सेयरमा दोहोरो अंकले वृद्धि

काठमाडौं, ७ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा सहमतीय सरकार बन्ने संकेतसँगै सेयर बजार माथि लागेको छ । आइतबार सेयर बजारमापक नेप्से परिसूचक २५ दशमलव ७३ अंकले माथि चढेर ५ सय ५५ दशमलव ९३ विन्दुमा बन्द भयो । करिब सवा १ बजेसम्ममा ३ पटक सर्किट ब्रेकर लागेर ५ प्रतिशतले नेप्से परिसूचक बढेपछि बाँकी समयको लागि कारोबार नै बन्द गर्नुपरेको थियो ।

पहिलोपटक नेप्से तीन प्रतिशतभन्दा बढीले वृद्धि भएपछि कारोबार बन्द भयो । १५ मिनेटको कारोबार स्थगनपछि कारोबार सुचारु गरिएकोमा ४ प्रतिशतले बढेपछि पुन: आधा घन्टाको लागि कारोबार रोकियो । त्यसपछि सुरु भएको कारोबार पनि ५ प्रतिशतले बढेपछि दिनभरिको लागि बन्द गरिएको हो । आइतबार प्रतिशतका आधारमा सबैभन्दा बढी ग्लोबल बैंकको सेयर मूल्य बढेको छ । त्यस्तै अन्य १२ कम्पनीको सेयर मूल्य मात्रै नौ प्रतिशतभन्दा बढीले बढेको छ ।
चिलिमे हाइड्रो, बैंक अफ काठमाडौं, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश, प्राइम कमसिर्यल बैंक, जनता बैंक नेपाल, लुम्बिनी बैंक, नबिल बैंक, कृषि विकास बैंकको सेयर नौ प्रतिशतभन्दा बढीले बढेको हो ।
आइतबार बैंकिङ समूहको सूचक ३६ दशमलव ५८ अंकले माथि चढेको छ भने जलविद्युुत् समूहको सूचक ६० दशमलव २७ अंक, इन्सुरेन्स समूह २१ दशमलव ८९ अंक र अन्य समूह १४ अंकले माथि कारोबार भएको छ । नबिल बैंकको सेयर प्रतिकित्ता १ सय ४१ रुपियाँँले बढेपछि १८ सय ९० रुपियाँँमा कारोबार भयो भने एभरेस्ट बैंकको १ सय १८ रुपियाँँले बढेर १५ सय ६९ मा कारोबार भयो । स्ट्यान्डर्ड चार्टड बैंकको सेयर ७८ रुपियाँँले बढेर २ हजार ३० रुपियाँमा कारोबार बन्द भयो । केही दिनदेखि लगातार बढेको नेपाल लाइफ इन्सुरेन्सको सेयरसमेत ८० रुपियाँले बढेर २१ सय १० मा कारोबार भयो । चिलिमेको सेयर ८८ रुपियाँले बढेर १२ सय १५ मा कारोबार भयो ।

कर्जा नउठेपछि वित्तीय संस्था घाटामा

काठमाडौं : चालु आर्थिक वर्षको पुस मसान्तमा २० वटा बैंक तथा वित्तीय संस्था घाटामा गएका छन् । घरजग्गा तथा सेयरमा लगानी गरेका यी संस्थाले ऋण उठाउन नसक्दा घाटामा गएका हुन् । घाटामा सञ्चालन भएका दुई दर्जन बैंकको कुल नोक्सानी रकम एक अर्ब दुई करोड ३० लाख रुपियाँ छ । घाटामा जानेमा एउटा वाणिज्य बैंक, सात विकास बैंक र १२ फाइनान्स कम्पनी छन् । वाणिज्य बैंकमा किस्ट बैंक घाटामा छ ।
विकास बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एनडिइपी डेभलपमेन्ट बैंक, भिबोर विकास बैंक, विजिनेस युनिभर्सल डेभलपमेन्ट बैंक, शुभेच्छा विकास बैंक र सुप्रिम डेभलपमेन्ट बैंक छन् । फाइनान्स कम्पनीमा पाटन फाइनान्स, नेपाल आवास, प्रोग्रेसिभ, इम्पेरियल, सिनर्जी, युनियन, नेपाल, एनआइडिसी क्यापिटल मार्केट्स्, प्रुडेन्सियल, प्रिमियर, काठमाडौं र अरुण घाटामा छन् । घाटामा गएका कम्पनीमा सर्वसाधारणको ५२ अर्ब १३ करोड रुपियाँ निक्षेप छ । यसमध्ये सबैभन्दा ठूलो निक्षेप किस्ट बैंकमा छ । किस्टमा सर्वसाधारणको २० अर्ब ९८ करोड रुपियाँ निक्षेप छ । घाटामा गएका वित्तीय संस्थामध्ये १५ वटाको खराब कर्जा अनुपात पाँच प्रतिशतभन्दा माथि छ ।
घाटामा गए पनि नेपाल आवास, इम्पेरियल, विजिनेस युनिभर्सल, प्रिमियर र काठमाडौं फाइनान्सको खराब कर्जा ५ प्रतिशतभन्दा कम छ । खराब कर्जा ५ प्रतिशतभन्दा बढी भएमा राष्ट्र बैंकले कारबाही गर्छ । राष्ट्र बैंकले सीमाभन्दा बढी खराब कर्जा भएका संस्थालाई लाभांश वितरणमा रोकदेखि शाखा विस्तार गर्न प्रतिबन्ध लगाउनसक्ने प्रावधान छ । यसबाहेक निक्षेप तथा कर्जा विस्तार गर्न रोक लगाउँदै समस्याग्रस्त घोषणा गर्नेसम्मको कारोबार गर्न सक्छ । घाटामा गएका संस्थाले ऋण नउठेपछि एक अर्ब ५१ करोड ५४ लाख रुपियाँ नोक्सानी व्यवस्थामा राखेका छन् ।

प्रतिक्रिया