पर्यटक–पाहुना

tourismअसल मुंग्रे केरा कि त मही हवस् बेस अमिलो
कि त सेता मूला कि त बरु हवस् साग उसको ।
असल हुन्थ्यो धुपमा नतर कसरी खानु यसरी
भुटी ल्यायौ थालमा मकइ तिमीले क्यान यसरी ।।

करिब एक सय ६० वर्षअगाडि आदिकवि भानुभक्त आचार्यले कतै घुम्न गएको बेला एउटा घरमा भुटेको मकै खान दिँदा यो श्लोक रचेका रहेछन् । काम विशेषले वा यत्तिकै घुम्न जाँदा नचिनेका मानिसका घरमा पाहुना लाग्ने नेपाली चलन पुरानै हो । साँझका पाहुना देउता समान हुन्छन् भन्ने हाम्रो सांस्कृतिक मान्यतालाई संसारमै उत्कृष्ट मानिन्छ ।
विशेषगरी ०५२ अघिसम्म नेपालका अधिकांश ठाउँमा जो जुन घरको दैलोमा पुगे पनि स्वागत पाउँथ्यो । घरबेटीको आत्मीय व्यवहार पाउँथ्यो । तर, माओवादी र राज्यको द्वन्द्व सुरु भएपछि यो संस्कार नै संकटमा पर्‍यो । कसैको घरमा पाहुना लाग्नु वा बास माग्नु असम्भवजस्तै भयो ।
द्वन्द्वको अन्त्यपछि बन्द भएका दैला अतिथि र आतिथ्यताका लागि पुन: खुल्न थालेका छन् । आफ्नो दैलोमा पाहुनाको स्वागत गर्न वर्तमान पुस्बता जुर्मुराएको छ । तर, फरक के छ भने पाहुना अब पर्यटक भएका छन्, आन्तरिक पर्यटक । गोरो छालालाई मात्र पर्यटक मान्ने धारणा कम गर्न अबको पुस्ता लागिपरेको छ । केचनाका नेपालीले पनि पर्यटक बनेर कालापानीको भ्रमण गर्न थालेका छन् । आफ्नै नागरिकलाई पराइ ठान्नुपर्ने अवस्थाको अन्त्य भएपछि आन्तरिक पर्यटकलाई स्वागत गर्न गाउँबासी आतुर छन् ।
पर्यटकका लागि गाउँ–गाउँमा पूर्वाधार बन्न थालेका छन् र त्यसमा स्थानीय जनताको सक्रियता बढेको छ । जिल्ला–जिल्ला र गाउँ–गाउँमा पर्यटन विकास समिति गठन हुने क्रम बढ्न थालेको छ । गाउँहरू पर्यटकमैत्री बन्न थालेका छन् ।
आफू बसेकै घरलाई पर्यटकीय प्रयोजनमा लगाएर केही आम्दानी गर्ने उद्देश्यसहित देशैभर होमस्टेको लहर चलेको छ । यसले पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाएको छ । होमस्टेका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निश्चित मापदण्ड तोकेको छ । यसअनुसार सफा ओढ्ने/ओछ्याउने, पलङ, कुर्सी, टेबुल, डाइनिङ आदिको बन्दोबस्त गरेर आफ्नै घरमा होमस्टे चलाउन सकिन्छ । होमस्टेले गाउँघरमा पर्यटन पूर्वाधार बढाउनुका साथै स्थानीय रोजगारी, अर्थतन्त्र, कृषि र उद्यमलाई प्रवद्र्धन गर्ने तथा तथा नेपाली घरपरिवार, रहन–सहन, खानपान र आतिथ्यलाई चिनाउनुका साथै सांस्कृतिक, साहसिक, पर्यावरणीय आदि विभिन्न पर्यटकीय क्रियाकलापलाई एकै ठाउँमा जोड्न सक्छ । होमस्टेसँगै पर्यटकले स्थानीय संस्कृतिको आनन्द लिन सक्छन् । यसबाट आन्तरिक पर्यटक आकर्षित हुने सम्भावना त छ नै स्थानीयलाई पनि फाइदा पुगेको छ ।
त्यसो त सन् १९९८ मा मनाइएको नेपाल भ्रमण वर्षदेखि नै आन्तरिक पर्यटनको लहर सुरु भएको थियो । विदेशी पर्यटकको गाइड, पोर्टरभन्दा भिन्दै घुम्नकै लागि निस्कने नेपाली पनि बढेका थिए । देशैभर भएका महोत्सवले पनि आन्तरिक पर्यटनलाई सघाएका थिए । तर, द्वन्द्वसँगै आन्तरिक पर्यटकको चहलपहल स्वात्तै घट्यो ।
सबैभन्दा पहिले नेपालीले नै आफ्नो देश चिन्नुपर्छ, त्यसपछि मात्र अरूलाई चिनाउन सकिन्छ । विदेशीको मात्र भर परेर मात्र पर्यटन विकास हुँदैन’ भन्ने तथ्य बुझ्न थालेका छन् पर्यटन व्यवसायीले पनि । त्यसैले त उनीहरू आन्तरिक पर्यटक बढाउन लागिपरेका छन् । आन्तरिक पर्यटकलाई नै लक्षित गरेर प्याकेज बन्न थालेका छन् ।
पर्यटनको अवधारणा नआइसकेको भए पनि एक ठाउँका मानिस अर्को ठाउँमा जाने निकै पुरानो चलन हो । खुम्बुका बासिन्दा जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराई झर्थे । त्यस्तै, तराईका मानिस पनि व्यापारका लागि पहाड चढ्थे । रेस्टुरेन्टमा गएर खाने सहरिया जमात गाउँको संस्कृतिमा रमाउन होमस्टे बस्न चाहन्छ । संस्कृतिको पनि व्यवसायीकरण हुनथालेको छ ।
पाहुना देउता हुन् उनीहरूसँग पैसा लिनुहँुदैन भनेर आन्तरिक पर्यटन हँुदैन । पर्यटन सित्तैमा हुने कुरा होइन । कुनै आन्तरिक पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न चितवनमा हजाराँै खर्च गर्ने पर्यटकले गोरखाका मगरको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ ।
पर्यटक भएर कुनै ठाउँमा पुग्नु त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो । घुम्न चाहने आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्न र आन्तरिक पर्यटन व्यवसाय गरेर पनि आम्दानी गर्न सकिन्छ भनेर बुझाउन अझै बाँकी छ । यसका लागि पर्याप्त प्रचार–प्रसारको खाँचो छ ।
पर्यटनमैत्री वातावरण बनाउने दिशामा होटल तथा आतिथ्य सत्कार क्षेत्रको गुणस्तरीय भौतिक पूर्वाधार तथा व्यवस्थापकीय क्षमताले पनि महत्त्वपूर्ण भूमिका खेल्छ । सँगसँगै ग्रामीण क्षेत्रमा स्थानीयको सक्रियता पनि आवश्यक छ । आतिथ्यता नेपालीको विशेषता हो । यसैलाई मन पराएर विदेशी आउँछन् । एक अनौपचारिक तथ्यांकअनुसार ७० प्रतिशतभन्दा बढी विदेशी पर्यटक नेपालको आतिथ्यता मन पराएर पुन: नेपाल घुम्न आउँछन् ।

प्रतिक्रिया