सहमतिको आसले सेयरमा सुधार

काठामाडौं, ६ फागुन । राजनीतिक सहमति बन्ने समाचार सार्वजनिक भएपछि गत साता सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । गत साता १५ दशमलव ४३ अंकले वृद्धि भएर समग्र सेयर बजारमापक नेप्से परिसूचक १५ दशमलव ४३ अंकले वृद्धि भएर पाँच सय ३० विन्दुमा पुगेको छ ।

गत साता एक सय १६ कम्पनीको पाँच हजार एक सय ९० कारोबारमा ५५ करोड २७ लाख १६ हजार रुपियाँ बराबरको १७ लाख २० हजार चार सय २३ कित्ता सेयर खरिद बिक्री भएका छन् । अघिल्लो साता भने एक सय २० कम्पनीको पाँच हजार एक सय आठ कारोबारबाट ४४ करोड ४८ लाख ४९ हजार रुपियाँ बराबरको १५ लाख ६८ हजार दुई सय १३ कित्ता सेयर खरिद बिक्री भएका थिए । कारोबार रकममा गत साताका तुलनामा २४ दशमलव २५ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र २६ करोड ४२ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४७ दशमलव ८२ प्रतिशत हो ।
कुल कारोबारमध्ये सबैभन्दा बढी जलविद्युत् समूहको ३० दशमलव २६ प्रतिशतले र सबैभन्दा कम विकास बैंक समूहको एक दशमलव ४८ विन्दुले घटेको हो । गत साता कारोबार रकमको आधारमा सबैभन्दा बढी एनआइडिसी क्यापिटल मार्केटसको सात करोड सात लाख रुपियाँको कारोबार भएको थियो । नेपाल बंगलादेश बैंकको ६ करोड ५३ लाख रुपियाँ, एभरेस्ट बैंकको तीन करोड ६९ लाख रुपियाँ, नबिल बैंकको तीन करोड ५४ लाख रुपियाँ र बैंक अफ काठमाडौंको तीन करोड ४५ लाख रुपियाँको कारोबार भएको थियो । त्यस्तै कारोबार भएको सेयर संख्याको आधारमा पनि एनआइडिसी क्यापिटल मार्केट्स नै अगाडि रहेका छन् । संस्थाको चार लाख ६८ हजार पाँच सय ४५ कित्ता सेयर कारोबार भएको थियो । सबैभन्दा बढी कारोबार भएको कम्पनीमा भने नेपाल बंगलादेश बैंक अगाडि छन् । यस बैंकको तीन सय ३७ पटक कारोबार भएको थियो ।

प्रतिक्रिया