सुरक्षा प्रत्याभुती गराउन भारतीय अधिकारीको जोड

Indiaनयाँ दिल्ली, १२ फागुन। वाह्य लगानीलाई आकर्षित गर्न नेपालले करमा सुहलियत र लगानि सुरक्षाको प्रत्याभुती गराउनुपर्नेमा भारतीय अधिकारीहरुले जोड दिएका छन्। भारत भ्रमणमा रहेको नेपाल आर्थिक पत्रकार समाज सेजनको प्रतिनिधिमण्डसँगको अन्तर्क्रियामा भारतीय विदेश मन्त्रालयका सहसचिव प्रभात कुमारले नेपालले भारतीय लगानीकर्ताहरुलाई आकर्षित गर्न निश्चित अवधीका लागि कर छुट दिनुपर्ने बताए । लगानी मैत्री वातावरण र नीतिगत स्थायित्वको प्रत्याभुती दिलाएको अवस्थामा जलविद्युत, कृषी, स्वास्थ्य, सूचना प्रविधि, बैङकिङ, पर्यटन तथा शिक्षा क्षेत्रमा लगानी गर्ने भारतीय लगानीकर्ताहरु इच्छुक रहेको उनले बताए ।

नेपालमा जलविद्युतको क्षेत्रमा लामोसमयदेखि राजनीतक गतिरोध कायम रहेको जनाउँदै त्यसलाई अन्त्य गर्न सहसचिव कुमारले सुझाव दिए । नेपालको जलविद्युतको सबै सम्भावनाहरुको अधिकतम उत्पादन गर्दा पनि भारतीय बजारको माग पुरा गर्न नसक्ने जानकारी दिदै उनले आउने दिनमा नविकरणीय उर्जाको क्षेत्रमा पनि काम गर्न सुझाव दिए । भारत सरकार यस क्षेत्रमा पनि नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको उनले बताए । नेपालको बिकास प्रयासमा हरतरहले सहयोग गर्न भारत तयार रहेको भन्दै उनले भारतीय बजारको प्रचुर सम्भावनालाई मध्यनजर गरी छिटो भन्दा छिटो धेरै भन्दा धेरै जलविद्युत उत्पादन गर्ने वातावरण बनाउन नेपाल सरकारले ढीलो गर्न नहुने बताए ।

हाल भारतमा कुल मागको दश प्रतिशत विद्युत अपुग रहेको जनाउँदै उनले भारतले पनि लोडसेडिङको मार खेपिरहेको जानकारी दिए। त्यसो हुँदा नेपालमा उत्पादन भएको विजुलीले भारतमा सजिलै बजार पाउने उनको भनाइ छ। नेपाल भारत विद्युत व्यापारका लागि सीमापार प्रसारण लाइन निर्माणमा भारत सरकारले सहयोग गरिरहेको उनले जानकारी दिए । आगामी पाच वर्षमा भारत आफैले दश हजार मेगावाट विद्युत उत्पादन गरिसक्ने जानकारी दिदै उनले भने,  “त्यस अवस्थामा भारतलाई नेपालबाट आयातीत बिजुली आवश्यक नपर्न पनि सक्छ।”

आर्थिक पत्रकारहरुको अर्को अन्तर्क्रियामा भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयका सहसचिव अरविन्द मेहताले नेपालसँग विद्युत खरीद सम्झौता गर्न भारत तयार रहेको बताए। उनले भने “तर त्यसका लागि नेपालले सो सम्झौताको खाका प्रस्तुत गरेमा काम अगाडी बढाउन सकिन्छ।” मेहताले नेपाल सरकारलाई जलविदयुतको विषयलाई नेपालको विकासमा प्रयोग गर्ने गरि नीतिगत क्षेत्रमा काम गर्न आग्रह पनि गरे । उनले भने “भुटानले जलविद्युत क्षेत्रको विकास गरेर देशको आर्थिक बृद्धीमा काम गर्दा नेपालले पनि लाभ लिन सक्ने उहाँको भनाइ थियो।”

कार्यक्रममा नेपालस्थित भारतीय दुतावासका द्धितीय वाणिज्य सचिव सञ्जिव भाटीयाले नेपाल र भारतबीच द्धिपक्षीय व्यापार विस्तार तथा लगानी अभिबृद्धीका लागि भारतीय दुतावासले सहयोगीको भुमिका निर्वाह गरिरहेको बताए। भाटीयाले नेपालले माग गरिरहेको विशाखापट्टनम वन्दरगाह प्रयोगमा दिन भारतीय पक्ष तयार रहेको तर नेपाली पक्षबाट समयमा प्रस्ताव आउन नसकेको बताए ।

 

प्रतिक्रिया