न्यूनतम ज्यालाका लागि श्रमिक परिचालन

काठमाडौं : नेपाल ट्रेड युनियन महासंघ जिफन्टले १ वैशाख ०७० देखि न्यूनतम ज्यालाको मापदण्ड लागू कायम गराउन श्रमिक परिचालन गर्ने भएको छ । जिफन्टको हालै सम्पन्न राष्ट्रिय कमिटीको ७८औँ बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गरेका निर्णय सार्वजनिक गर्न राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जिफन्टका महासचिव उमेश उपाध्यायले उद्यमी/व्यवसायी सामूहिक सौदावाजीमार्फत एकैचोटि ज्याला वृद्धि गर्न तयार भए न्यूनतम पारिश्रमिकमा पुनरावलोकनका लागि तयार रहने तर राज्य र व्यवसायी चैत मसान्तभित्र देशभरि एकैपल्ट आधिकारिक ट्रेड युनियनको चुनाव गराउन सहमत नभए दैनिक ज्याला र न्यूनतम ज्याला सुविधामा देशव्यापी वृद्धिका लागि श्रमिक परिचालन गरिने बताए ।
श्रम विवादमा श्रमिकलाई सहयोग पुर्‍याउन श्रम विषयका कानुन व्यवसायीको राष्ट्रिय सञ्जाल निर्माण गर्न पहल गर्ने निर्णय भएको जानकारी उनले दिए । जिफन्ट बैठकले आगामी बजेट घोषणाको अवधिभित्रै प्रस्तावित सामाजिक सुरक्षा स्किम लागू गराउन संयुक्त रूपमा ट्रेड युनियन परिचालन गर्ने निर्णय पनि गरेको छ । बैठकबाट नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर युनियन र नेपाल स्वतन्त्र कार्पेट मजदुर युनियन एकीकरण भई नेपाल जुट–गार्मेन्ट–कार्पेट–टेक्सटायल मजदुर युनियन गठन भएको छ । अन्य केही मजदुर युनियनसमेत एकीकृत हुने तयारी भइरहेको बताइएको छ ।
जिफन्ट बैठकले रुग्ण उद्योगमा कार्यरत श्रमिक हितका विषय र अन्य कतिपय उद्योग सेवाका क्षेत्रमा लामो समयदेखि जटिल श्रम विवाद तत्काल समाधान गर्न राज्य र रोजगारदातासँग माग गरेको छ । विशेष गरी जनकपुर चुरोट कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, थाई एयरवेजलगायत समस्या समाधान गर्न सरकार, श्रम प्रशासन र अर्थ मन्त्रालयलगायत जिम्मेवार निकाय उदासीन रहेको जिफन्टको भनाइ छ । मलेसिया र कतारमा काम गर्ने नेपाली श्रमिकको पारिश्रमिक वृद्धि भएको स्वागत गर्दै जिफन्टले लेबी श्रमिकको न्यूनतम पारिश्रमिकबाट कट्टा गर्ने सूचनाप्रति बैठकको ध्यानाकर्षण भएको बताएको छ । लेबी न्यूनतम पारिश्रमिकबाट कट्टा नहुनेतर्फ मलेसिया सरकारसँग कूटनीतिक पहल गर्न जिफन्टले सरकारसँग आग्रह गरेको छ ।
बढेको पारिश्रमिक दृढतापूर्वक लागू गर्न र सोभन्दा कम मूल्यमा नेपाली श्रमिकको डिमान्ड लेटर स्वीकार नगर्न जिफन्टले सरकारसँग आग्रह गरेको छ । न्यूनतम पारिश्रमिक वृद्धिबाट कूटनीतिक रूपमा कुनै असर नपर्ने पनि जिफन्टले स्पष्ट पारेको छ ।

प्रतिक्रिया