्थामा रहेका पारसको असाध्यै राम्रोसँग उपचार भइरहेको समेत अस्पतालको विज्ञप्तीमा उल्लेख गरिएको छ । अचेत अवस्थामा रहेका पारसको अस्पतालले बुधबार र बिहीबार सिटी स्क्यान गरेको थियो । दुवै दिनको सिटी स्क्यानमा केही नदेखिपछि एमआरआई गर्न खोजिए पनि पारसको एमआरआई अझै हुन सकेको छैन । पारसको मुटुको चाल स्थिर हुन नसकेकाले एमआरआईमा समस्या परिरहेको चिकित्सकले जनाएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार पारसको अवस्था थप बिग्रिएको थियो । शुक्रबार अस्पतालले उनको एमआरआई गर्नका लागि हाइपो थमिर्या उपचार विधिबाट शरीरको तापक्रमलाई सामान्य अवस्थामा ल्याउने तयारी गरेको थियो । तर, अझैसम्म पनि उनको एमआरआई हुन सकेको छैन ।

प्रतिक्रिया