अश्लीलताको सहारा

sushma_karkiचर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ । खासगरी हलिउड र बलिउडमा देखिने यस्तो ‘ट्रेन्ड’ पछिल्लो समय कलिउडमा भित्रिएको छ । फिल्मी क्षेत्रमा आफ्नो राप र ताप सेलाउन नदिन ग्ल्यामरका नाममा अश्लीलताको सहारा लिने र सेक्स तथा बेड सिनमा रमाउने नायिकाले चौतर्फी चर्चा बटुल्न थालेको अवस्था अहिले विद्यमान छ ।

फिल्म रक्षामा उदारतापूर्वक अंग प्रदर्शन गरेकाले नायिका पुजना प्रधान अहिले चर्चामा छिन् । कथाले मागेभन्दा बढी दिनेसम्मकी उदार उनले फिल्ममा कपडा फुकालेकी छन् । नायक अशोक फुयालसँग उनको एउटा ‘हट बेड सिन’ छ । यसलाई नेपाली फिल्म क्षेत्रको अहिलेसम्मकै ‘हट सिन’ भनेर प्रचार गरिएको छ । फिल्म हिरोबाट अभिनयक्षेत्रमा प्रवेश गरेकी पुजनाले तिर्खा, पापी मान्छे, श्रीमान्लगायत आधादर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । अभिनयबाट ग्ल्यामर क्षेत्रमा छाप छोड्न नसकेपछि उनले अश्लीलताको साहारा लिइन् । पुजनाको अश्लीलताको सुरुआत भने यसअघि नै भइसकेको थियो । केही वर्षअघि तिर्खा चलचित्रमा उनले अश्लील दृश्य दिएकी थिइन् । तर, विविध कारणले गर्दा यसले पर्याप्त चर्चा बटुल्न सकेन । एभरेस्ट क्यासिनोमा नाच्दानाच्दै साइबर संसारबाट टुपिस फोटो सार्वजनिक गरेर पाएको चर्चाले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएको थियो । तर, उनी भने आफूले अश्लीलता प्रदर्शन नगरेको र कथाले मागेजति ग्ल्यामर पस्किएको दाबी गर्छिन् ।
त्यसो त लुटमा आइटम डान्स गरेर चर्चामा छाएकी नायिका सुष्मा कार्की पनि अश्लीलताको उपयोग गर्न खप्पिस छिन् । चलचित्र बिन्दासमा उनले उत्तेजक दृश्य दिएकी छन् । चलचित्र प्रचारका क्रममा उनको सो दृश्यको भरपुर उपयोग गरियो र यही सिनले दर्शकलाई हलसम्म लतार्यो पनि । बिन्दासका अश्लील दृश्यको चर्चा सेलाउन नपाउँदै उनले हालै छायांकन सकिएको नोटबुकको आइटम गीतमा अश्लील नृत्य प्रस्तुत गरेकी छन् । नृत्य यतिसम्म अश्लील थियो कि सुष्माका प्रेमीले छायंकनमै अवरोध पुर्‍याउन खोजेका थिए । अहिले उनीसामु एक पछि अर्काे चलचित्र प्रस्तावको ओइरो लाग्न थालेको छ । दुलही मार्फत अभिनयमा प्रवेश गरेकी नायिका सुमिनाले दर्जनको हाराहारीमा चलचित्र अभिनय गरिसकेकी छन् । तर, कुनै चलचित्रमा पनि उनले अभिनयमार्फत कमाल देखाउन सकेकी छैनन् । पछिल्लोसमय उनी चलचित्र स्टारको ‘चोली भित्र के छ’ गीतमा भड्किलो रूपमा प्रस्तुत भएकी छन् । अश्लील दृश्य भरमार भएको सुमिनाको यो एक मात्र चलचित्र होइन । यसअघि उनले तिम्रो लागिमा दिव्येश्वर गौतमसँग बेडसिन दिएकी थिइन् ।
