उपत्यकाबाहिर पनि मोबाइल बिटिएस

Nepal-Telicom-btsकाठमाडौं, ८ फागुन । नेपाल टेलिकमले उपत्यकाबाहिर पनि मोबाइल बिटिएस भेइकल सञ्चालन गर्ने भएको छ । कम्पनीले विराटनगर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा यस्तो भेइकल सञ्चालन गर्न लागेको हो ।

उपत्यकाबाहिर बिटिएस भेइकल सञ्चालन गर्न यसको सप्लायर्स एएलटी इन्टरकर्पोरेसन कम्पनीले गत महिना टेलिकमका ३४ जना प्राविधिक कर्मचारीलाई तालिम दिइसकेको छ । तालिमका लागि कम्पनीका म्यानेजर किट्टी काइवासारी नेपाल आएका थिए ।
टेलिकमले दोस्रो चरणमा उपत्यकाबाहिर मोबाइल बिटिएस सञ्चालन गर्न लागेको हो । अहिले उपत्यकामा तीनवटा यस्ता बिटिएस सञ्चालनमा छन् । उपभाक्ताको अनपेक्षित जमघट हुने स्थानमा पनि जिएसएम तथा सिडिएमए मोबाइल सेवाको गुणस्तरलाई निरन्तरता दिन तथा ती सेवाको प्रणालीमा स्तरोन्नति गर्दाको समयमा सेवाको गुणस्तर खस्कन नदिन भन्दै गत वर्षदेखि कम्पनीले मोबाइल बिटिएस सञ्चालनमा ल्याएको थियो । बिटिएस भेइकलको प्रयोगबाट मोबाइल तथा सिडिएमए सेवाको गुणस्तरमा थप सुधार भएको दाबी कम्पनिको छ ।
उपत्यकाबाहिरका लागि थाइल्यान्डबाट बिटिएस भेइकल आयात गरिसकिएको टेलिकमले जनाएको छ । यसमध्ये चारवटा उच्च क्षमताका र ६ वटा न्यून क्षमताका छन् । एउटा बिटिएस भेइकलको मूल्य करिब साढे दुई करोड रुपियाँ पर्ने बताइएको छ । मोबाइल सेवा निर्देशनालयका प्रबन्धक विष्णु ढकालका अनुसार अहिले यी भेइकलमा जिएसएम तथा सिडिएमएका बिटिएस उपकरण जडान भइरहेको छ । झट्ट हेर्दा क्रेन जस्तो देखिने मोबाइल बिटिएस भ्यानमा टावरलाई फोल्ड गरेर राखिएको हुन्छ । मोबाइल टेलिफोनले काम नगरेको ठाउँमा लगेपछि अग्लो बनाएर राखिन्छ जसले गर्दा वरिपरि रहेकाले सजिलै कुराकानी गर्न सक्छन् ।
टेलिकमले किन्न लागेको सिस्टमसहितको बिटिएस भेइकल प्राकृतिक प्रकोपको अवस्थामा पनि परिचालन गर्न सकिन्छ । यसमा रहने सिस्टमले गर्दा प्राकृतिक प्रकोपको अवस्थामा पनि डाटा नष्ट नहुनेगरी गाडीमै राखिन्छन् । यसबाट भुइँचालो गएमा वा आगलागी भएको अवस्थामा पनि मोबाइल टेलिफोन पुर्णरूपमा बन्द हुँदैन ।

प्रतिक्रिया