विराटनगरमा सडक विस्तार सुरु

विराटनगर, ६ फागुन । विराटनगर उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रका साघुरो सडक पुन: फराकिलो बनाउने अभियान सुरु गरेको छ ।

विराटनगर–८ स्थित सातघुम्ती सडकका टहरा स्काइभेटर प्रयोग गरी भत्काउन सुरु गरेको हो । सातघुम्ती सडक फराकिलो बनेपछि मुख्य बजार क्षेत्रमा देखिँदै गएको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ । उपमहानगरपालिकाले तीन महिनाअघि सातघुम्ती सडक फराकिलो बनाउने निर्णय गरेको थियो । निर्णयपछि जग्गा घनीहरूसँग बसेर छलफल गरी सहमति जुटाएपछि भत्काउन सुरु गरिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताए । डोजरको साहायताले बाटो क्षेत्रमा रहेका घर भत्काएर फराकिलो बनाउने कार्य थालिएको नगरपालिकाले जनाएको छ । बाटो फरोकिलो बनाउने कार्यमा कसैले अवरोध नपुर्‍याओस भनेर नेपाल प्रहरी र नगरप्रहरीको संयुक्त टोलीसमेत परिचालन गरिएको छ । मुख्य बजारमा जोडिने नगरक्षेत्रका सडक साँघुरो भएर जाँदा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि सडकको विस्तार र स्तरोन्नति गरिनलागिएको हो । मुख्य बजार क्षेत्रमा प्रवेश गर्ने डिएसपी मार्ग गत वर्ष नै विस्तार गरिसकिएको छ । मापदण्डविपरीत वर्षांैअघि बनाइएका सहायक मार्गहरू साँघुरै भएकाले प्रयोगविहीन बनिरहेका छन् । यस्तै नगरक्षेत्रको जलजला मार्ग, देवकोटा मार्ग, अस्पताल मार्गका सडकको सुधार कार्यक्रमसमेत गरिने भएको छ ।
यसैबीच, विराटनगर उपमहानगरपालिकाले लामो समयदेखि प्रयोगमा नआएको तर बजारको मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याउनसकिने सातघुम्ती सडकको विस्तारका लागि प्रथम चरणको नापी र नक्सांकन गर्ने कार्य पूरा गरिसकेको छ । सडक फराकिलो पारेपछि यातायातका साधन दुईतर्फी आवत–जावत गर्नसक्ने छन् भने मुख्य बजार प्रवेश गर्न सजिलो हुने भएको छ । मुख्य बजारदेखि धरान रोड पूर्व–पश्चिम सातघुम्ती सडकको कुल लम्बाइ करिब ३ सय मिटर रहेको छ । उपमहानगरपालिकाले गरेको योजनाअनुसार सडकलाई नालासहित २० फिट अर्थात् ६ मिटर फराकिलो बनाइने छ । सडकको दुवैतर्फी नाला ४ फिटको रहनेछ । उपमहानगरपालिकाका अमिन धर्म घिमिरेले सातघुम्ती सडकको चौडाइ १४ देखि १६ फिटसम्मको रहेको जानकारी दिए । सडकभित्र सातवटा टहरा, दुईवटा पक्की घर र बाँकी कमपाउन्ड वाल पर्दछ । सडक विस्तारका क्रममा मुख्य बजारको मुखमा पर्ने दुईवटा भवन भत्काइने भएका छन् ।

प्रतिक्रिया