लोक्ताबाट करोडौ आम्दानी

Loktaइलाम : नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताको खेती फस्टाउन थालेपछि किसानले करोडौँ रुपियाँ आम्दानी गरेका छन् ।

यो वर्ष जिल्लाका किसानले लोक्ता बिक्री गरी एक करोड ५० लाख ६२ हजार रुपियाँ आम्दानी गरेका हुन् । जिल्लाका किसानले दुई सय १५ टन लोक्ता बिक्री गरी सो परिमाणको आम्दानी लिन सफल भएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका संयोजक धनबहादुर खाम्दाकले बताए । उनीहरूले यो वर्ष सामान्य लोक्ता प्रतिकिलो ७० र राम्रो गुणस्तरको प्रतिकिलो तीन सय ६० रुपियाँसम्म बिक्री गरेका थिए ।
माई मझुवाका किसान जितबहादुर राईले लोक्ताबाट मात्र वार्षिक एक लाख ६० हजार रुपियाँ आर्जन गरेको बताए । उनले साढे तीन क्विन्टल लोक्ता उत्पादन गरेका थिए । यहाँका किसानले सिजनमा एकदेखि २० मनसम्म सुख्खा लोक्ता उत्पादन गरी बिक्री गर्ने गरेको पुवामझुवाका किसान डिकबहादुर वान्तवा बताउँछन् ।
लोक्ता बिक्रीबाट एकैजनाले छ हजारदेखि तीनलाख रुपियाँसम्म आम्दानी लिने गरेको बान्तवा बताउँछन् । ‘घरैमा व्यापारी आउने गरेकाले बिक्री गर्न बजारसम्म पुर्‍याउनुपर्ने झन्झट पर्दैन ।’ कागजका लागि उत्तम मानिने लोक्ता अर्गेलीको बोट समयानुसार काटेर तयार गरिन्छ । एकपटक काटेको अर्गेली फेरि काट्न कम्तीमा तीन वर्ष पर्खिनु पर्छ । तीन वर्षमा काटिएको रुखबाट कम्तीमा १० देखि ३० किलोसम्म सुख्खा लोक्ता उत्पादन हुन्छ ।
जिल्लाको उत्तरी क्षेत्रका पुवामझुवा, माईपोखरी, चमैता, माबु, माईमझुवा, नयाँबजार, साँखेजुङ, शान्तिडाँडा, जोगमाई, प्याङ, गोर्खे, जमुना, सुलुबुङ, सुम्बेकलगायत १० हजार किसानले व्यावसायिक अर्गेली खेती गर्दै आएका छन् । यहाँ उत्पादित लोक्ता व्यापारीले मेची राजमार्गसम्म ट्याक्टरमामा र त्यहाँबाट ठूला ट्रकमा हालेर विभिन्न ठाउँको कागज कारखानासम्म पुर्‍याउने गर्छन् । (सौस)

प्रतिक्रिया