सिमेन्टमा प्रतिबोरा पन्ध्र रुपिया छुट

Udayapur-Simentउदयपुर : उदयपुर सिमेन्ट उद्योग जलजलेले गैँडा छाप सिमेन्ट बिक्रीका लागि नयाँ योजना ल्याएको छ । बजार प्रतिस्पर्धामा निजी क्षेत्रबाट उत्पादित सिमेन्टले फड्को मारेपछि बिक्री सुरु भएको दुई दशकपछि नयाँ योजना ल्याएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार चौरसियाले जानकारी दिए ।

मूल्य बढी भएर बिक्री हुन छाडेकाले उपभोक्तालाई सहुलियत दिई बिक्री बढाउन पहिलोपटक बिक्रीमा प्रतिबोरा १५ रुपियाँ छुट दिएको महाप्रबन्धक चौरसियाले बताए । उद्योगले नयाँ योजनाअनुसार संघसंस्थालाई बैंक ग्यारेन्टी भएमा १५ दिनसम्म उधारो दिने व्यवस्था मिलाएको छ । यो योजना फागुन मसान्तसम्मका लागि लागू हुने जनाइएको छ ।
दैनिक छ सय मेट्रिकटन सिमेन्ट उत्पादन हुँदै आएको उद्योगमा प्रशस्त मात्रामा सिमेन्टको स्टक रहेकाले बिक्री बढाउन त्यस्तो योजना ल्याइएको जनाइएको छ । चौरसियाका अनुसार ‘प्रतिबोरा ६ सय ५५ को दरले बिक्री गरिँदै आएको सिमेन्टको नयाँ मूल्य अब ६ सय ४० रुपियाँ तोकिएको छ ।’ यसअघि गैँडा छाप सिमेन्ट उत्पादनभन्दा माग बढी हुँदै आएकोमा उद्योगले वर्षमा तीनपटकसम्म मूल्य वृद्धि गर्दै आएको थियो । पछिल्लो समयमा जिल्लाबाहिरका उपभोक्तालाई गैँडा छाप सिमेन्टभन्दा पनि अन्य सिमेन्ट सस्तो हुने भएपछि बिक्रीमा समस्या उत्पन्न भएको थियो । (सौस)

प्रतिक्रिया