अश्लीलतालाई सहारा बनाउने नायिकामा जिया केसी, सविना कार्की र विनिता बराल पनि पर्छन् । निर्देशक दीपक श्रेष्ठको कृपाले जिया चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । निर्देशक श्रेष्ठसँग जोडिएको उनको नाम अहिले भुवन केसीसँग जोडिएको छ । निर्देशकको साथ पनि छुट्नु र अभिनय गरेको चलचित्रले सफलता पनि हात नपार्नु जियाका लागि ठूलो विडम्बना बनेको छ । त्यसैले उनी एटिएममा अश्लील ढंगले प्रस्तुत भइन् । चलचित्रले उनलाई चर्चा त दिलायो, साथै ‘ब्लू फिल्म’मा अभिनय गरेको भन्ने अतिरञ्जित आरोप पनि उनीमाथि लाग्यो । निर्देशक शोभित बस्नेतको चलचित्र दुलही रानीबाट अभिनयमा प्रवेश गरेकी सविनाले यसबाट खासै चर्चा पनि कमाउन सकिनन् । त्यसैले उनको दाउ कसरी चर्चा कमाउने भन्ने थियो । त्यसैले नजिकका पत्रकारमार्फत सिफारिस गराएर उनले एटिएम हात पारिन् र अश्लीलतामा उत्रिइन् । एटिएमले उनलाई सोचेभन्दा बढी चर्चा दिलायो । नायक दिनेश थापालाई फिल्मी सिनमा आफ्नो छाती मस्तसँग चलाउन उनले विनाहिचकिचाहट छोडिदिइन्, जुन सिनमाथि सेन्सर बोर्डले कैँची लगायो ।
विनिता बरालको चपली हाइट पनि अश्लील सिनमा कम थिएन । चलचित्र उनको अश्लील सिनका कारण सफल पनि भयो । अश्लील सिनबाट चर्चा बटुल्न सफल भएपछि उनको हातमा अर्काे चलचित्र पर्‍यो– फुलस्टप । तर, यसमा उनले न अभिनय क्षमता देखाउन सकिन् न त ग्ल्यामर नै । फुलस्टपपछि उनले कुनै चलचित्र हात पारिनन्, फुलस्टपले उनको अभिनयमा फुलस्टप नै लगायो । अहिले उनी चपली हाइटमा भन्दा पनि बढी अश्लील दृश्य दिएर चर्चामा आउने दाउमा छिन् ।
सोनिया केसी, शशि खड्का, सुजाता सिटौला, अरुणीमा लामा आदिलाई पनि यसै कोटीका अभिनेत्री मान्न सकिन्छ । ‘हट किस सिन’ दिएर सोनिया सिलसिलामार्फत फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यही सिनका कारण चलचित्र सफल पनि भयो । त्यसपछि उनले अन्य फिल्ममा पनि हट सिन दिइन्, तर कुनैले पनि गतिलो छाप छोड्न सकेनन् । नायिका सुजाताले चलचित्र पलपलमामा अश्लील छवि देखाइन्, जसकारण चलचित्र सफल पनि भयो । चलचित्र निर्माण युनिटसँग विवाद बढेपछि उनको भागमा अर्को चलचित्र आएन । पलपलमै अश्लील दृश्य दिएर चर्चामा आएकी अर्की नायिका हुन्, शशि खड्का । सानै उमेरमा हदैसम्मको अश्लील सिन दिएको भन्दै उनले चर्चा बटुलिन् । त्यसपछि उनले चन्द्रावतीमा अभिनय गरिन् । चन्द्रावती पनि अश्लील दृश्यकै कारण चर्चामा छ ।
पहिलो चलचित्रमै अश्लीलतामा उत्रिएकी अर्की नायिका हुन्, सोनिया शर्मा । उनले पनि एटिएममा एक से एक अश्लील दृश्य दिएकी छन् । पहिलो चलचित्र भएकाले पनि हुनसक्छ, अंग प्रदर्शनको सवालमा उनी अन्य दुई नायिकाभन्दा ‘फरवार्ड’ देखिएकी छन् ।
नायिकाहरूको यस्तो प्रवृत्तिबारे निर्माता संघका अध्यक्ष राजकुमार राई भन्छन्, ‘कथाले मागोस्/ नमागोस्, ग्ल्यामरका नाममा अश्लीलता प्रदर्शन गर्दै चर्चा बटुल्ने ट्रेन्ड बढेको छ । फिल्मी क्षेत्रमा टिक्न र बिक्न यसले उनीहरूलाई मद्दत गरेको छ ।’ निर्देशक मदन घिमिरेका अनुसार अश्लील दृश्यले जम्न नसकेका नायिकालाई रातारात चर्चामा पुर्‍याएर एकपछि अर्को चलचित्र दिलाउन मद्दत पुर्‍याएको छ ।

प्रतिक्रिया