सामसुङका मोबाइल बिमायुक्त

samsungकाठमाडौं : नेपालस्थित सामसुङ कम्पनीले बिक्री गर्ने मँहगा मोबाइल फोन अब बिमा गरिएका हुनेछन् । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालिले ब्हिीबार भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसका अवसरमा ग्राहकका लागि उक्त सुरक्षायुक्त सुविधा घोषणा गरेको हो । प्रेमी–प्रेमिकाले एकअर्काको माया अझ गाढा बनाउने भ्यालेन्टाइन डेका अवसरमा कम्पनीले सामसुङको ग्राहक र उत्पादक कम्पनीबीचको सम्बन्ध गाढा बनाउने उद्देश्यले योजना ल्याएको कम्पनीले बताएको छ । पछिल्लो समय ग्राहकले देखाएको रुचिलाई सम्मान गर्दै कम्पनीले नेपालमै पहिलोपटक यो नौलो योजना ल्याएका दाबी गरेको छ । योजनाले बजारमा विभिन्न देशबाट चोरी गरेर ल्याएका सेट सस्तो दरमा किन्ने क्रम घट्ने विश्वास कम्पनीको छ ।
कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार अब बिक्री हुने ग्यालेक्सी एस थ्री र ग्यालक्सी नोट टुका सबै सेटमा बिमाको प्रिमियम नलिई इन्स्योरेन्स हुनेछन् । कम्पनीले मोबाइल सेट खरिद गरेको बढीमा एक हप्ताभित्र सबै विवरण उल्लेख भएको ‘इन्स्योरेन्स पोलिसी’ ग्राहकलाई दिने बताएको छ ।
उच्चस्तरीय प्रविधि भएका कारण केही मँहगो रहेका सामसुङका मोबाइल फोन किनेपछि ग्राहकलाई आफँैले बोकेको सेटका कारण मानसिक तनाव नहोस् भन्नका लागि कम्पनीले यो योजना ल्याएका बताएको छ । कम्पनीले यो योजना एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा लागू गरेका हो । ‘इन्स्योरेर्ड मोबाइल’ नाम दिएको यो अभियानमा आइएमएसले नयाँ तथा पुराना आइएमएस होलोग्राम अंकित ग्यालेक्सी एस थ्री र ग्यालेक्सी नोट टुमा यो सेवा दिएको छ । योजनाअन्तर्गत मोबाइल फोन खरिद गरेका ग्राहकले सेवा उपयोग गर्ने क्रममा मोबाइलको भौतिक क्षति भए क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । कम्पनीले बिक्री गरेका सबै सेटको सफ्टवेयर र हार्डवेयर एक वर्षसम्म वारेन्टी हुन्छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ग्राहकको सेट झरेर फुटे वा पानीमा डुबे या अकल्पनीय घटना घटेर मोबाइल सेटमा क्षति पुगे त्यसको क्षतिपूर्ति बिमा कम्पनीले दिनेछ । कम्पनीले यसअघि नै ग्यालेक्सी एस थ्रि र ग्यालक्सी नोट टु खरिद गरिसकेका ग्राहकलाई पनि सरल मूल्यमा इन्स्योरेन्स गर्नसक्ने व्यवस्था मिलाइदिएको छ ।

प्रतिक्रिया