साना जलविद्युत्मा मापदण्डको निर्देशन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले साना जलविद्युत् आयोजनालाई लिजमा दिनका लागि मापदण्ड बनाउन प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ ।

प्राधिकरणको आइतबार बसेको बैठकले साना जलविद्युत् आयोजनालाई लिजमा दिन सकिने निर्णय गर्दै त्यसका लागि निश्चित मापदण्ड बनाउन निर्देशन दिएको हो । प्राधिकरणले बनाएका २२ साना जलविद्युत् आयोजनामध्ये मर्मत, सम्भार तथा जीर्णोद्धार गर्न नसक्दा आधा बन्द अवस्थामा छन् । क्षमताको आधारमा उत्पादन कम तथा मर्मत, सम्भार र सञ्चालन खर्चबापत वर्षको करिब १० करोड रुपियाँभन्दा बढी घाटामा छन् । विगत ५ वर्षदेखि साना जलविद्युत् आयोजनालाई समुदायमा वा कुनै निजी क्षेत्रलाई लिजमा दिने प्रक्रिया अघि बढाइए पनि अझै पूरा भएको छैन । हालसम्म ती आयोजना कसरी दिने भनेर प्राधिकरणले मापदण्ड बनाउन सकेको छैन ।
आइतबारको बैठकमा भने प्राधिकरण सञ्चालक समितिले त्यसका लागि लिजको मापदण्ड बनाउनका लागि प्राधिकरण व्यवस्थापनलाई जिम्मा दिएको हो । लिजमा दिएर प्राधिकरणले ती आयोजनाबाट उत्पादित बिजुली किन्ने जनाएको छ । बाग्लुङ, अछाम, बैतडी, रामेछाप, ओखलढुंगा, तेह्रथुम, डोटी लगायतका जिल्लामा यस्ता साना जलविद्युत् आयोजना छन् । कतिपय आयोजना बन्द भइसके पनि यसबारे प्राधिकरणले स्पष्ट निर्णय गर्दा प्राधिकरणले त्यहाँ कार्यरत कर्मचारीलाई भने पाल्नुपर्ने अवस्था छ ।
त्यसैगरी प्राधिकरण सञ्चालक समितिले सोलु कोरिडोरको प्रसारण लाइन निर्माणको प्रस्तावबारे छलफल गर्न प्राधिकरण सञ्चालकद्वय डम्बरबहादुर नेपाली र मोहनराज पन्तसहित रहेको समिति गठन गरिएको छ ।

प्रतिक्रिया