व्यापारका लागि सीमा पुल बाधक

कञ्चनपुर, १० फागुन । पश्चिमी सीमा नाकाको महाकाली नदीमा रहेको वर्षौं पुरानो पुल खुल्ने समय निश्चित नहँुदा कञ्चनपुरको व्यापारिक गतिविधि प्रभावित हँुदै आएको छ ।

पुल खुल्ने समय निश्चित नभएर यस नाकाबाट यहाँको व्यापारिक गतिविधिले व्यापकता पाउन सकेको छैन । यो पुल मात्रै यहाँको एक मात्रै वैधानिक मार्गका रूपमा रहेको छ ।
भारतीय सुरक्षाकर्मीले नेपाली सवारीसाधन र यात्रुलाई चेकजाँचका बहानामा दु:ख दिने र जबर्जस्ती पैसा असुल्ने कार्यले समेत पछिल्लो पाँच वर्षयता यहाँको भारतसँगको व्यापारिक कार्यमा निकै कमी आएको छ ।
भारतबाट फर्कने यात्रुकै भरमा चलेका महेन्द्रनगरका होटलसमेत ग्राहक अभावमा धमाधम बन्द हुने क्रम रहेको छ । भारतीय सुरक्षाकर्मीको व्यवहार र पुलको खुल्ने समय निश्चित भएपछि यात्रुको चापसमेत घटेको कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष पद्मराज अवस्थीले बताए ।
नाका प्रयोग गर्दै पैदलमार्ग भएर आउने पर्यटकको संख्यासमेत तीन वर्षयता एकतिहाइले घट्दै गएको गड्डाचौकी अध्यागमन कार्यालयका प्रमुख रनसिं विष्टले बताए । उनले भने, ‘भारतीय अध्यागमन कार्यालयले भिसाको नाममा पर्यटकलाई दु:ख दिनु, यातायातको भरपर्दो व्यवस्था नहुनु र भारतीय रिक्सा, टाँगा चालकले चर्को भाडा असुल्नेजस्ता कार्यले पर्यटक घट्दै गएका छन् ।’
महेन्द्रनगरबाट भारततर्फ निर्यात हुने समानमा भारतीय भन्सारका कर्मचारीले अनावश्यक शुल्क लगाउने र अवैध भन्दै गाडी नियन्त्रणमा लिएर दु:ख दिने गरेकाले यहाँका व्यापारीले भारतसँग सहज रूपमा व्यापार गर्न नपाएको व्यापारी मदन कडायत बताउँछन् । भारतबाट यहाँ भित्र्याइने तरकारी, सुर्तीजन्य सामग्री, चिनी, मसला, तेल, कपडालगायत सामग्रीमा समेत भारतीय अधिकारीले अवैध रूपमा रकम असुल्ने कार्यले गर्दा यसमा कमी आएको छ ।
ठूला सवारीसाधन गुडाउन निषेध गरिएको पुलमा निश्चित समयमा टाँगा, जिप, मोटरसाइकल र तरकारी बोक्ने साना किसिमका ट्रक मात्रै सञ्चालन हुने गरेका छन् ।
भारतीय अधिकारीका अनुसार पुल बिहान ६ बजेदेखि ७ बजे, अपराह्न १२ बजेदेखि २ बजे र साँझ ५ बजेदेखि ७ बजेसम्म साना सवारीसाधनका लागि खुला गरिँदै आएको छ । साइकल, मोटरसाइकल र पैदलयात्रुका लागि दिनभरि पुल खुला रहने गरेको छ ।
साँझ ७ बजेदेखि रातिको समयमा सुरक्षाका लागि भन्दै भारतीय सुरक्षाकर्मीले पुलको गेटमा ताला लगाएर पुल बन्द गर्ने गरेका छन् । आपतकालीन अवस्थामा एम्बुलेन्सका लागि पुल खोल्ने गरिँदै आएको भए पनि भारतीय सुरक्षाकर्मीले हाल राति ८ बजेदेखि नै एम्बुलेन्सलाई समेत पुलमा जान दिने गरेको छैन ।
पुल पुरानो भएको दर्शाउँदै ठूला मालवाहक सवारीसाधन पुल भएर लान भने भारतीय सुरक्षाकर्मीले निषेध गरेका छन् । भारतबाट मेसिनरी, सिमेन्ट, फलामे छड र अन्य कारोबारका लागि अन्य नाका कुर्नुपर्ने यहाँका व्यापारीका लागि बाध्यता छ ।
भारतबाट सुदूरपश्चिम क्षेत्र प्रवेश गर्ने चारवटा प्रवेशमार्ग मात्रै वैधानिक छन् । दुवै देशका नागरिकको व्यापारिक कारोबारका लागि दार्चुलाको धार्चुला र गन्जी, कञ्चनपुरको वनवासा, कैलालीको त्रिनगर र बैतडीको झुलाघाट नाका मात्रै वैधानिक हुन् ।
सीमा क्षेत्रका चारवटै नाकाका पुलमा साँझ ७ बजेपछि ताला लगाइने गरिएको छ । नाकामा निर्वाध व्यापारिक कारोबारका लागि यहाँका व्यापारीले कूटनीतिक र स्थानीयस्तरबा ट पहल गर्दै आए पनि भारतीय सुरक्षाकर्मीले दिने हैरानी र पुल खुल्ने समय बढाउनेबारे चासो दिएको छैन ।

प्रतिक्रिया