भक्तपुरका तीन दर्जन सहकारी खारेज

भक्तपुर, ६ फागुन । डिभिजन सहकारी कार्यलय भक्तपुरले सहकारीको नियमविपरीत कार्य गरेको भन्दै तीन दर्जन सहकारी संस्थालाई खारेज गरेको छ । समयमै साधरणसभा नगरेका, लेखापरीक्षण नगराएका, संस्थाको विधानविपरीत कार्यक्षेत्रमा लगानी गरेलगायत विषयमा कारबाही गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार डिभिजनले पत्राचार गर्दा पनि सम्पर्कमा नआएका सहकारी संस्था खारेज गरिएको छ । आर्थिक वर्ष ०६८/६९ भित्र ७२ ओटा सहकारी संस्था कारबाहीको सूचीमा रहेकामा ३६ सहकारीलाई भने कार्यालयले पूर्णरूपमा खारेज गरेको छ । अन्य ३६ सहकारीलाई भने पत्राचारपछि सम्पर्कमा आएकाले सचेत गराएर पठाइएको कार्यालयले जानकारी दिएको छ ।
१२ ऋण तथा बचत सहकारी, १३ दुग्ध उत्पादक सहकारी, पाँच कृषि तथा बहुउद्देश्यीय सहकारी, तीन प्रकाशन सहकारी, एक स्वास्थ्य सहकारी, एक उपभोक्ता सहकारी र एक सीपमूलक सहकारी संस्था खारेज गरिएको डिभिजन प्रमुख हरि वाशिष्ठले बताए ।
खारेज गरिएका सहकारीमा कटुन्जेमा रहेको अजिमा महिला, भक्तपुर नगरपालिका–१४ मा रहेको नवयुग, बालकोटमा रहेको हिमचुली लगाएत १२ ऋण तथा बचत सहकारी रहेका छन् । त्यस्तै झौखेलमा रहेको कोल्पाकोट दुग्ध उत्पाद क सहकारी, ताथलीमा रहेको पशुपति दुग्ध उत्पादक सहकारी, चित्तपोलमा रहेको वनदेवी दुग्ध उत्पादक सहकारीलगाएत १३ दुग्ध उत्पादक सहकारी पनि खारेजीमा परेका छन् । कटुन्जेमा रहेको श्रीकृष्ण कृषि बहुउद्देश्य सहकारी, मध्यपुर थिमीमा रहेको सिन्धु यातायात बहुउद्देश्य सहकारी, गुन्डुमा रहेको सिर्जनशील बहुउद्देश्य सहकारी लगाएत ५ कृषि तथा बहुउद्देश्य सहकारी पनि खारेज भएका छन् ।
यसैगरी डिभिजन सहकारी भक्तपुरले खारेज गरेका अन्य सहकारीमा मध्यपुर थिमीमा रहेको अक्षर प्रकाशन, दधिकोटमा रहेको बालकुमारी प्रकाशन सहकारी र मध्यपुर थिमीमा रहेको विनायक प्रिन्टर्स प्रकाशन सहकारी रहेका छन् । सञ्जीवनी स्वास्थ्य सहकारी मध्यपुर थिमी, उपभोक्ता कल्याणकारी सहकारी मध्यपुर थिमी र दलित उत्थान सीपमूलक सहकारी संस्था झौखेल खारेजी भएका छन् । डिभिजन प्रमुख वाशिष्ठले गत आव ०६८/६९ भित्रमा भक्तपुर १२५ सहकारी संस्था सिद्घान्त ऐनविपरीत चलेका पाइएको बताए । केही नीतिगत समस्याका कारणले गर्दा ती सहकारीलाई कारबाही गर्न अप्ठेरोसमेत परेको उनले बताए ।
‘समय–समयमा अनुगमन गर्दा खराब स्थिति देखिएका सहकारीलाई सचेत गराइने, कारबाही गर्ने र अन्त्यमा खारेजसम्म गरिन्छ,’ उनले सौर्यसँग भने । डिभिजन सहकारी भक्तपुरमा हालसम्म ५ सय ६० सहकारी संस्था दर्ता भएका छन् । दर्ता भएका सहकारीमा चार सय ३८ बचत तथा ऋण, ३२ बहुउद्देश्यीय सहकारी, २२ दुग्ध उत्पादक सहकारी, २० कृषि सहकारी, ११ उपभोक्ता सहकारी छन् । १६ गाविस र दुई नगरपालिकामा रहेका पाँच सय २८ सहकारी संस्थामा ८५ हजार ६ सय ५७ महिला र ८२ हजार सात सय ४५ पुरुष सदस्य छन् ।

प्रतिक्रिया