काठमाडौं टु मुडे

Bimal-Nepalबसपार्कमा पुगेर बस चढ्नेबित्तिक्कै मनमा आएथ्यो– सिटमा एउटी च्वाँक्क केटी परोस् । बी साइडको ७ नम्बर सिटमा गएर बसेँ । अगाडिका सिट पूरै प्याक नभए पनि झ्यालपट्टि भने खाली थिएन । सँगैको सिटमा झोला राखेँ । कोही बूढाबूढी, प्रौढ, केटा वा नराम्री केटी चढे र बस्न खोजे भने ‘मान्छे छ’ भनेर पन्छाउँछु भन्ने सोचेँ र त्यसै गरेँ पनि ।
बानेश्वरबाट दुइटी केटी र एउटा लोग्नेमान्छे चढे । केटीहरू सिधै मभन्दा पछिल्लो सिटमा गएर बसे । म निराश भएँ । त्यो लोग्नेमान्छे पनि म सँगैको सिटमा झोला देखेर होला ए साइडको ९ नम्बर सिटमा गएर बस्यो, आशा पलायो । शान्तिनगरबाट एउटी बूढी बिरामी र प्रौढ आइमाई चढे । उनीहरू अघिल्तिरै बसे । तीनकुनेबाट कोही चढेनन्, कोटेश्वर आयो । कोटेश्वरबाट पनि कोही चढेन भने घटना मैले चाहेजस्तो नहुने सम्भावना बढी हुन्छ ।
कोटेश्वरमा एकछिन गाडी रोक्ने निश्चित छ । सिटमै झोला राखेर चुरोट पिउन ओर्लिएँ । मेरा आँखाहरू गाडी चढ्न आतुर यात्रुहरूमाथि थियो । कतै मैले खोजेजस्तो पात्र पो चढेछ कि † स्मरण रहोस् म जिरी शिवालय जाने सुपर चढेको थिएँ ।
चढ्न चढे थुप्रै । तीनवटी तरुनी पनि चढे, दुई मधेसी र अन्यहरू पनि चढे । आशा त पलाएकै थियो । तीनमध्ये एकचाहिँ म बसेकै ठाउँमा बसोस् तर त्यसो भएन । तीनवटी नै लास्ट सिटमा पो गएर बसेछन् । तिनीहरू छुल्याई पारामा खित्तिदै थिए तर म भने निराश ।
अजिंगरको आहारा दैवले पुर्‍याउँछ भनेझैँ जडिबुटीबाट एउटी चढी । देख्नेबित्तिक्कै झोला काखमा राखेँ । छेवैमा आई र ‘खाली हो ?’ भनेर सोधी । ‘हो’ भनेँ । उसलाई झ्यालपट्टि पठाएँ, म यतापट्टि बसेँ । नयाँ बनेको आधुनिक सडकमा गाडी हुइँकियो, गीत घन्कियो ‘मुन्नी बद्नाम हुई डार्लिङ तेरे लिए’, बस कुद्यो, मन उड्यो, तन नाच्यो । ज्यादै औधी राम्री भने होइन । मंगोलियन फेस, हाइट कम, एउटा दाँत अलिकति उछिट्टिएको तर सेतो र चिल्लो अनुहारमा मेकअप र फेसन वेयरले ठाँटिएकी थिई । त्यो पक्कै २१ वर्ष जतिकी हुनुपर्छ । हिपहप नै हो, कन्भर्स सुज, सफ्ट जिन्स पाइन्ट, सेतो रंगको रिबुक ज्याकेट, छरितो मनी ब्याग, कालो गगल्स टाउकामा सिउरेकी, ठीकै हो ।
सल्लाघारी काटिसक्यो, कुरोको पोयो खुलेको छैन । बोल्न मन छ तर कहाँबाट पैट्याउने ? ‘कति बज्यो ?’ भनेर सोध्ने चलन पनि पुरानो भइसक्यो । धेरै सोचेँ र फ्याट्टै सोधेँ– ‘हजुर कहाँ पुग्ने होला ?’
‘मुडे । अनि हजुर ?’
‘खाडीचौर’ उसलाई पनि कतिखेर बोलौँ जस्तो भइसकेछ नि ।
‘तपाईंको घर नै मुडे हो ?’
‘हो, तपाईंको नि ?’
‘खाडीचौरभन्दा अलि माथि’
यस्तै–यस्तै गफगाफ चलिरह्यो । काठमाडौंमा कहाँ बस्ने, के गर्ने, हँुदाहँुदा घरमा को–को छन्, लभप्रतिको धारणासम्मका कुरो पुगिसकेको थियो बनेपा पुग्दासम्म ।
बनेपामा झरेर मैले एक किलो सुन्तला र पानी किनेँ । उसले भित्रै कुरमुरे किनिछे । अब पो मज्जा हुने भो– सुन्तला खाँदै पिरतीका कुरा । बिन्दास हुने भो यात्रा भनेर रमाएँ ।
धुलिखेलको आरालोमा पुगेपछि पो बढी मस्ती भो । एकपल्ट हावाको झोक्काले उसले कपाल उडाएर मेरो मुखसम्म ल्यायो अनि मैले भनेँ– ‘कत्ति बास्ना आउने कपाल, कुन तेल लगाएको ?’ अनि भनिन्– ‘हजुरलाई त ठट्टा गर्न पनि आउँदो रहेछ ।’
ओरालो र मोडैमोड भएको सडक, छोटो सुपर गाडी पिरिकपिरिक बटारियो । कहिले उसको ज्यान ममाथि, कहिले मेरो ज्यान ऊमाथि । दुवै निदाएको बहानामा बसमा लुट्न पाइने मज्जा लुटिरहेका थियौँ । पाँचखालमा तेल हाल्ने बेलामा पिसाबसिसाब फेरियो, फेरि बसियो, बस बत्तियो– फेरि सुरु भयो गुलिया बैँस मिसिएका गफ, पोटिला सुन्तलाका केस्रासँगै ।
दोलालघाट आइपुग्दासम्म फोन नम्बर आदानप्रदान भइसकेको थियो । यता लागेपछि पूरै निदाएको बहानामा मसँग लेपास्सिएर सुती । मन कुतकुतियो, के गरौँ, कसो गरौँ भयो, पानी पिएँ, रातोतातो भइसकेछु । बाँकी कुरा आफँै बुझ्नुस् है… ।
खाडीचौर पुगेपछि झर्ने बेला आयो । झर्न मनै छैन । कि त उसलाई पनि खाडीचौर बसाउनु पर्‍यो । ‘अब म त झर्न लागेको, यतै बसौँ’ मैले भनेँ । ‘उतैचाहिँ जाउँ न’ उनले भनिन् । ‘भरे सँगै बस्ने हो ?’ मैले सोधेँ । ‘हुन्छ’ भनी अनि म पनि लागेँ मुडेतर्फ नै । खाडीचौर माथिको झनै घुम्ती नै घुम्तीको सडक– झनै बिन्दास । मन फुरुङ थियो सितन भेटियो भनेर ।
मुडे पनि पुगियो, झरियो । बसबाट झरिसकेपछि सँगै एक कप चिया खाइयो । पैसा उसैले तिरी अनि ‘एकै छिन है ?’ भनेर फुत्त बाहिर निस्की । १० मिनेट भइसक्यो, आउँदिन । फोन गर्छु, मोबाइल स्विच अफ छ, एक घन्टा कुरेँ तर अहँ आइन । म एक्लो खाडीचौर आएँ । बेलुका ऊ आपैँmले फोन गरेर भनी– ‘एकछिन गफ गर्नेबित्तिक्कै रात बिताउने सपना देख्ने तपाईं कत्ति वाहियात मान्छे ?’ अनि भनी– ‘केटीलाई साधन मात्रै नसोच्नु होला ।’ यस्तै धेरैधेरै उपदेश दिई । म निथ्रुक्क भिजेँ उसका बाछिटे बोलीले ।

प्रतिक्रिया